जागिर छाडेर कटियाको व्यापार
बिर्तामोड।

पढेर जागिर नै खानु पर्छ भन्ने मान्यता बिस्तारै घट्दै गएको छ । पढे–लेखेका युवा जागिरको सट्टा अहिले कृषि कर्म र विभिन्न पेशा व्यवसायमा रमाएका छन् । केही समय अघिसम्म पढेर जागिरै खानुपर्छ भन्ने मान्यता राख्नेहरु पनि जागिर छाडेर अहिले अन्य पेशामा लागेका थुप्रै उदाहरणहरु समाजमा भेटिने गरिन्छ ।
बिर्तामोड–४का जयप्रसाद पोखरेल ‘दिलीप’ ले पनि छ वर्ष शिक्षण पेशा अंगाले । पाँचथरको सिदिनमा रहेको सिद्धदेवी माध्यमिक विद्यालयको माध्यमिक तहमा उनले अंग्रेजी विषय छ वर्ष अध्यापन गराए । २०५६ सालमा अंग्रेजी विषयका लागि माध्यमिक तहमा शिक्षक नियुक्ति भएका पोखरेलले २०६१ सालसम्म शिक्षण पेशा अंगाले । १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा बिस्थापित बनेका पोखरेल अहिले झापामा होटल व्यवसायमा रमाएका छन् ।
पाँचथरको थर्पू–३ स्थायी बसोवास भएका पोखरेल २०६१ साल यता झापाको बिर्तामोड बस्दै आएका छन् । आफू सामुदायिक विद्यालयमा कार्यरत रहेका पोखरेलका छोराछोरीलाई निजी विद्यालयमा अध्ययन गराएको र सो समयमा तत्कालीन माओवादीले शिक्षकका छोराछोरी निजी विद्यालयमा पढाउन नपाउने भन्दै जन कारवाही शुरु गरेपछि छँदाछँदैको जागिर छाडेर हिँडेका पोखरेलको कमाई अहिले शिक्षकको भन्दा कम छैन ।
श्रीमती चन्द्रादेवी भट्टराईको साथमा रहेर व्यवसाय शुरु गरेका उनले बिर्तामोडको पश्चिम कसस्टेण्ड नजिकै दीपश्री खाजा घर सञ्चालन गरेका छन् । जहाँ उनी आफैं कुकदेखि वेटरसम्मको काम गर्छन् ।
दमक बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै शिक्षण पेशामा आवद्ध उनले शिक्षण पेशा छाडे पनि पढाइलाई भने निरन्तरता दिए । पाँचथरबाट बिस्थापित बनेका उनले झापाको बिर्तामोडमा आएर शुरुमा किराना व्यवसाय सञ्चालन गरे । नयाँ नयाँ अवसरको खोजीमा लाग्ने उनले किराना पसलमा भन्दा होटलमा राम्रो कमाई हुने बुझेपछि बिर्तामोडमै अन्धुवा खोला नजिकै एलिशा होटल सञ्चालन गरे । जहाँ दिन दुई गुण रात चौगुणा भने झैं उनको व्यवसाय फस्टाएर गयो । केही समय होटल ब्यवसाय सञ्चालन गरेका दिलीप अध्ययनको सिलसिलामा पुनः दमक पुगे ।
दमकमा समेत अध्ययन गर्दै व्यवसाय गरेका उनले दमकमा दुई वर्ष बिताए । किराना र खाजा घर सञ्चालन गरेका उनले दमकमा रहँदा समेत राम्रो आम्दानी गर्न सफल भए । सोही रकमले दिलीपले बिर्तामोडमा घडेरी जोडेर घर बनाउन समेत भ्याए ।
दुई छोरी र एक छोरालाई लालनपालन गर्दै गुणस्तरीय शिक्षा दिलाउन उनलाई व्यवसायले नै सघायो । व्यवसायमा रमेका पोखरेल भन्छन्– ‘शुरुमा जागिर छाड्दा डिप्रेसन होला झैं भयो । तर, अहिले धन्न जागिर छाडेछु झैं लाग्छ । अहिले म मेरै व्यवसायमा सन्तुष्ट छु ।’
जागिर नछाडौं मरिएला भन्ने डर, छाडौं घर कसरी चलाउने भन्ने चिन्ताले त्यो बेला खुब सताएको थियो उनले भने– मर्नुभन्दा बहुलाउनु निको भन्दै लालावाला च्यापेर झापा झरेको म अहिले जागिरमा भन्दा बढी यो पेशामा सन्तुष्ट छु । शुरुमा मलाई पनि पढेका मानिसले काम गर्नु हुन्न भन्ने ‘भुत’ चढेको रहेछ क्यारे– उनले भने – युरोप जाने चक्करमा ७ लाख डुब्यो । यो संगै वीभीआई नेटवर्किङ व्यवसायमा लागेर पाँच लाख डुब्यो ।
जब कमाएको सबै श्रीसम्पत्ति सकेर ऋणमा डुबेँ तब थाहा भयो पढेर जागिर खानैपर्छ भन्ने घमण्डले मानिसलाई अघि बढ्न दिँदो रहेनछ– पोखरेल भन्छन् – ढिला आँखा खुल्यो तर पनि अहिले सन्तुष्ट छु ।
पोखरेलले नर्वे जाने सिलसिलामा सातलाख रुपैयाँ दलाललाई बुझाए । भारतमा रहेको वीभीआई नेटवर्किङ कम्पनीमा लागेर ५ लाख डुवाएर पछि व्यवसायमा फर्किएका उनी अहिले चल्तापूर्जा बिर्तामोडका व्यवसायी हुन् । पोखरेलले शुरु गरेको दीपश्री तास हाउस कुनै समय निक्कै चर्चामा रह्यो । तास हाउससंगै उनले सञ्चालन गरेको फ्राई राइसले समेत उस्तै मार्केट लियो । अहिले फ्राई राइस सवैको रोजाइको खाजा बनेको छ । चौक चौकमा खुलेका पसलमा फ्राई राइसको बिक्री हुन्छ ।
खाजा र खाना बनाउन सिपालु दिलीपले कुकदेखि वेटरसम्म हुँदै व्यवसाय हाँकेका छन् । काउन्टरमा श्रीमतीलाई राखेर व्यवसाय शुरु गरेका दिलीपले पछिल्लो समय कटारीको व्यवसाय शुरु गरेका छन् । कटियाको व्यवसाय शुरु गरेसँगै मासु परिकारको पारखीका लागि रोजाई बनेको छ– दीपश्री खाजा घर ।
खाजा घरबाटै मनग्ये आम्दानी गरेका दिलीपले ग्राहकलाई आफ्नो पकडमा राख्न सँधै नयाँ–नयाँ परिकारको स्वाद चखाउँछन् । जसका कारण उनको व्यवसाय फष्टाएको छ ।
के हो कटिया ?
कटिया खशीको मासुवाट बनाइने एक प्रकारको परिकार हो । यो परिकार माटाको हण्डीमा पानी नहाली पकाइन्छ । वाफको माध्यमले पाक्ने यो परिकार अग्र्यानिक हुन्छ । दीपश्री खाजा घरले पनि पछिल्लो समय मौलिक स्वादमा फरकपन दिएपछि कटियाका पारखीहरुकै कारण दिलीपको व्यापार फस्टाएको छ ।
रौतहटमा विक्री हुने कटिया काठमाडौं हुँदै झापासम्म बिक्री हुन थालेपछि यसका पारखी पनि वढेका हुन् । कटिया माटोवाट बनाइने भाँडो हो । त्यसैमा पकाइने भएकाले मासुको परिकार नै कटिया नामले चिनिएको पोख्रेल बताउँछन् । कटियामा मासु पकाउँदा शुरुमा काटेको प्याज, जिराको दाना, लसुनका पोटीसहितका टुक्रा राखेर त्यसमा मासु भरिन्छ । एउटा कटियामा तीन सय ग्राम मासु राखिन्छ, जसमा १२ टुक्रा हुन्छ ।
त्यसपछि त्यसलाई प्लेटले छोपेर कोइलाको राग माथि राखेर यसलाई पकाइन्छ । पोखरेलले कटियाको व्यापार शुरु गरेपछि अहिले हेर्नेको समेत घुइँचो लाग्ने गरेको छ । माटोका भाँडामा पानी नहाली पकाइने मासुलाई वेला–वेलामा चलाइन्छ । पाक्ने वेलामा जिरा, धनिया, सुपारी, सुक्मेल, ल्वाङ, तेजपत्ता, जाइफल, जाइपत्री, अलैंची, मरिच, पिप्ला, सोठी, दालचिनी गरी १३ प्रकारका मसलाको प्रयोगका कारण कटिया निक्कै स्वादिष्ट हुन्छ । कटियाको व्यापारका कारण पोखरेल अहिले बिर्तामोडमा मात्रै होइन पूर्वमा परिचित भएका छन् ।
