चार दिनमा ६ जनाको मृत्यु,१४ जना घाइते, दुर्घटना न्यूनिकरणमा झापा ट्राफिक असफल
भद्रपुर ।

झापा जिल्लामा दैनिक सवारी दुर्घटना हुन थालेको छ । सवारी दुर्घटना परी गएको चार दिनमा एक महिलासहित ६ जनाले ज्यान गुमाएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।
झापा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि राजमार्ग र सहायक राजमार्गहरूमा विभिन्न सचेतना मूलक अभियान सञ्चालन गर्दै आए पनि जिल्लामा सवारी दुर्घटना न्यूनीकरण हुन सकेको छैन । यसैक्रममा ट्रक र कारसँग मोटरसाइकल ठोक्किदाँ मङ्गलवार बिहानमा झापामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ जिल्ला अमरदह नगरपालिका २ बस्ने २३ वर्षीय किशन साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको कनकाई नगरपालिका ४ स्थित कोटीहोम नजिकै सडक छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाइकल ट्रकको पछाडि भागमा आफै ठोकिएर उछिटिदा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ४२८१ नम्बरको कारले ठक्कर हुँदा मोटरसाइकल चालक साह गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागी बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । ट्रक र कारसहित दुवै चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जनाइएको छ । त्यस्तै मङ्सिर २० गते कारको ठक्करबाट बिर्तामोडमा दुई जना साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ जिल्ला श्रीजंगा गाउँपालिका ४ तेलोक घर भई हाल बिर्तामोडमा डेरा गरी बस्ने अन्दाजी १९ वर्षीय लीला भन्ने रोवर्ट विष्ट र सुर्खेत घर भएका अन्दाजी २१ वर्षीय शिवप्रसाद सुवेदी रहेको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए । प्रहरीका अनुसार गत शुक्रवार राती बिर्तामोड १ स्थित पुरानो यातायात रोडको पूर्व–पश्चिम राजमार्ग अन्तरगतमा दक्षिणबाट उत्तरतर्फ गइरहेको साइकलयात्री विष्ट र सुवेदीलाई सोही दिशातर्फ गइरहेको को २ च ३६२ नम्बरको गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका विष्ट र सुवेदीलाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल लगिएकोमा साइकल चालक सुवेदीको सोही दिन उपचारको क्रममा मृत्यु भएको थियो । घाइते विष्टको आइतबार उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । बिर्तामोडस्थित भद्रपुर रोडको प्लास्टिक पसलमा काम गर्दै आइरहेका दुवै जना राती डेरा फर्किने क्रममा अर्जुनधारा नगरपालिका बस्ने २९ वर्षीय विक्रम पौडेलले चलाएको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
त्यसैगरि मङ्सिर २१ गते पूर्व पश्चिम राजमार्गअन्तर्गत विरिङ पुलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा कनकाई नगरपालिका ३ बस्ने २४ वर्षीय नितेश न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए । प्रहरीका अनुसार कनकाई नगरपालिका ७ स्थित बिरिङ खोला पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक न्यौपाने र अर्को मोटरसाइकल चालक दमकस्थित गोर्खाली टोल बस्ने २५ वर्षीय सोनु लिम्बू घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बि एन्ड सी अस्पताल लगिएकोमा न्यौपानेको बाटैमा मृत्यु भइसकेको थियो । मङ्सिर २१ गते बिहान श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर उनकै श्रीमतीको कमल गाउँपालिका ७ बस्ने ५३ वर्षीया ज्ञानदेवी धिमाल मृत्यु भएको छ । प्रहरीका अनुसार कमल गाउँपालिका ७ बाह्र घरे चोकस्थित पाडाजुंगी गौरीगञ्ज भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प १२२९ नम्बरको मोटरसाइकल तुलसीराम धिमालले कुदाइरहेको अवस्थामा पछाडि सवार उनकी श्रीमती ज्ञानदेवी सडकमा लडेर गम्भीर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक र्पुयाएलगतै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै मङ्सिर २० गते मेची राजमार्गअन्तर्गत झापाको धाइजनमा बोलेरो जिपको ठक्करबाट बुद्धशान्ति गाउँपालिका ३ बस्ने ७० वर्षीय वृद्ध हरिप्रसाद न्यौपानेको मृत्यु भएको छ । पैदलयात्री वृद्ध न्यौपानेलाई बिर्तामोडबाट इलाम तर्फ जाँदै गरेको प्रदेश नं १–०१–००१ ज ३४०० नम्बरको बोलेरोले जिपले ठक्कर दिएर लडाएका थिए ।
सोही बेला इलामतर्फ जाँदै गरेको मे १ ज ३१९६ नम्बरको गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागी बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको थियो । त्यसैगरि मङ्सिर २० गते बिहान पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै बस दुर्घटनामा परी १३ जना घाइते भएका थिए ।
दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना ६ ख ६१८१ नम्बरको बस दुर्घटनामा हुँदा बसका सह चालक मोरङ जिल्ला पथरी १ बस्ने ३० वर्षीय विकास लिम्बू, दमक १० बस्ने २७ वर्षीय सन्तोष खड्का , सोही ठाउँ १९ वर्षीय पवन खड्का, उर्लाबारी ३ बस्ने १७ वर्षीया स्मृति धिमाल, दमक १० बस्ने १४ वर्षीय अभय धिमाल, मोरङ उर्लाबारी ७ बस्ने २२ वर्षीया माया धिमाल, दमक १० बस्ने १८ वर्षीया विविशा धिमाल, सोही ठाउँका १९ वर्षीया विनीता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का घाइते भएका थिए ।
दैनिक रुपमा सवारी दुर्घटना बढेपनि त्यसलाई न्यूनिकरण गर्न झापा ट्राफिक असफल देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीले दुर्घटना न्यूनिकरणमा ध्यान नदिदाँ सवारी दुर्घटना बढेको स्थानीयले बताएका छन् । ट्राफिक प्रहरीले तिब्र गतिमा गुड्ने सवारीलाई कारबाहीको दायरमा ल्याउनुको सट्टा राजश्वमा मात्रै ध्यान दिएकाले दुर्घटनामा कमी आउन नसकेको जनाइएको छ ।
