कनकाईका मेयरले आफू चढ्ने गाडी प्रहरीलाई दिए
सुरुङ्गा ।

कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले अर्को उदाहरणीय कार्य गरेका छन् ।
उनले आफू चढ्ने गरेको गाडी समेत प्रहरीलाई प्रदान गरेका छन् । देशका अन्य पालिकाहरुमा नगरप्रमुख, उपप्रमुख र वार्ड अध्यक्षहरुले महँगो मुल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला कनकाई नगरका मेयर पोखरेलले भने आफुले चढ्ने गाडी नै प्रहरीलाई दिएका छन् ।
विशेष कार्यक्रमका वीच मेयर पोखरेलले आफु चढ्ने बुलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक उदय शम्सेर जबरालाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख पोखररेलले आफुले चढ्नुभन्दा प्रहरीलाई दिदा जनताको जिउ धनको सुरक्षा बढी हुने भएकोले आफुले चढ्ने गाडी प्रहरीलाई दिएको बताए ।
यस अघि मेयर पोखरेलले नगरको गाडी किन्न छुट्टाएको ५० लाख रुपैँया रकम समेत प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए भने धेरैजसो समय उनी साइकलमा यात्रा गर्ने गरेका छन् । प्रहरीले गाडी पाएपछि जनताको सुरक्षाका लागि आफुहरुलाई सहज भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख जबराले बताए ।
कनकाई नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधि आएपछि हालसम्म पनि कुनै गाडी खरिद गरेको छैन । गाडी हस्तानतण कार्यक्रममा कनकाई नगरपालिका उपप्रमुख मन्जु प्रसाई, प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद नेउपाने, वडाध्यक्ष परशुराम गिरी लगायतको उपस्थिति रहेको थियो ।
