September 13, 2026

अर्जुनधारा जलेश्वर धामको “भूमिदान महाअभियान” शुुरु

0

अमित खम्बू,
अर्जुनधारा ।

नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा सूचिकृत पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धामको गुरुयोजना शनिबार एक कार्यक्रमकोबीच सार्वजनिक गरिएको छ ।

गत आर्थिक वर्ष ०७६/०७७ देखि नै कार्य शुरु भई आगामी आर्थिक वर्ष ०८०÷०८१सम्म सम्पन्न हुनुपर्ने उक्त गुरुयोजनामा विभिन्न ४८ वटा कार्यक्रम प्रस्ताव गरिएको धाम व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार गट्टानीले जानकारी दिए । सो प्रस्तावित कार्यक्रमहरु सम्पन्न गर्न अनुमानित ७१ करोड सात लाख २७ हजार रुपैयाँ खर्च हुने गुरुयोजनामा उल्लेख गरिएको छ ।

प्रस्तावित कार्यक्रमहरुमा १०८ वटा शिवलिङ्ग, पार्वती मन्दिर, पानीको फोहोरासहितको खडे बाबाको शालिक, पानीको फोहोरासहितको अर्जुनको पूर्ण कदको शालिक, संगीतमय पानीको फोहोरा, उद्यान, पुराण हल, धर्मशाला, अतिथि सदन, आयुर्वेदिक केन्द्र, स्वास्थ्य चौकी तथा प्रहरी सेवा केन्द्र, आकर्षक सूर्य कुण्ड, आकर्षक चन्द्र कुण्ड, संग्राहलयलगायत रहेका छन् ।

धाम परिसरमा हाल जलेश्वर शिवालयको मूल मन्दिर, वाणगंगा पोखरी, पञ्चधारा, लक्ष्मीनारायण मन्दिर, नटराज गणपति मन्दिर, हनुमान मन्दिर, काली नाग मन्दिर, शनि मन्दिर, मोक्षेश्वर शिवलिङ्ग, सूर्य कुण्ड, यज्ञशाला, धान्याञ्चल, गुरुकुल, सन्त निवास, शिव कुटी, श्रवण हल, खडे बाबा पार्क, किरिया पुत्री भवन, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयलगायत रहेका छन् ।

यसैबीच धाम व्यवस्थापन समितिले उक्त गुरुयोजनामा प्रस्तावित कार्यक्रमहरु सम्पन्न गर्नको लागि आवश्यक धाम परिसरमा रहेको १० कठ्ठा जमिन खरिद गर्न तीन पाउ भूमि दिँदा बली राजा अमर भए, ठूलो पूण्य गर्नुभयो पितृहरु स्वर्ग भए भन्ने मुख्य नारासहित “भूमिदान महाअभियान” भन्ने अभियान सुरु गरेको छ । समितिका अध्यक्ष गट्टानीको अध्यक्षतामा आयोजित उक्त अभियानको प्रमुख अतिथि शिक्षासेवी जयनारायण र पत्नी अञ्जना ढुंगानाले १५ सय वर्ग फिट जमिन बराबरको पाँच लाख २५ हजार रुपैयाँ रकम सहयोग गर्दै उद्घाटन गरेका थिए ।

हाल चार विगाहा १० कठ्ठा क्षेत्रफल रहेको धामको लागि थप १० कठ्ठा जमिन जुटाउन सकेको खण्डमा गुरुयोजनामा प्रस्तावित कार्यक्रमहरु सहजरुपमा सम्पन्न गर्न सकिने हुँदा उक्त अभियान सुरु गरिएको समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । अभियान अन्र्तगत १ वर्ग फिटको तीन सय ५० रुपैयाँ, ३ वर्ग फिटको एक हजार ५० रुपैयाँ, ६ वर्ग फिटको २१ सय रुपैयाँ, ९ वर्ग फिटको तीन हजार एक सय ५० रुपैयाँ, १५ वर्ग फिटको पाँच हजार दुई सय ५० रुपैयाँ, २१ वर्ग फिटको सात हजार तीन सय ५० रुपैयाँ, ३१ वर्ग फिटको १० हजार आठ सय ५० रुपैयाँ, ५१ वर्ग फिटको १७ हजार आठ सय ५० रुपैयाँ, १०१ वर्ग फिटको ३५ हजार तीन सय ५० रुपैयाँ, १५१ वर्ग फिटको ५२ हजार आठ सय ५० रुपैयाँ, ५०१ वर्ग फिटको एक लाख ७५ हजार तीन सय ५० रुपैयाँ, १००१ वर्ग फिटको तीन लाख ५० हजार तीन सय ५० रुपैयाँ र १५०० वर्ग फिटको पाँच लाख २५ हजार रुपैयाँ तोकिएको समितिका सदस्य शेखर प्रधानले जानकारी दिए ।

कोषाध्यक्ष जोशीका अनुसार अभियान सुरु भएको पहिलो दिन ८१ परिवारबाट ४३१६ वर्ग फिट बराबर १५ लाख १० हजार छ सय रुपैयाँसंकलन भएको बताइएको छ । धामका मूल अर्चक एवम् अभियानका संयोजक अग्निप्रसाद सिग्देलले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, सन्तनु ढकाललगायतले अभियान प्रशंसनीय भएको प्रतिक्रिया व्यक्त गरेका थिए । समितिकी उपाध्यक्ष चन्द्रकला भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सदस्य भानुप्रसाद शिवाकोटीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *