October 9, 2026

नगरप्रमुखले नै अन्याय गरेको आरोप

0

बिर्तामोड।

झापाको बिर्तामोडमा रहेको अनारमनी लिवर्टी स्कूलका प्रिन्सिपल पूर्णप्रसाद विष्टले बिर्तामोड नगरपालिका प्रमुखले आफूलाई अन्याय गरेको आरोप लगाएका छन् ।

उनले शुक्रवार विद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बाटोको विषयलाई लिएर विहीवार विद्यालयमा डोजर चलाउने धम्की दिएको विद्यालयका प्रिनिसपल विष्टले बताए । मेयरको अभिव्यक्ति पछि विद्यालयमा त्रासको वातावरण सिर्जना भएको उनको भनाई छ ।

नगर प्रमुख शिवाकोटी नेतृत्वको २४÷२५ जनाको समूह अनुमति विना स्कूल हाताभित्र पसेको र धम्कीपूर्ण अभिव्यक्ति दिँदा विद्यालयमा त्रासको वातावरण सिजर्ना भएको बिर्तामोड–५ स्थित अनारमनी लिवर्टी स्कूलका प्रिन्सिपल विष्टको आरोप छ ।

‘नगरप्रमुखले विद्यालय समयमा बिना अनुमति प्रवेश गरेर स्कूलको वाल भत्काइदिन्छु, स्कूल नै बन्द गरिदिन्छु भन्नुभयो’, प्रिन्सिपल विष्टले भने – ‘जसका कारण विद्यार्थी, शिक्षक, कर्मचारीमा त्रास फैलिएको छ ।’

विसं. २०५९ सालमा विद्यालयको दक्षिणतर्फ बाटो निकाल्ने सर्वपक्षीय छलफलमा १२ फुटको बाटो निकाल्ने सहमति भएको बताइएको छ । त्यसबेला एकातिर भीमबहादुर थापाको जग्गा (हाल विद्यालय निर्माण भएको छ) र अर्कातर्फ राधिका सुवेदी लगायतको जग्गा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो जग्गालाई आलीले छुट्याएको थियो । दुवै तर्फबाट ६÷६ फुट छोडेर बाटो निकाल्ने सहमति भए पनि केही स्थानीबासीको घर रहेकाले पछि अर्को घर बनाउने बेलामा बाटो छोड्ने सहमतिमा भएपछि भीमबहादुर थापाले एक्लै आवतजावतको सहजताका लागि १० फुट बाटो छोडिदिएका थिए । तर, अन्य स्थानीयबासीले हालसम्म बाटोका लागि जग्गा छोडेका छैनन् । बाटो हालसम्म १० फुटमै सीमित छ विद्यालयका प्रिन्सिपल विष्टले भने ।

हाल सोही बाटो १८ फुटको बनाउने प्रयास भइरहेको छ । बाटो बढाउन दुवै तर्फबाट ४÷४ फुट बढाउने कुरा चलेपछि भीमबहादुर थापा र उनकी छोरी रुबी थापाले आफूहरुले पहिले नै १० बाटो छोडिसकेको र बाटोका लागि थप जग्गा छोड्न नसक्ने जनाएपछि विवाद सिर्जना भएको हो ।

सोही क्रममा नगरप्रमुख शिवाकोटीले ‘यो स्कूलको वाल जेसीबी लगाएर तोडिदिन्छु, स्कूल नै बन्द गरिदिन्छु’ भन्दै हिँडेको र ‘दक्षिण पट्टीको बाटो पनि बन्द गरिदिन्छु हेरौँ कसरी स्कूल चलाउँदो रहेछ’ भनेको पीडित पक्षको दाबी छ ।

विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष आशिष खड्काले नगरप्रमुख जस्तो गरिमामय पदमा रहेको व्यक्तिले यस प्रकारको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताउनुभयो । विद्यालय सबैको सार्वजनिक सम्पत्ति भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा भत्काउने अभिव्यक्ति दिनु गलत भएको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन अधिकारीले नगरप्रमुखबाटै धम्कीपूर्ण अभिव्यक्ति आएकाले आफूहरु त्रासमा रहेको र सरोकारवालासँग न्यायको अपिल गरेका छन् ।

यसैबीच बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुममार शिवाकोटीले आफूले विद्यालयमा डोजर चलाउने अभिव्यक्ति नदिएको बताएका छन् । उक्त स्थानमा दमकलसम्म छिर्ने बाटो समेत नभएकाले बाटोका विषयमा भएको समस्या समाधानका लागि आफू त्यस स्थानमा गएको र विद्यालयका प्रिन्सिपलको अभिव्यक्तिका कारण समस्या उत्पन्न भएको उनको तर्क छ ।

नगरप्रमुख शिवाकोटीका अनुसार साो स्थानमा बाटो चौडा हुन नसक्दा एकक सय ५० घर वाटोबाट वञ्चित हुनु परेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *