लापरवाहीले बढाएको जोखिम
सम्पादकीय
सरकारको आदेशको अवज्ञा गर्ने पन्ध्र हजार छ सय पचास सवारीसाधनलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी कार्यालय झापाले कारवाही गरेको छ । कोरोना संक्रमण निस्तेज गर्न भन्दै सरकारले गत चैत ११ गतेदेखि सम्पूर्ण क्षेत्र बन्द गरेको थियो । त्यस अवधिमा अत्यावश्यक सेवाका साधनहरुलाई मात्र सडकमा गुड्ने छुट थियो । तर, कतिपयले आदेशको अवज्ञा गर्दै अनेक बहाना बनाएर घुमफिर गरेको खुलेपछि सवारी धनीलाई गरेको कारवाहीमा सवा करोडभन्दा बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगूले बताएका छन् । सरकारले झण्डै चार महिना देशभर बन्दाबन्दी गरेको थियो भने यस्तो बेला पनि झापामा मात्रै सवारी दुर्घटनामा परी पन्ध्र जनाले ज्यान गुमाएको प्रहरी निरीक्षक जबेगूले बताए ।

ट्राफिक प्रहरीले चेकजाँचका क्रममा कतिपय सवारी चालकले नक्कली परिचयपत्र बनाएको, कतिले अत्यावश्यक काम भन्दै हिँडेको, कतिले ट्राफिक नियम उल्लंघन गरेको, कति जनस्वास्थ्यको मापदण्ड विपरीत सञ्चालन भएको र कतिले मास्क लगाउनुपर्ने सामान्य सावधानी समेत नअपनाएको भेटिएको थियो । यस्तो लापरवाहीले हामी स्वयम्को स्वास्थ्यप्रति सचेत छैनौं भन्ने देखाएको छ भने यस्तै प्रवृत्तिले देशमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित हुन थालेको पुष्टि पनि गर्दैछ । अहिले पनि झापाका कतिपय पालिकाहरु बन्दाबन्दीमा छन् भने कतिमा निषेधाज्ञा जारी गरिएको छ । जहाँ खुल्ला छन् त्यहाँ पनि जनस्वास्थ्यको मापदण्ड र विशेष सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ । तर, सर्वसाधारणहरु जो स्वयम् पढेलेखेका छन्, जानेबुझेका छन् उनीहरु नै निर्देशित मापदण्ड विपरीत भोजभतेर, उत्सव, भेला र गर्मी छल्ने नाममा घुमफिर र मनोरञ्जन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको अवज्ञा गरिरहेका छन् ।
लामो समयको बन्दाबन्दीले देशको उद्योगधन्दा, अर्थव्यवस्था र जनजीवन नै ठप्प भएको भन्दै सरकारले फिर्ता लियो । बन्दाबन्दी फिर्ता भएसँगै मानिसको आवागमन बाक्लियो, भीडभाड बढ्न थाल्यो, अटेर गर्ने प्रवृत्ति बढ्यो र अहिले संक्रमण उच्च हुन पुग्यो । संक्रमण बढेसँगै उपचार सेवा पहुँचभन्दा बाहिर जान थाल्यो । कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणमा क्रियाशील चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मीदेखि अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मीहरु नै संक्रमित हुन थाले । हुँदाहुँदा जनघनत्व बढी भएका शहरहरु राजधानी काठमाडौं, विरगञ्ज, विराटनगर अति प्रभावित बन्दै गएका छन् । संक्रमण बढ्दै जाँदा ‘सम्पर्क पहिचान’ गर्न र तिनलाई परीक्षणको दायरामा ल्याउन कठिन भइरहेको छ । बढ्दो संक्रमणबाट सरकार नै डराउन थालेको आभाष हुन थालेको छ । सरकारमा सामेलहरु नै भेटघाट कार्यक्रममा भाग लिन छाडेका छन् । यस्तो विषम् परिस्थितिमा पनि हामी गम्भीर छैनौं, सचेत छैनौं र सावधानी अपनाउन तयार छैनौं भने स्वयम्को दुर्भाग्य हुनसक्छ । त्यसैले सकेसम्म महामारीबाट जोगिन सतर्कता अपनाऔं, स्वास्थ्य नै धन हो मनैदेखि आत्मसात गरौं ।
