महिलाभन्दा पुरुष संक्रमित बढी
लक्ष्मी उप्रेती / मेचीनगर ।

झापामा कोरोना भाइरसको संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । संक्रमितको संख्या भने ५ सय ७६ जना छ । संक्रमितमध्ये ७० प्रतिशतभन्दा बढी २५ देखि ४० वर्षमाथिका रहेको झापा जिल्ला विपद् व्यवस्थापन सहायता कक्षका सचिव जीवन चौलागाईँले बताए ।
‘कूल संक्रमितको तथ्याङ्क हेर्ने हो भने २५ देखि ४० वर्षमाथिका बढी छन्–स्वास्थ्य कार्यालय झापाका महामारी रोग साथै कोरोना भाइसका फोकल पर्सन समेत रहेका चौलागाईँले भने– ‘त्यसमा पनि पुरुषको संख्या बढी छ । यो उमेर समूहका मानिस प्रायः घरमा नबस्ने हिँड्डुल गर्न रुचाउने अनि अन्य मानिसहरुसँग पनि भेटघाट गर्ने भएकाले यो उमेर समूह बढी संक्रमित भएको हुनसक्छ ।’ अधिकांश महिलाहरु घरभित्र काममा व्यस्त हुने तथा पुरुषहरु कामका लागि बढी बाहिरै रहनुपर्ने, बढी हिँड्डुल गर्ने भएकाले पनि यो अवस्था आएको हुन सक्ने स्वास्थ्यर्मीहरुको भनाइ छ ।
हालसम्म झापामा महिलाको तुलनामा पुरुष संक्रमितको संख्या बढी छ । शंकास्पद ४ हजार ४ सय २५ जनाको महिलाको पीसीआर परीक्षणका लागि थ्रोड स्वावको नमूना संकलन गरी १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको र मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रयोगशालामा पठाइएको थियो । तीमध्ये झापामा महिला संक्रमितको संख्या ९६ मात्र रहेको छ । त्यसमा पनि ५२ जना निको भएर घर फर्किसकेका छन् ।
१५ हजार ५ सय ७७ पुरुषको पीसीआर परीक्षणका गर्दा ४ सय ८० जनामा संक्रमण पुष्टि भएको चौलागाईँको भनाइ छ । कूल पुरुष संक्रमितमध्ये ३ सय ७७ जना निको भइसकेको उनको भनाइ छ । समग्रमा महिला र पुरुष गरी कूल ४ सय २९ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । हाल जिल्लााका १ सय ४७ जना कोरोनाका संक्रमित १ नम्बर प्रदेशका विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
तुलनात्मक रुपमा हेर्दा महिलाभन्दा पुरुषहरुकै बढी पीसीआर परीक्षण गरिएको छ । यसले पनि पुरुष संक्रमितको संख्या बढी देखिएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । यता जिल्लामा संक्रमणका कारण मृत्यु हुने दमक नगरपालिकाका ६२ वर्षीय र कमल गाउँपालिकाका ७८ वर्षीय पुरुष रहेको चौलागाँईले बताए ।
संक्रमितलाई हेर्ने दृष्टिकोणमा फरक
केहीदिनअघि झापाको मेचीनगर–१०स्थित आम्दा मेची अस्पतालमा कार्यरत २९ वर्षीय पुरुष चिकित्सकमा कोभिड १९को संक्रमण फेला पर्यो । त्यस लगत्तै सोही अस्पतालमा कार्यरत् एक नर्सलाई घरधनीले तत्काल घरबाट निस्कन भने । बुद्घशान्ति स्थायी घर भएकी ती नर्स आफ्नो सानो भाइसहित अस्पताल आसपासमै डेरा लिएर बसेकी थिइन् ।
आफू अस्पतालमा काम गरिरहेको समय चिकित्सकमा कोभिड १९को संक्रमण फेला परेको हल्ला फैलिए लगत्तै डेरामा रहेका सानो भाइलाई घरवेटीले उनको झोलासहित घरबाट निकालेर अस्पतालको अगाडि ल्याएर छाडेको उनले बताइन् ।
समुदायमा कोभिड १९को संक्रमण देखापरेपछि नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदल अनुगमनका लागि अस्पताल पुगे लगत्तै ती नर्सले आफ्नो दुखेसो नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, सामाजिक विकास समिति संयोजक नवीन वराल, नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत, अनन्तप्रकाश वस्ती, खाद्य अधिकृत दीपेन्द्र कार्की, कार्यपालिका सदस्य कृष्ण कनाल, वडाध्यक्ष सुदय पनेरु नगरसदस्यसहित अन्य जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक कैलाश चौधरीसहितलाई सुनाइन् । कार्यदलले भाइलाईसहित दिदीसँगै बस्ने व्यवस्था मिलाइदियो । झापा मेचीनगर–६का एक व्यवसायीको पीसीआर परीक्षणका लागि थ्रोड स्वावको नमूना संकलन गरेपछि गाउँले सवै डराए मात्र होइन उनको घरमै आउन छाडे ।
अहिले कुनै व्यक्तिमा संक्रमण फेला पर्यो भने उसको पहिचान भइसकेपछि संक्रमित व्यक्ति र उसका परिवारका सदस्यसँग समुदायले गर्ने व्यवहार बदलिने एकजना संक्रमितको गुनोसो छ । उनले भने– ‘जब मेरो पीसीआर परीक्षण पोजेटिभ आयो र मलाई एम्बुलेन्स आएर आइसोलेसनमा लिएर गयो त्यसपछि त यो समाजको मलाई र मेरो परिवारको सदस्यहरुलाई हेर्ने दृष्टिकोणनै फरक भएछ ।’
एक संक्रमित महिलाले भनिन्– ‘अहिले आफ्नो टोल गाउँमा कसैलाई कोरोना पोजेटिभ देख्नेबित्तिकै डराउनु त सामान्य नै हो तर, जब संक्रमण पुष्टि भयो म आफ्नै घरमा भित्र सुरक्षित बसँे, फेरि आइसोलेसनमा गएपछि त मलाई मात्र होइन मेरो सिङ्गो परिवारमै विभेद हुन थाल्यो ।’ अहिले समाजमा कोभिड १९का संक्रमितहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको र त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । शुरुमा त संक्रमितहरुको घर–घरमा झण्डा गाड्ने, व्यानर लगाइदिने तथा कुनै संक्रमितको घर हो भन्ने पहिचान हुने खालका संकेत समेत राख्ने गरिएको थियो ।
तर, बेलैमा यसलाई हटाइएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । यसले संक्रमितहरुमा मानसिक असर पर्ने र समाजमा समेत गलत सन्देश जाने मानवअधिकारकर्मीहरुको भनाइ छ । स्वास्थ्य मन्त्रालय प्रवक्ता डाक्टर जागेश्वर गौतम सामाजिक विभेद सोच एवम् व्यवहारहरु कसैले गर्न नहुने बताउँछन् । संक्रमित र उनको परिवारसहित अग्रपंक्तिमा रहेकाहरुको मनोवल खस्कियो भने कोरोनाविरुद्घको लडाईँ हामी कसैले पनि जित्न नसक्ने उनको भनाइ छ ।
