शिवालय मन्दिरलाई शक्ति पीठ बनाइँदै
राजगढ ।
बाह्रदशी गााउँपालिका – ३ राजगढमा रहेको शिवालय तथा राधाकृष्ण मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरेर लगिने भएको छ ।
२०६५ सालमा स्थापना भएको राधाकृष्ण मन्दिरलाई शक्ति पीठका रुपमा विकास गरेर लान हरेक वर्ष एक÷एक वटा धार्मिक महायज्ञको आयोजना गरिदै आएको र १८ वटा महायज्ञ सम्पन्न गरेसंगै धार्मिक शक्ति पीठ हुने बताइएको छ । हालसम्म मन्दिरमा १२ वटा महायज्ञ सम्पन्न भइसकेका छन् ।
दक्षिण क्षेत्रकै आस्थाको केन्द्रका रुपमा रहेको शिवालय तथा राधाकृष्ण मन्दिरमा यो वर्ष पनि फागुन १२ गतेबाट धार्मिक महायज्ञ हुने भएको छ । श्रीमद् पद्म महापुराणको आयोजना गर्दै मन्दिर परिसरको भूमिलाई थप पुण्य बनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष रमेश अधिकारीले बताए । फागुन २० गतेसम्म सञ्चालन हुने महायज्ञमा विदुषी परमयोगीनी वृन्दाबनी दासी (श्रीहम्) भू – तपश्वीले कथा वाचन गर्ने र तीन जना मण्डितले पाठ पारायण गर्ने अध्यक्ष अधिकारीले बताए । महायज्ञमा पं.गोपाल भट्टराई, राजु पोखरेल, र प्रशान्त अधिकारीले पाठ पारायण गर्ने बताइएको छ ।
यसैबीच मन्दिर परिसरमा निर्माण गरिएको पण्डाल भवनको उद्घाटन गरिएको छ । पण्डालको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यष खड्गप्रसाद राजवंशीले गरेका थिए । ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पण्डाललाई आगामी दिनमा सामुदायिक भवनका रुपमा विकास गरेर लाने र भवन तीन तले हुने मन्दिर व्यवस्थापन समितिका सविच थीरकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार सामुदायिक भवनका रुपमा पण्डाल भवनलाई विकास गरेर लान एक करोड रुपैयाँ लाग्ने बताइएको छ । बाह्रदशी गाउँपालिका अध्यक्ष राजवंशीले भवनको उद्घाटन गर्दै गाउँपालिकाले मठ मन्दिरको विकास र पर्यटकीय क्षेत्रको विकासका लागि सबैलाई समान रुपले हेरेको बताएका छन् । उनले धार्मिक पर्यटक भित्र्याउसके वाह्रदशी गाउँपालिकाको मुहार फेरिने धारणा राखे ।
भवन उद्घाटन समारोहमा बाह्रदशी गाउँपाकिला – ३ का वडाअध्यक्ष बीरेन्द्रप्रसाद राजवंशीले मन्दिरलाई वडाको तर्फबाट सक्दो सहयोग गर्ने र यस ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लान पहल गरिने धारणा राखेका थिए ।
बाह्रदशी– ३ मा मन्दिर निर्माणका लागि यस अघि त्यस क्षेत्रका समाजसेवी गंगाप्रसाद अधिकारी, पुण्यपूसाद वराल, अभिचन्द्र भण्डारी, खगेन्द्र प्रसाद अधिकारी, दलवहादुर पौडेल, धनपति उप्रेती, पानसरी राजवंशी, पर्शुराम वास्तोला, र स्व.कृष्ण पोखरेलले निःशुल्क जमिन उपलब्ध गराएका थिए । साढे ५ कठ्ठा क्षेत्रफलमा मन्दिर रहेको छ ।
पण्डाल भवन उद्घाटन समारोहमा त्यस क्षेत्रका स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन मन्दिरका लेखा समितिका संयोजक लोचनकुमार गुरागाईले गरेका थिए ।
