September 14, 2026

अतिथिले किने झापा कारागारका महिला कैदीबन्दीले बनाएको व्याग

0

       भद्रपुर । जिल्ला कारागार झापाका महिला कैदी बन्दीलाई एवीसी नेपालले स्वरोजगार बनाउने उद्देश्यले तीन…

भद्रपुर ।

जिल्ला कारागार झापाका महिला कैदी बन्दीलाई एवीसी नेपालले स्वरोजगार बनाउने उद्देश्यले तीन महिने आधारभूत व्याग सिलाउने तालिम प्रदान गरेको छ ।

‘सीप सिकौं आत्मनिर्भर बनौं’ भन्ने भनाईसहित सुरु गरेको तालिम विहीबार एक कार्यक्रमबीच समापन भएको छ । तालिम १५ महिला कैदीबन्दीले लिएका थिए । उनीहरुलाई लक्ष्मी व्याग उद्योग चन्द्रगढीका मेनेजर विष्णुलाल राजवंशीले तालिम प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कैदी बन्दी महिलाले उत्पादन गरेका व्याग सबैलाई खरिद गरेर सहयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै उनले जिल्लामा रहेका सबै सरकारी तथा गैर सरकारी संघसंस्थाका कार्यालय प्रमुख र कर्मचारीलाई समेत उनीहरुले बनाएको व्याग खरिद गरेर प्रोत्साहनसहित सहयोग गर्न अनुरोध गरेका हुन् ।

कार्यक्रमका विशेष अतिथि विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले महिलाहरुलाई व्याग बनाउने मेसिन थप सहयोग गर्ने बचन दिएका छन् । उनले कारागारमा रहेका सबै महिलाहरुलाई सो तालिम आवश्यक रहेको औंल्याउँदै संस्थाको तर्फबाट दुई थान मेसिन सहयोग गर्ने बताएका छन् ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीले कारागारमा सिकेको सीपलाई जीवनभर आत्मनिर्भर बन्ने माध्यम बनाउन उनीहरुलाई आग्रह गरिन् ।
समुन्नत नेपालकी कार्यक्रम संयोजक कोपिला बस्नेतले हातमा सीप भएका महिलाले भोकै बस्नु नपर्ने बताउँदै उनीहरुलाई स्वरोजगार बन्न उत्प्रेरणा प्रदान गरिन् । उनले कारागारमा उत्पादन गरेका व्यागहरु बलियो र आकर्षक भएको बताउँदै बजारीकरणमा समस्या नहुन बताइन् ।

प्रक्षिणार्थीका तर्फबाट लीला भट्टराईले एवीसी नेपाललाई धन्यवाद प्रदान गर्दै अन्य संघसंस्थालाई पनि कारागारमा बन्दी जीवन विताइरहेका महिलाहरुलाई सहयोग गर्न आग्रह गरिन् । उनले कारागारमा व्याग बनाउने कच्चा पदार्थको अभाव रहेको हुँदा त्यसको थप व्यवस्था मिलाई दिन संस्थालाई अनुरोध गरेकी थिइन् ।

उनीहरुले कारागारभित्र बनाएका व्यागहरु खरिद गरेर प्रशिक्षक राजवंशीले बजारमा विक्री वितरण गरिरहेको बताए । उनले उनीहरुलाई व्याग बनाउनका लागि चाहिने कच्चा पदार्थ सर्वसुलभ मूल्यमा उपलब्ध गराएको एविसी नेपालकी उपाध्यक्ष रेखा अधिकारीले बताए ।

संस्थाले मानव बेचविखन न्यूनीकरण तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पर्याएको बताउँदै अध्यक्ष कञ्चना सिटौलाले कारागारभित्र बन्दी जीवन विताइरहेका महिलाहरुलाई उद्यमशील बनाउने र भोलिका दिनमा जीवन जीउन सजिलो हुने अभिप्रायले महिलाहरुलाई लक्षित गरेर पुस १५ गतेदेखि तालिम सञ्चालन गरिएको बताइन् ।

कार्यक्रमै प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर चन्द्रगढीका प्रहरी उपरीक्षक रेसमकुमार थक्सु, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठ, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, राष्ट्रिय अनुसन्धान विभाग झापाका एनआइडी उपनिर्देशक सुशान्त बराललगायत एवीसी नेपालका पदाधिकारीले समेत व्याग खरिद गरेर सहयोग गरेका थिए ।

कारागार कार्यालय भद्रपुरको संयोजन, एवीसी नेपाल, भद्रपुर नगरपालिका र विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रम कारागारका प्रमुख राजेन्द्र निरौलाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन कैदी युवराज गिरीले गरेका थिए । हाल कारागारमा १५० बढी महिला कैदीबन्दी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *