सागले उठाएको गौरव
सम्पादकीय
दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तेह्रौं संस्करणमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । घरेलु मैदानमा सञ्चालन भएको खेलकुदका छब्बीस वटा विधाका समूहका खेलमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाएको छ । सन् १९८४ देखि शुरु भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पछिल्लो संस्करणसम्म आइपुग्दा नेपाली खेलाडीले प्रस्तुत गरेको उच्चतम् उपलब्धी आगामी दिनहरुमा अझ फलदायी हुने आशा पलाएको छ ।
नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिप्स, भुटान र पाकिस्तानका खेलाडीहरुले भाग लिएको यसपटकको प्रतियोगितामा केही नेपाली खेलाडीहरुले इतिहास निर्माण गरेका छन् भने यसले उचित वातावरण पाए आगामी प्रतियोगितामा अझै सफलता प्राप्त गर्ने विश्वास जगाएको छ । खेलकुद, स्वास्थ्य, अनुशासन, एकता, मित्रता, गतिशीलता र सद्भावनाको अभिवृद्धि गर्ने माध्यम हो । यसको माध्यमबाट बन्धुत्व, सहिष्णुता र सहअस्तित्वको भावना बढ्ने, आपसी कटुता मेटिने विश्वास पनि गरिन्छ । खेलकुद राष्ट्रको पहिचान दिलाउने माध्यम पनि हो । त्यसैले विश्वका धेरै राष्ट्रले खेलाडी र खेलकुदको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउँछन् र कार्यान्वयन नै गर्छन् । तर, हामीकहाँ राज्यका तर्फबाट त्यस्तो गरिएको छैन, जे गरिएको छ त्यो खेल र खेलाडीको उत्साह, कौशल र सिप वृद्धिका लागि अपर्याप्त छ ।
नेपाली खेलाडीले १३औं सागमा प्राप्त गरेको उपलब्धी अधिकांश आप्mनै बलबुताबाट प्राप्त गरेको देखियो । स्वर्णपदक जितेका खेलाडीहरु स्वयम्ले बोलेको यो तथ्यले राज्यले संरक्षण दिए अझै सफलता हात लाग्ने अनुमान गर्न गाह्रो छैन । खेलाडी प्रतियोगिताकै मुखमा खेल छाडेर रोजगारीका लागि विदेश गएको घटनाले राज्य र सम्बद्ध निकायलाई दुख्नु पर्ने हो, तर त्यस्तो हुँदैन। यसपटक सागको आयोगना सफलतापूर्वक सम्पन्न गरेको नेपालप्रति पाहुनाहरुले के–कस्तो मूल्यांकन र अनुभव गरे त्यो आगामी दिनमा देखिएला । तर, पदक जितेका हाम्रा खेलाडीको क्षमता र कुशलताले नयाँ र नयाँ खेलाडीका लागि कति उत्प्रेरक बन्छ त्यो भविष्यले देखाउला । अझै पनि नेपाली खेलाडीहरुको भविष्य असुरक्षित र अनिश्चित नै छ । उनीहरुमा निरन्तर खेल क्षेत्रमै लागीरहने विश्वास जगाउन आवश्यक छ । उनीहरुको पारिवारिक जीवनको सुरक्षा गर्ने राज्यको दायित्व निर्वाह भएको छ–छैन त्यसले खेल क्षेत्रको विकास निर्धारण गर्छ ।
यसपटकको खेलमा खेलाडीले आवश्यक जर्सी, जुत्ता वा पेस्तोल नपाएको समाचार पनि सार्वजनिक भयो । खेलका लागि बन्द प्रशिक्षणका कार्यक्रम कसरी सञ्चालन गरिए ? उनीहरु शान्त र निश्चिन्त भएर मैदानमा प्रवेश गरे–गरेनन् त्यसको समेत मसिनो गरी अनुमगन गरिनु पर्दछ । यस्तो अवस्थाले खेलाडीमा आत्मविश्वासको भावना जाग्रत हुन्छ र उनीहरु समर्पित भावले खेलमा सहभागी हुन सक्छन् । सागमा भारत जहिल्यै अघि छ र नेपालले यसपटक ऊसँगको अन्तर कम गरेको छ । यो आशलाग्दो अवस्थालाई अझ बलियो बनाउन राज्य र खेलकुद सम्बद्ध निकायले आग्रहमुक्त भई राष्ट्रको अस्तित्वको श्रीवृद्धिमा लाग्नु पर्दछ । यसका लागि गाउँ–गाउँसम्म गतिविधि सञ्चालन गर्ने र प्रतिभाको पहिचान गरी संरक्षण गर्नुपर्छ । यसपटक राष्ट्रको गौरव उठाउने नेपाली खेलाडीहरुलाई हार्दिक बधाई ।
