May 2, 2026

कसैलाई भोकै नराख्ने पालिकाको नीति

0

खोटाङ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लकडाउनको समयमा कसैलाई भोकै नराख्ने नीति लिएको छ । कोरोना भाइरसको सम्भावित खतरालाई लक्षित गरेर सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नपाएका विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउन नगरपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको ‘लोककल्याणकारी नीति’ अनुसार लकडाउनको मारमा परेका दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने तथा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

“लकडाउनकै कारण नगरपालिकाभित्र कसैले पनि भोकभोकै बस्नुपर्ने छैन”, उहाँले भन्नुभयो, “आवश्यकताको पहिचान गरेर आवश्यक खाद्यान्न उपलब्ध गराउने गरी प्रत्येक वडामा रु एक÷एक लाखका दरले रकम बजेट विनियोजन गरिएको हो ।”

खाद्यान्न तथा दैनिक उपभोग्यवस्तु आपूर्ति व्यवस्थापनका लागि प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधिसमेत रहने गरी समिति गठन गरिएको जनाइएको छ । १५ वडा रहेको सो नगरपालिकाले यसअघि दिक्तेल–खानीडाँडा सडक निर्माणको काम गरिरहेका उदयपुर र पथरी मोरङका १९ कामदार तथा दिक्तेल बजारका १७ घर विपन्न परिवारलाई करिब १५ दिन पुग्ने खाद्यान्न उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *