अग्र्यानिक खाद्य उपभोगको बानी बसालौं

नेपालको कृषि क्षेत्रको बारेमा अध्ययन र अनुसन्धान गर्ने जो कोही पनि जैविक कृषि उत्पादनको सम्भावनाबाट आकर्षित हुने गर्दछन् । अग्र्यानिक कृषि उपजको उत्पादन तथा बजारीकरण सहज र उपभोक्ताको माग अनुसार गर्न पक्कै पनि हामीले अझै लामो यात्रा गर्नुपर्ने स्थिति छ । यथार्थमा जैविक खेती प्रणाली भनेको उत्पादन योग्य जमिनमा विभिन्न जैविक जीवहरु बीचको अन्तर सम्बन्धमा आधारित विषय हो । यस अवधारणाले माटो, बोटबिरुवा, जनावर, किरा, किटपतङ्ग, चराचुरुङ्गी र मानवबीचको घनिष्ट अन्तरक्रियाको समर्थन गर्दछ । त्यति मात्र होइन यो अवधाराणाले पारिस्थितिक प्रणाली र दिगो विकास कायम गर्न मद्दत गर्दछ साथै सुरक्षित, पौष्टिक र गुणस्तरीय खाद्य उत्पादनलाई बढावा दिन्छ ।
अग्र्यानिक कृषि प्रणालीले हाम्रो पिता पुर्खाले सदियौँदेखि अँगाल्दै आएको परम्परागत कुषि प्रणालीलाई संयोजन गरी जीवहरु बीचको प्राकृतिक सम्बन्धलाई बलियो बनाउन तथा स्वच्छ र स्वस्थ वातावरणको निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ । त्यस्तै माटो र वातावरणमा रहेका मित्रु जीवलाई बचाई शत्रु जीव र माटोमा रहेका अम्लीय रसायनको अन्त्य गर्न सघाउ पु¥याउँछ ।
मानव जीवन र पारिस्थितिक प्रणाली स्वस्थ र सफा राख्न महत्वपूर्ण भूमिका खेल्ने जैविक खेतीको बारेमा आम कृषक र उपभोक्तामा भने जानकारी र जागरुकताको निकै ठूलो खडेरी छ । कृषिमा आधारित मुलुक भएता पनि अग्र्यानिक उत्पादन र उपभोगमा अनेकौँ बाधा र अवरोध कायम छन् । अझ महत्वपूर्ण कुरा त अग्र्यानिक भोजनको उपभोगप्रति धेरै उपभोक्ताहरु विश्वस्त छैनन् । आदर्शको रुपमा लिने र व्यवहारमा यसको उपभोग नै छैन । यस बाहेक अग्र्यानिक कृषि उपजको प्रोत्साहनका निमित्त राज्यको ठोस योजना, नीति र कार्यक्रम नै स्पष्ट छैन । त्यस्तै यसका लागि आवश्यक जैविक मल तथा जैविक किटनाशक औषधि जस्ता कुराको अभाव निकै छ ।
नेपाल जस्तो विकासशील राष्ट्रका उपभोक्तामा अग्र्यानिक खाद्यवस्तुको उपभोग गर्ने आर्थिक हैसियत पनि कम नै छ तथापी विगत केही वर्षदेखि बढेको रेमिट्यान्सको प्रवाहले मानिसहरुको क्रयशक्ति र जीवनशैलीमा सकारात्मक परिवर्तन आएको छ । तर, मानिसहरु आफ्नो स्वास्थ्यको ख्याल गर्नु भन्दा ज्यादातर आम्दानी स्मार्ट फोन, ल्यापटप, अटो मोबाइल, जमिन, महँगा गरगहना, पक्की घर र जंकफुड खरिद गर्नमा खर्च गरिरहेको अवस्था छ । अग्र्यानिक खानाको उपभोग बढाउनतिर कसैको ध्यान जान सकेको छैन ।
नेपालीहरुको जीवनशैली अझै पनि देखावटी गर्ने, बार्गेनिङ गर्ने मै व्यतित छ । हामीलाई थाहा छ नेपालभित्र सबैलाई पुग्ने गरी अग्र्यानिक खाद्यवस्तुको उत्पादन छैन, विदेशबाट आयातित अग्र्यानिक खाना महँगो पर्न जान्छ, जसले गर्दा आम उपभोक्ता बजारमा उपलब्ध सामान्य खाद्यवस्तुको मूल्यमा आन्तरिक तथा आयातित अग्र्यानिक खाद्यवस्तुको खरिद गर्न खोज्छन् । जुन असम्भव प्रायः छ । हामी नेपाली उपभोक्ता अझै पनि छिमेकी मुलुक भारतबाट गुणस्तर प्रमाणित नगरी आयात भएका सस्ता र गुणस्तरहीन उत्पादनको उपभोग गर्ने बानीबाट मुक्त हुन सकेका छैनौँ । त्यो भन्दा ठूलो समस्या त हामी खानाको स्वस्थता र गुणस्तरभन्दा स्वादमा बढी आकर्षित हुन्छौँ ।
जसको फलस्वरुम जंकफुड र बजारका तयारी प्याकेटका खानामा अभ्यस्त भएर स्वस्थ दीर्घजीवन बाँच्नबाट विमुख बनिरहेका छौँ । साथै कम उमेर मै उच्च र न्यून रक्तचाप, मधुमेह, मुटुको रोग, क्यान्सर जस्ता रोगहरुबाट प्रताडित हुनुपर्ने बाध्यता छ । बेलैदेखि अग्र्यानिक भोजनको बानी बसाल्नु हो भने पछि आइलाग्ने अनेकौँ दीर्घरोगको औषधि उपचारमा लाग्ने खर्चबाट पनि बच्न सकिन्छ भन्ने शिक्षा र चेतनाको अभाव हामीमा प्रष्ट छ ।
त्यसैले अग्र्यानिक खाद्य उत्पादनको उपभोगबाट हुने अलौकिक फाइदाहरुबारे सचेतना फैलाउन जरुरी भएको छ । राज्यले यस प्रकारका उत्पादन र उपभोगलाई प्रोत्साहन गर्न किसानहरुलाई आवश्यक सीप, मार्गदर्शन र अग्र्यानिक कृषि औजार तथा मलखादको व्यवस्था गरी प्रोत्साहित गर्न अत्यन्त्यै आवश्यक छ । यसको उपभोगलाई बढाउन उपभोक्तामा जागरुकता ल्याउन ठोस योजना, नीति र कार्यक्रम ल्याउन जरुरी छ ।
अग्र्यानिक कृषि उपजको उत्पादन र बजारीकरणका लागि राज्यले अग्रज किसानहरुलाई अनुदानको व्यवस्था गर्नुपर्दछ । यसको निर्यात गर्न जैविक प्रमाणीकरणको सहज पहँुच पु¥याउनु पर्दछ । साना तथा पहँुचविहीन किसानले अग्र्यानिक कृषि उपजको उत्पादन र बजारीकरण गर्न आवश्यक पहलकदमी गर्न नसक्ने भएकाले यसको सम्पूर्ण दायित्व सरकारले लिएर उचित सम्बोधन गर्नु अहिलेको टड्कारो आवश्यकता हो । अझ हामीले विद्यालय स्तरदेखि पाठ्यक्रममा यस विषयको अध्ययन अध्यापन गराएर यसका फाइदाबारे जानकारी दिन सके भविष्यमा स्वस्थ र दीर्घजीवन बचाउन धेरै हदसम्म सफल हुने कुरामा विमती नरहला ।
यसको प्रचार–प्रसारमा सरकारी निकायहरु, एनजिओ, आइएनजिओ तथा निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न सकिन्छ । त्यस्तै सरकारी मिडियाहरु नेपाल टेलिभिजन, कृषि टेलिभिजन, रेडियो पत्रपत्रिका तथा निजी सञ्चारमाध्यमबाट पनि यसको प्रचार–प्रसारमा लाग्न सकिन्छ ।
तसर्थ, नेपालमा अग्र्यानिक भोजनको संस्कृतिलाई बढावा दिन यस्ता उत्पादनहरुको प्रवद्र्धन गरी पर्यावरणीय सन्तुलन, पशुपन्छीको संरक्षण, स्वस्थकर मानव जीवन तथा क्षेत्रीय र विश्वव्यापी वातावरण संरक्षणमा तालमेल गर्न भरपुर सहयोग र योगदान गर्न सकिन्छ । अब धेरै ढिला नगरी अग्र्यानिक खाद्यवस्तुको उत्पादन र उपभोगमा जोड दिऔँ र यसको बानी बसालौँ ।

समय सापेक्ष