अज्ञानताले लागूपदार्थ दुव्र्यसनको सिकार
राजु गिरी,
परिचय :
आज विश्वमा नै लागूपदार्थ प्रयोगका कारणले गर्दा मानव जीवनमा नकारात्मक असर परेको छ । प्रयोगकर्ता र उसका परिवारको जीवन अस्तव्यस्त भइरहेको हुन्छ । समाजमा नकारात्मक असरहरु परिरहेको छ । लागूपदार्थ प्रयोगकर्ता दिनदिनै अकालमा मृत्युको सिकार भइरहेका छन् । ऊ जीवित भए पनि जिउँदो लास भएर बाँचिरहेको हुन्छ । लागूपदार्थ प्रयोग गर्नु भनेको तरबारको धारमाथि खालि खुट्टा हिँड्ने प्रयास गर्नु हो । उसको जीवनमा जतिखेर जे पनि हुन सक्छ । आज लाखौं प्रयोगकर्ताहरु एच. आई. भी. एड्स हेपटाइटिस जस्ता खतरनाक रोगको सिकार भइरहेको अवस्था छ ।
यो समस्या नेपाल अनि झापाको बिर्तामोड नगरपालिकाभित्र पनि दिनदिनै बढ्दो अवस्थामा छ । विशेष गरेर युवा वर्गमा यो समस्या देखिएको छ । चेतनाको कमी लागूपदार्थको बारेमा ज्ञान नहुनु जस्ता आदि कारणले गर्दा भविष्य निर्माणको लागि वर्तमानको अमूल्य समय लागूपदार्थ प्रयोग गरेर जीवन अनि समय वर्वाद बनाइरहेको आजको युवापुस्ता जो लागूपदार्थ प्रयोग गरिरहेका छन् । उनीहरुलाई उपचार र लागूपदार्थ प्रयोग नगरेका युवालाई लागूपदार्थविरुद्ध जनचेतनाको अत्यन्त आवश्यक भएको छ ।
अब यस कार्यमा समुदायका सबै सचेत नागरिक, संघ–संस्था, जिम्मेवारी व्यक्तिहरु नलागे लागूपदार्थले जालो सबैको घरमा फिँजाउने छ । लागूपदार्थले धनी, गरीब, शिक्षित, अशिक्षित, स्त्री, पुरुष केही पनि भन्दैन, जो पनि यसको सिकार बन्न सक्छ । लागूपदार्थ धेरै शक्तिशाली हुन्छ । एकचोटी प्रयोग गरिसकेपछि चुम्बकले फलाम ताने जसरी यसले पनि मानिसलाई तानिरहन्छ । लागूपदार्थको एक खुराक नै पर्याप्त हुन्छ । हजार खुराकको जरुरत छैन ।

लागूपदार्थ भनेको के हो ?
मानिसको केन्द्रीय स्नायू प्रणालीमा, भाव पारेर चेतना, अनुभूति र मनोभावनामा असर ल्याई दिने औषधि वा पदार्थलाई लागूपदार्थ भनिन्छ । यस्तो पदार्थको सेवन गरेपछि मानिसको सम्झने, बुझ्ने र सोच्ने क्षमतामा भिन्नता आउँछ । लागूपदार्थ भन्नाले औषधिको रुपमा प्रयोग गरिने पदार्थहरु तथा अन्य प्रयोजनमा आउने, तर नशालु पदार्थहरु भन्ने बुझिन्छ जुन कुनै तरल, ग्यास वा ठोस पदार्थ हुन सक्छ ।
लागूपदार्थको प्रकार (उत्पादनको आधारमा) :
१) प्राकृतिक लागूपदार्थ (गाँजा, भाँग, धतुरो, चरेस, अफिम आदि)
२) रसायनिक लागूपदार्थ ः (खैरो हिरोइन, सेतो हिरोइन, डेनड्राइट), फर्माटिकल ड्रग्सः फेन्सीडोल, कोडेक्स, नाईट्रोजन टेन, भोलियम टेन, स्पास्मो प्रोसिभेन, टी. डी. जेसिक, डाइजीपाम, लुपिजेसिक, ट्रामाडोल, कोडोट्याब, स्पास, आदि)
लागूपदार्थको दुव्र्यसन :
लागूपदार्थको प्रयोग गर्दै जाँदा शारीरिक, मानसिक, र मनोवैज्ञानिक रुपले त्यही लागूपदार्थ मै निर्भर भएर लत लाग्ने अवस्थालाई लागूपदार्थ दुव्र्यसन भनिन्छ । यस्तो अवस्थामा लागूपदार्थ प्रयोग गर्न नपाएमा असजिलो हुने, छट्पटि बढ्ने जस्ता अनेकौं लक्षणहरु देखापरी शारीरिक र मानसिक सन्तुलन बिग्रन जान्छ र लागूपदार्थ सेवन गर्ने व्यक्तिले लागूपदार्थ प्राप्त गर्नको लागि जे–जस्ता काम गर्न पनि तयार हुन्छ । यो अवस्थालाई लागूपदार्थ दुव्र्यसनीको रोग भनिन्छ । र, यो संसारको रोगहरु मध्ये दोस्रो ठूलो खतरनाक रोग हो भनेर सन् १९५६ मा अमेरिकन मेडिकल साइन्स र विश्व स्वास्थ्य संगठनले सन् १९५८ मा पुष्टि गरी सकेको छ ।
लागूपदार्थको दुव्र्यसन रोगका चरित्रहरु :
१) बढ्दै जाने, २) निको नहुने , ३) मृत्यु, जेल, पुनस्र्थापना केन्द्र
परिणाम :
लागूपदार्थ दुव्र्यसनमा किन फसिन्छ ?
साथीभाइको दबाव, अरु जस्तै बन्न खोज्नु (देखासिकी वा नक्कल गर्नु), चेतनाको कमी (लागूपदार्थ सम्बन्धी), अभिभावकहरुको हेरचाहमा कमी, मनोरञ्जन, गलत साथी (लागूपदार्थ सेवन गर्ने साथीहरुको संगत), नकारात्मक सोचाईलाई व्यवहारमा उतार्नु, पारिवारिक वातावरण, असफलता, निरास, आवश्यकभन्दा बढी पैसा उपलब्ध हुनु, स्वाद चाख्नु (अनुभव गर्न खोज्नु), आधुनिक बन्न खोज्नु ।
लागूपदार्थ दुव्र्यसनीका संकेतहरु :
शारीरिक परिवर्तन :
आँखा रातो हुने तथा आँखाको नानी सामान्य अवस्थाभन्दा सानो वा ठूलो हुने । खाना खाने र सुत्ने बानीमा परिवर्तन हुने । विगतको तुलनामा शरीर फोहर राख्ने वा फोहोरी देखिने । तुरुन्तै तौल घटबढ हुने । शरीर तथा अनुहारको चमक हराउँदै जाने, ओठ सुक्खा देखिने । शरीर, श्वास, र कपडाबाट अस्वभाविक गन्ध आउने । शरीर तथा हात गोडा काँप्ने, बोली लर्बरिने तथा लर्बराउने । हाच्छ्यु वा हाइहाइ बढी गर्ने । हात–खुट्टाका मांसपेशीहरु बटारिने । शरीरमा घाउ खटिराहरु आउने । कहिलेकाहीँ एक्कासी बेहोस हुने ।
व्यवहारमा परिवर्तन :
बोली व्यवहारमा रुखोपन आउने वा अपशब्द बोल्ने । नियमित रुटिनमा नचल्ने, काम तथा स्कूल कलेजमा अनुपस्थित हुने । कार्यदक्षता खस्किँदै जाने । पैसाको आवश्यकता बढ्ने, जहिले आर्थिक समस्या पर्ने जसका कारण ठग्ने, चोर्ने तथा ऋण लिने । गोप्य र शंकास्पद व्यवहार गर्ने, साथी संगत, चाहना आदि परिवर्तन हुने । झगडा, दुर्घटना र गैर कानूनी काम पटक–पटक गर्ने । कोठा सधै अस्तव्यस्त र फोहोर राख्ने ।
मानसिक वा मनोविज्ञानमा परिवर्तन :
अस्वभाविकरुपमा व्यक्तित्व र विचारमा परिवर्तन हुने । बिना कुनै कारण दिग्भ्रमित, चिन्तित, भयभित रहने । उत्साह र उत्प्रेरणा नदेखिने सधैँ थकित र टवाल्ल परेर बस्ने । रीस उठने, रिंगटा लाग्ने, अस्वभाविक रुपमा आक्रोशित हुने । तुरुन्त सोच बदल्ने, झर्किने, रिसाउने ।
लागूपदार्थ दूव्र्यसनले ल्याउने नकरात्मक असरहरु :
काम गुमाउनुपर्ने अथवा पढाई नराम्रोसँग बिग्रने । लागूपदार्थहरुको मूल्य बढ्दै गएको कारणले व्यक्ति ऋणमा पर्ने । कानूनी भन्झटहरुमा पर्न सकिने । सामाजिक सम्मान र स्तर गुम्ने । पारिवार तथा साथीहरुको सम्मान तथा मायाबाट टाढा हुने । शारीरिक स्वस्थता गुम्ने । मानसिक तथा भावनात्मक असर ।
गम्भीर अपराधहरुमा संलग्न हुन सक्ने । विद्यालय तथा नोकरीबाट निष्काशन तथा कार्यप्रदर्शनीको सीपमा कमी । भावनात्मक रुपमा बेला–बेलामा आवेगमा आउनु । नैराश्यता, एक्लोपना र आत्महत्याको इच्छा आदि भावनाहरु पलाउने । पैसाको लागि यौनसम्पर्क गर्नेसम्मको सम्भावना हुने । संवेगमा आइहाल्ने तथा बेला–बेलामा आवेगमा आउन सक्ने सम्भावना हुने ।
अन्र्तव्यक्ति सम्बन्धहरु :
प्रभावकारी सञ्चारमा हस्तक्षेप, चर्को विवादहरु, दैनिक जीवनमा बढी हिंसा, अन्य ब्यक्तिसँग मानसिक तथा शारीरिक निर्भरता, मस्तिष्क तथा श्वास–प्रश्वासमा नकारात्मक असर ल्याउँछ, मुटुको चाल तथा रक्तचापमा अत्यधिक बृद्धि, खानामा एकदम कम रुची हुनु तथा भिटामिन ग्रहण गर्ने क्षमतामा कमी आउनु ।
शारीरिक असरहरु :
मस्तिष्क कोषहरु विस्तारै नाश गर्दै जान्छ । शारीरिक व्यायामहरु तथा खेलहरुमा कमी ल्याउँछ । सामञ्जस्यता कायम गर्नमा अवरोध । शरीरको तापक्रम घटबढ भइरहने । शरीरका इन्द्रीय शक्तिहरु शिथिल हुनु । भिटामिन ग्रहण गर्न सक्ने क्षमतामा कमी हुनु ।
सुरक्षा तथा चोटपटक रोकथाम :
रिंगटा लाग्ने तथा अस्थिरता बढाउने । दुर्घटनाहरुको जोखिमहरुलाई बढाउने । लागूऔषधि तथा धुमपानको एक समयमा सेवन गर्नाले बेहोस हुने अथवा मृत्युसम्म पनि हुन्छ ।
रोगहरु तथा अनियमितता :
मृगौला खराबीको जोखिम, एच.आई.भी.÷हेपटाइटिस संक्रमणको जोखिम, मुटुको रोगको कारण हुन सक्छ, धुमपान पनि साथसाथै गर्नाले क्यान्सरको अधिक सम्भावना हुन्छ, रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने भएकोले अन्य साधारण रोगहरुको जोखिम बढ्न सक्छ ।
आर्थिक अवस्थाः
स्कूल, कलेज तथा नोकरीमा नियमित रुपमा अनियमितता । लागू दुव्र्यसनलाई नियमितता दिन महँगो हुने । स्वास्थ उपचारको खर्चमा वृद्धि । परिवारमा आर्थिक अस्तव्यस्तता ।
७) लागूपदार्थ दुव्र्यसनबाट बचाउन अभिभावकको भूमिका लागूपदार्थ दुव्र्यसनविरुद्ध सम्बन्धि चेतना फैलाउनु, लागूपदार्थको नकारात्मक असरबारे जानकारी गराउने, बालबालिकाको अगाडी खैनी, चुरोट, जाँड रक्सी जस्ता पदार्थ सेवन नगर्ने, उनीहरुले भेट्ने स्थानमा नराख्ने, उनीहरुको चाहनालाई आवश्यकताभन्दा बढी पूरा नगर्ने, खेलकुद सांस्कृतिक, साहित्य, शिक्षा, सिपमूलक आदि कार्यक्रमतिर उत्साहित गर्ने, पढाई, बानीव्यहोरा, साथीसंगत आदि कुरामा विचार गर्ने, साथीसंगतको छनौट अनि उनीहरुको नकारात्मक दबाबलाई प्रतिरोध गर्न सिकाउने, अभिभावकले मादकपदार्थ सेवन गरेको बालबालिकालाई थाहा नदिने, कुनै औषधिहरु प्रयोग गरेको थाहा पाएमा सो औषधि सम्बन्धी जानकारी लिने, तपाईको बालबालिका पढ्ने स्कूल कलेजमा कम्तिमा बर्षमा एकपटक लागूपदार्थविरुद्ध चेतना फैलाउन दबाब दिने ।
लागूपदार्थ सेवन गरेको थाहा पाए के गर्ने प्रयोगकर्ताले प्रयोग गरेको सजिलै स्वीकार्र्दैनन् उसलाई धम्क्याउने, पिट्ने, पुलिस चौकीमा थुनाउने जस्ता कार्य गर्नुहुँदैन, अनावश्यक सल्लाह सुझाव दिनुहाुदैन, भोलिदेखि प्रयोग गर्न छोड्छु भन्ने कुरामा विश्वास राख्नु हुँदैन । प्रयोगकर्ताले राखेका निम्न शर्तहरु पूरा भए प्रयोग गर्न छोड्छु भन्दा विश्वास नगर्नुहोस्, जसले निम्न परिणाम निम्त्याउँछः
क) सवारीसाधन : दुर्घटना हुने सम्भावना अधिक
ख) विवाहः सम्बन्धविच्छेद हुने सम्भावना अधिक
ग) वैदेशिक रोजगार वा व्यापारः आर्थिक क्षति हुने वा विदेशमा कानूनी कारवाहीमा पर्ने, व्यापारमा असफल । लागूपदार्थ दुव्र्यसनविरुद्ध काम गर्ने, परामर्शदाता वा संघ–संस्थाहरुसँग परामर्श लिने । लागूपदार्थ दुव्र्यसन रोग हो यसको उपचार सम्भव छ भन्ने विश्वास गर्ने लागूपदार्थ दुव्यर्सनलाई ढाकछोप गर्ने प्रयास नगर्ने झन ठूलो समस्या उत्पन्न हुन्छ ।
बेलैमा उपचार केन्द्रमा पु¥याउने, धामी, डाक्टर र औषधिले लागूपदार्थ दुव्र्यसनबाट मुक्त भइन्छ भन्ने कुरामा विश्वास गरेर समय खेर नफाल्ने लागूपदार्थ दुव्र्यसनलाई भेदभाव लान्छना गर्ने, पुनःस्थापना हुने आँट र हौसला दिने । ‘इज्जत र प्रतिष्ठाको कुरा गरेर लागूपदार्थ दुव्र्यसनको सिकार हुनबाट बचाऔं”
