September 15, 2026

कोरोनाले एकै घरका दाजुभाइको मृत्यु

0

विनोद सापकोटा,झापा ।

कोरोना संक्रमणका कारण झापाको शिबसताक्षीमा एकै परिवारका दुई दाजुभाईको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–२ का चूडामणि भट्टराईका दुई छोरा दताराम र योगेश्वरको मृत्यु भएको हो ।

भट्टराई परिवारका जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छाेरा ३० वर्षीय योगेश्वरको कोरोना संक्रमणका कारण चार महिनाको अन्तरमा मृत्यु भएको हो । दयारामको शुक्रबार बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । योगेश्वरको भने ४ महिना अगाडि कतारमा मृत्यु भएको परिवारले जनाएको छ ।

कार्तिक १२ कोरोना पोजेटिभ देखिएका दयाराममा निमोनिया देखिएको र सोही कारण मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा कुनै दीर्घरोगको समस्या नरहेको भाइ रबिनले बताए। वडा अध्यक्ष कुलबहादुर बस्नेत ले पनि स्वस्थ युवकको कोरोनाका कारण मृत्यु भएको सुन्दा अपत्यारिलो लागेको बताए । उनले भने, ‘अब सुरक्षित हामी पनि छैनौ ।’

झापाकाे दमकमा व्यवसाय गर्दै आएका दयारामको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको थियो । सोही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।

दयाराम कान्छा भाइ योगेश्वरको गत असार १५ गते वैदेशिक रोजगारीका क्रममा कतारमा मृत्यु भएको थियो । दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार पुगेका उनको कोरोना संक्रमणका कारण मृत्यु भएपछि कतारमै अन्त्यष्टि भएको थियो ।
बाबु चुडामणिको २०७६ असार २७ गते मृत्यु भएको थियो । दुई छाेराकाे मृत्युपछि उनकाे वार्षिक तिथिको काम पनि रोकिएको छ ।

कान्छा छाेराकाे मृत्यपछि यस अघिकाे वार्षिक तिथीलाई शनिबारका लागि सारिएकाेमा शुक्रबार नै उपचारका क्रममा दयारामको मृत्यु भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *