June 19, 2026

सडकमै फोहोर डम्पिङ

0

       बिर्तामोड।  पूर्वका चार जिल्लामा सर्वाधिक जनघनत्व भएको झापाको बिर्तामोडले वर्षेनि फोहोर व्यवस्थापनका लागि लाखौं…

बिर्तामोड। 

पूर्वका चार जिल्लामा सर्वाधिक जनघनत्व भएको झापाको बिर्तामोडले वर्षेनि फोहोर व्यवस्थापनका लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको छ । तर, नगरबाट उठाइएको फोहोर डम्पिङ गर्ने सुरक्षित स्थल नहुँदा नगरपालिकाले पूर्वपश्चिम महेन्द्र राजमार्गमा फाल्दै आएको छ ।

बिर्तामोड नगरपालिकाले शहरमा संकलन भएजति सबै फोहोर सडक किनारामै थन्क्याइरहेको छ । बिर्तामोडमा दैनिक १५ मेट्रिकटन फोहोर उत्पादन हुने नगरपालिकाले जनाएको छ । तर, दिनहुँ यति ठूलो परिमाणमा उत्पादन हुने फोहोरको सुरक्षित व्यवस्थापन बारे भने नगरले चासो देखाएको छैन ।

यतिबेला बिर्तामोड नगरले राजमार्गको फुटपाथमा फोहोर फ्याँक्दै आएको छ । मुक्तिचोकबाट पूर्वपश्चिम जता लागे पनि सडकको किनारमा अहिले नगरको फोहोर थन्क्याइएको छ । कनकाई, मनमोहन र बीएण्डसी अस्पताल नजिकै रहेको सडकमा आवतजावत पनि अधिक हुन्छ । नगरले त्यही ठाउँमा फोहोर थुपारिरहेको छ । नगरले यसलाई ‘गहिरो जमिन पुर्ने’ भन्दै फोहोर थन्क्याइरहेको छ । तर, सडकमै जथाभावी फोहोर फ्याँक्दा उत्पन्न हुने दुर्गन्ध र त्यसको असरबाट पीडित हुने सर्वसाधारणको मर्काबारे नगरले केही नसोचेको स्थानीयबासी बताउँछन् ।

‘झापाकै अरू शहरमा विभिन्न संघ–संस्थाले राजमार्ग किनार सफाई गरेको समाचार सुनिएको छ’– बिर्तामोडकै एक स्थानीय भन्छन्– ‘नगरपालिकाले चाहिँ आफैं सडक किनारमा फोहोर थुपारिरहेको छ ।’

नगरपालिकाका प्रशासन फाँटका कर्मचारी मेघराज बास्तोलाले बिर्तामोड, अर्जुनधारा र कनकाई नगर मिलेर संयुक्त रूपमा ल्याण्डफिल्ड साइड बनाउने योजना बनाइरहेको बताएका छन् । यद्यपि, झापाका प्रत्येक नगरहरूले वर्षौंदेखि ‘जमिन खोजिरहेको’ तयारी जवाफ दिने गरेका छन् ।

अहिले बिर्तामोडको फोहोर पूर्वपश्चिम राजमार्गको सडक किनारमा पुरिएको छ । एसियन हाइवे निर्माणका क्रममा यसले असर गर्छ– एक स्थानीयवासी भन्छन् – फोहोरका कारणपछि एशियन हाइवे निर्माणमा समस्या आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *