हराएको मोबाइल भेटिन्छ नै भन्ने कुनै ग्यारेन्टी छैन–डीएसपी रिजाल
४४८ हराए, १२९ भेटिए
नरेन्द्र ढकाल /बिर्तामोड ।

सरकारले केही वर्ष अघि हात–हातमा मोवाइल र घर–घरमा इन्टरनेट सेवा पु¥याउने लक्ष्य राखेर प्रविधिमा विकास गर्दै विभिन्न योजना अघि सारेको थियो ।
सोही अनुसार हरेक सरकारी कार्यालयलाई अनलाइन माध्यममा लैजाने र नेपाल टेलिकमको सेवामा समेत विस्तार भइरहेको छ । तर, यही समय धेरै मानिसहरुका मोबाइलहरु चोरी हुने घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।
बसमा यात्रा गर्दा र राखिएकै ठाउँबाट समेत मोबाइल चोरी हुने समस्या बढ्दै गएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसरी हराएको मोबाइलको आइएमइआइ नम्बरबाट मोबाइल भेटिन्छ भन्ने कुरामा ढुक्क नहुन समेत प्रहरीले अनुरोध गरेको छ ।
हराएको मोबाइलको आइएमइआइ नम्बरबाट सजिलै भेटिने भएतापनि मोबाइलमा कुनै पनि सिम नराखी चोरी गर्ने वा भेट्ने व्यक्तिले चलाएमा हराएको वा चोरिएको मोबाइल भेटिने सम्भावना न्यून हुने हुँदा आफ्नो मोबाइलको सुरक्षामा स्वयम्ले ध्यान दिन इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले आग्रह गरेका छन् ।
मोबाइल चोरी हुने घटना भने नयाँ होइन तर जति मोबाइलको प्रयोग बढ्दै गयो उति मोबाइल चोरी हुुने घटना समेत बढ्दै गएको डीएसपी रिजालले बताए । मोबाइल हराएका, चोरी भएको, लुटपाट र पाकेटमारका उजुरी दैनिक आउने गरेको भन्दै डीएसपी रिजालले भने– ‘मोबाइल धेरै हराउँछन् खोजतलास गर्दा थोरै मात्र भेटिन्छन् । उनले भने ‘हराएको वा चोरी भएको मोबाइल भेटिन्छ नै भन्ने कुनै ग्यारेन्टी छैन ।’ दैनिक तीन–चार वटा मोबाइल हराएका उजुरीहरु आउने गरेको डीएसपी रिजालले बताए ।
चोरिएका मोबाइलका पार्टपुर्जा मात्रै पनि छुट्टै निकालेर बेचिने हुँदा चोरिएको वा हराएको मोबाइल नभेटिने सम्भावना बढी रहेको उनले बताए । हराएको भन्दा भेटिएको मोबाइल संख्या कम रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा गत आर्थिक वर्ष २०७६÷०७७ मा चार सय ४८ वटा मोबाइल हराएको निवेदन दर्ता भएकोमा एक सय २९ वटा फेला परेको प्रहरीले जनाएको छ ।
हराएको मोबाइल सम्बन्धी उजुरी दर्ता गरेपछि आइएमइआइ लोकेसन टे«स गर्न अदालतको अनुमतिका लागि आइएमइआइएल पत्राचार गरिने र अनुमति प्राप्त भएपछि सेवा प्रदायक कम्पनीमा पत्राचार गरी टे«स शुचारु गरिने र मोबाइल चोरी, लुटपाट तथा हराएको सम्बन्धी खोजतलास गरिने डीएसपी रिजालले जानकारी दिए ।
मोबाइल हराएको वा चोरिएको उजुरी दर्ता गरिसकेपछि सम्बन्धित मोबाइलको सेवाप्रदायक कम्पनीबाट आइएमइआइएल टे«स प्राप्त भएपछि सोही ट्रेसको आधारमा प्रहरीले मोबाइल युजर पत्ता लगाउने र सो मोबाइल झिकाउने र सम्बन्धित व्यक्तिलाई दिने गर्दै आएको छ । दैनिकजसो मोबाइल हराएर वा चोरिएर उजुरीका लागि मानिसहरु इलाका प्रहरी कार्यालय अनारमनीमा आउने गरेका छन् । मोबाइलहरु बसमा यात्रा गर्दागर्दै, खल्तीबाटै हराउने, राखिएको ठाउँबाट चोरिने समस्याहरु रहेको पीडितहरुले बताएका छन् ।
जनशक्तिको अभावका बीच शान्ति सुरक्षा कायम गर्न तल्लिन प्रहरी हराएका मोेबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानीमा परेका छन् । हराएका मोबाइल खोजिदिन भन्दै दबाब दिनेको संख्या दैनिक बढ्न थालेपछि प्रहरी हैरानीमा परेका हुन् । हराएकामध्ये थोरै मोबाइल मात्रै भेट्टाएर सम्बन्धित धनीको जिम्मा लगाइएको डीएसपी रिजालले बताए ।
बिर्तामोड पूर्वको व्यस्त शहरको रुपमा रहेको र यहाँ मानिसको चहलपहल समेत बढी हुने गरेकाले चोरीका घटना समेत धेरै हुने गरेको प्रहरीले जनाएको छ । घरमा झ्याल खुल्ला राखेर सिरानी छेउमा मोबाइल राख्ने, टेबलमा मोबाइल राखेर झ्याल खुल्ला राख्ने गरेका कारण पनि रातको समयमा चोरी गर्ने गिरोहले चोर्ने गरेको उजुरीहरु समेत आउने गरेको प्रहरीले जनाएको छ । झापा भारतसँग सीमा जोडिएको जिल्ला भएकाले चोरी गरेका मोबाइलहरु भारतीय बजारमा लगेर बेच्ने गरेका कारण समेत नेपालमा भेटिने सम्भावना कम भएको डीएसपी रिजालले बताए ।
यता सर्वसाधारणले भने मोबाइल चोरीको उजुरी दर्ता गरे पनि प्रहरीले खोजी गर्न चासो नदिएको आरोप लगाएका छन् । सर्वसाधारणको गुनासो आएपनि आफूहरुले हराएका तथा चोरीका मोबाइलको सम्बन्धमा चासो दिइरहेको डीएसपी रिजालले बताए । उनले इलाका प्रहरी कार्यालय अनारमनीले सफ्टवेयर जडान गरिसकेकाले अब खोजतलासलाई अझ प्रभावकारी ढङ्गबाट अघि बढाउने बताए ।
