वेलडाँगीमा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड ।
झापाको बिर्तामोड–२ स्थित वेलडाँगीमा बुधवार बिर्तामोड नगरपालिका तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वि एण्ड सी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा एकसय ४७ जनालाई सेवा प्रदान गरेको सहारा नेपाल साकोस चारपाने सेवा केन्द्रका प्रमुख जगत कार्कीले जानकारी दिए । शिविरमा टाउको, घाटी र कम्भरको नसा तथा न्यूरो सम्बन्धी परिक्षण तथा निःशुल्क औषधि वितरण गरिएको प्रमुख कार्कीले बताए ।
परिक्षणमा ४६ जनालाई न्यूरो सम्बन्धि गम्भिर समस्या देखिएको बताउदै कार्कीले उनीहरुलाई पुस १८ र १९ गते अन्नपूर्ण अस्पताल काठमाडौंका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तबाट परिक्षण गराई थप सेवा प्रदान गर्ने बताए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश सहाराका जीवन वरदान कार्यक्रमका संयोजक भक्तबहादुर खड्काले पारेका थिए । कार्यक्रममाथि प्रकाश पार्दै खड्काले सुरुङ्गा, गरामनी, अनारमनी, अर्जुनधारालगायत ५ स्थान निःशुल्क स्वास्थ्य शिवर सञ्चालन गरिने बताए ।

सहारा नेपाल साकोषकी सहयोग समिति सदस्य गोमादेवी लिम्बुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो ।
विएण्डसीका न्यूरो सर्जन डाक्टर दिनेशकुमार थापा र डाक्टर चन्द्रप्रकाश लिम्बुसहितको सहभागिता भएको कार्यक्रमलाई चारपाने सेवा केन्द्रका कर्मचारी संजय राजवंशीले सञ्चालन गरेका थिए ।
