September 21, 2026

स्वास्थ्य शिविरमा हजारौंले लिए सेवा

0

चारपाने।

झट्ट हेर्दा यो दृष्य मन्दिरमा भगवानको दर्शनका लागि लामबद्ध भएको जस्तो देखिन्छ, तर यो भीड मन्दिर दर्शनको लागि नभएर झापाको अर्जुनधारा धाममा शनिबार आँखा जाँच गराउन आउनेहरुकोे लाइन होे ।

भजन गाउने ओठभन्दा सेवा गर्ने हात महान हुन्छन् भन्ने भनाई धार्मिक ग्रन्थहरुमा नै उल्लेख छ, तर धार्मिक स्थलहरुमा सेवाका कामभन्दा भजन–कीर्तन, पूजा–आजा, पाठ–पुराण धेरै हुने गरेको पाइन्छ । यस बर्ष भने पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारामा पूजा अनुष्ठानका साथै मानवसेवाको काम पनि भएको छ, यो बर्ष पूजा गर्नेको लाइन मात्र होइन स्वास्थ्य सेवा लिनेको लाइन पूजा गर्नेको भन्दा कम छैन ।

धामको ३७औं वार्षिक अनुष्ठानको अवसरमा अर्जुनधारा जलेश्वर धामको आयोजना र भारतको कलकत्तास्थित महाविर सेवा सदनको प्राविधिक सहयोगमा बिहीबारबाट शुरु भएको निःशुल्क आँखा तथा विकलाङ्ग सेवा शिविरमा सेवा लिनेको संख्यामा समेत वृद्धि भएको छ ।

मंसीर ७ गतेसम्म आँखा शिविर सञ्चालन भएको थियो भने विकलाङ्ग सेवा शिविर अन्तर्गत नाम दर्ता गरी यही मंसीर १३ गतेदेखि २० गतेसम्म कृतिम हातखुट्टा वितरण गरिने धाम समितिले जनाएको छ । शिविरमा डा. जीतेन्द्र गग्लानीसँगै हार्दिक गग्लानी, सान्तनु दास र प्राविधिकहरु पोल्टु मण्डल, राजेश गड्वाल र शौरभ साहूले सेवा दिइरहेका छन् । उनीहरुलाई स्थानीय स्वास्थ्यकर्मीहरुले पनि सहयोग गरिरहेका छन् ।

भारतका विभिन्न स्थानमा स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको स्वास्थ्य टोलीले नेपालमा पहिलो पटक सेवा प्रवाह गरिरहेको छ । उच्चस्तरको प्रविधिसहित डाक्टर र स्वयम्सेवकको छ जनाको टोली नै लिएर आएको महावीर सेवा सदनको शिविरमा सयौंले आँखा जाँच गरिरहेका छन् ।

विगतका बर्षदेखि बालाचतुर्दशीको अवसरमा धार्मिक अनुष्ठान र धार्मिक मेला आयोजना हुँदै आएको थियो । यस बर्ष पनि विशेष सजीसज्जाका साथ अनुष्ठान र मेलाको आयोजनासँगै बृहत स्वास्थ्य शिविरमा तीन हजार पाँच सयभन्दा बढीले सेवा लिइसकेका छन् । पाँच हजार जनाभन्दा बढीको आँखा परीक्षण, पाँच सय जनालाई आँखाको अवस्था अनुसार चस्मा वितरण र पाँच सय जना विकलाङ्गलाई कृतिम हातखुट्टा वितरण गर्ने लक्ष्य राखिएको धामका अध्यक्ष नविनकुमार गट्टानीले बताएका छन् ।

आगामी दिनमा महावीर सेवा सदनले नेपालमा एक लाख जनालाई चस्मा वितरण तथा १० हजार जनालाई कृतिम हातखुट्टा वितरण गर्ने उद्दश्य राखेको महावीर सेवा सदनका सदस्य राजेश गड्वालले जानकारी दिएका छन् । विशेषगरी विपन्नहरुको लागि सञ्चालन गरिने शिविर शहरभन्दा गाउँ केन्द्रीत रहने बताइएको छ । दान भेटी मात्र संकलन गर्ने होइन मानवलाई प्रत्यक्ष सेवा पुग्ने काम गरेर पनि धर्मको प्रचार र संरक्षण गर्न सकिने सन्देश अर्जुनधाराले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *