September 21, 2026

पर्यटक भित्र्याउन धार्मिक महोत्सव

0

बिर्तामोड ।

नेपाल भ्रमण वर्ष २०२० शुरु हुन करिव एक महिना मात्रै बाँकी छ । गत वैशाखमा सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै पोखराबाट कार्यक्रमको शुभारम्भ गरेको थियो । २० लाख बाह्य पर्यटक भित्र्याउने महत्वकाक्षी योजनासहित शुरु गरिएको भ्रमण वर्षको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बाले उद्घाटन गरेका थिए ।

सरकारले तामझामका साथ देशभरमा २० लाख पर्यटन भित्र्याउने तयारी गरिरहँदा झापामा मात्रै आन्तरिक तथा वाह्य पर्यटक १० लाखभन्दा बढी पर्यटक भित्र्याइने लक्ष्यसहित झापाका विभिन्न धार्मिक संघ–संस्थाले महायज्ञ सञ्चालन गरिरहेका छन् । महायज्ञबाट धार्मिक पर्यटनको विकासमा टेवा पुग्नुका साथै त्यस क्षेत्रका संरचनाको सुधारका लागि सहयोग जुट्ने अपेक्षा गरिएको छ ।

धार्मिक पर्यटनका दृष्टिकोणले झापा अग्रस्थानमा रहेको भन्दै यहाँ रहेका विभिन्न धार्मिक शक्तिपीठमा अहिले धार्मिक महायज्ञ सञ्चालनमा रहेका छन् । शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधाममा मात्रै पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित महायज्ञ सञ्चालित छ । देश तथा विदेशका गरी ५ लाख २० हजार भक्तजनले सताक्षीधामको दर्शन गर्ने लक्ष्य लिइएको छ ।

पूर्वकै पशुपति नाथका नामले परिचित अर्जुनधारा जलेश्वर धाममा पनि ३७औं अनुष्ठान सञ्चालनमा छ । जहाँ झण्डै ३ लाख धर्मान्ुरागीले दर्शन गर्ने धामको लक्ष्य रहेको छ ।

त्यस्तै वाह्रदशी गाउँपालिका– ६मा रहेको कञ्चनगढधाम साधुकुटी गौरीशंकर गायत्री स्वरुपाश्रममा पनि धार्मिक अनुष्ठान सञ्चालनमा रहेको छ । गत आइतबारबाट श्रीमद् आनन्द रामायण नवाह धान्याञ्चल बिराट ज्ञान महायज्ञ शुरु भएको हो । जहाँ झण्डै दुई लाख आन्तरिक तथा वाह्र पर्यटकको सहभागिता रहने बताइएको छ ।

सरकारले पर्यटन वर्ष घोषणा त गर्ने तर काम भने केही पनि नगर्ने भन्दै निजी क्षेत्रले आलोचना गरिरहँदा झापामा धार्मिक संस्थाले देखाएको अग्रसरताले सबैको ध्यान केन्द्रीत गरेको छ । अहिले जिल्लामा रहेका यि तीन वटा धार्मिक संस्थामा पर्यटकको चहल–पहल ह्वात्तै बढेको छ ।

थोरै मात्रै प्रचारप्रसार गरे पनि सताक्षीधाम, अर्जुनधारा र कञ्चननगढ धार्मिक संस्थामा आन्तरिक तथा वाह्य पर्यटकको आवागमनले झापाको पर्यटन क्षेत्रको विकासमा टेवा पुगेको बताइएको छ । अझ प्रचारप्रसारलाई तीब्रता दिँदै झापामा भएका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको देश तथा विदेशमा प्रचारप्रसार गर्न सके झापामा पर्यटन व्यवसाय फष्टाउने बताइएको छ ।

पर्यटकको रोजाइमा परेको अर्काे धार्मिक संस्था हो कोटीहोम । यहाँ पनि वर्षेनि झण्डै पाँच लाख भन्दा बढी पर्यटकको आवागमन हुन्छ । २०४२ सालमा कोटीहोम महायज्ञ गरिएको र अहिलेसम्म अविछिन्न प्रज्ज्वलित अग्नि कुण्डका कारण यहाँ पर्यटकको आवागमन हुने गरेको कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष नवलकिशोर दत्तले बताए ।

कन्काई धाम (कोटीहोम) पूर्वाकै महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम कनकाई नगरपालिका–४ भएर बग्ने प्रशिद्ध कन्काई नदी को पूर्वीय तटीय क्षेत्रमा अवस्थित छ । कन्काई धामलाई कनकाई धाम, कोटीहोम, माइधाम, माई आदि नामले पनि पुकार्ने गरिन्छ ।

नेपालका विभिन्न धार्मिक महत््वका नदीहरु जस्तै कन्काई नदीमा पनि धेरै वर्ष पहिलादेखि नै स्थानीय हिन्दू धर्मावलम्वी भक्तजनहरुद्वारा आस्थापूर्वक पूजा आराधना गर्ने प्रचलन रहिआएको छ । यसो गर्दा आफूले राखेको मनोकांक्षा पूरा हुन्छ भन्ने जन विश्वास रहँदै आएको छ । नेपालको आध्यात्मिक जगतका चर्चित व्यक्तित्व तथा नेपालका राष्ट्रगुरु योगी नरहरिनाथको विशेष अगुवाई तथा विभिन्न क्षेत्रका धार्मिक सन्त तथा समाजसेवीहरुको सक्रियतामा २०४२ सालको पुस महिना भर (एक महिनासम्म) विश्वकल्याण कोटीहोम महायज्ञ यसै क्षेत्रमा आयोजना गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

महायज्ञ सम्पन्न भए पश्चात यस स्थानमा महायज्ञ गरिएको अग्निलाई बचाई राख्न सोही यज्ञ कुण्डलाई यथावत राख्दै सो स्थानमा शिव पाञ्चायन मन्दिरको निर्माण गरिएको थियो (जुन मन्दिर हाल भव्य रुपमा पुनःनिर्माण गरिसकिएको छ) ।

योगी नरहरिनाथ आफैले उद्घाटन गरी एउटा संस्कृत विद्यालय समेत शुरु गरेको कनकाईमा अहिले पनि सो विद्यालय सञ्चालनमा छ । दाताहरुबाट धर्मशाला तथा मठ मन्दिरको निर्माण कार्यहरु हुन थाले पनि कोटीहोम क्षेत्रलाई औपचारिक रुपमा धामको रुपमा विकसित गर्नका लागि २०४७ सालमा समाजसेवी भक्तबहादुर खड्काको अध्यक्षतामा विधान बनाइ कन्काई धाम धार्मिक विकाश सस्था कोटीहोम (छोटकरीमा कोटीहोम संस्था पनि भनिन्छ) नामक सस्थाको विधिवत गठन गरी दर्ता गरिएको थियो ।

सोही संस्थाको मातहतमा हालसम्म यस स्थानको विकास निर्माण सम्पादन, समन्वय, संचालन तथा संरक्षणका कार्यहरु हुँदै आएका छन् । कनकाई धाम (कोटीहोम) मा दर्जनौ मठ, मन्दिर, धर्मशाला, पाटी पौवा, निर्मित तथा निर्माणाधीन छन् भने भने विभिन्न धर्म सम्प्रदायहरु जस्तैः बौद्ध मार्गिको गुम्वा, निम्वार्ग, कबिर, प्रणामी, साइराम, आर्य समाज आदिका आ–आफ्नै अश्रमहरु र विभिन्न थर गोत्रीय बन्धु सस्थाका आ–आफ्नै मन्दिर तथा धर्मशालाहरू पनि रहेका छन् । यस ठाउँको प्रशिद्ध तथा मूल मन्दिरको रुपमा भने कोटीयज्ञेश्वर शिव पाञ्चायन मन्दिर (छोटकरीमा कोटीहोम मन्दिर) लाई मानिन्छ ।

कोटीहोममा योगी नरहरिनाथको शालिक

विश्व जागरण महा अभियान ट्रस काठमाडौंले झापाको कोटीहोममा योगी नरहरिनाथको शालिक हस्तान्तरण गरेको छ ।
गत वर्ष कोटीहोममा पुराणको आयोजना गरेर ट्रसका अध्यक्ष इश्वरकृष्ण महाराजजीले योगी नरहरिनाथको शालिक निर्माण गर्ने बताएका थिए ।

पाँच फिट अग्लो शालिक निर्माण गरेर शनिवार एक कार्यक्रमको आयोजना गर्दै कनकाई धाम धार्मिक विकास संस्थालाई शालिक हस्तान्तरण गरिएको छ । योगी नरहरीनाथको शालिक कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तान्तरण गरिएको थियो ।

कनकाई क्षेत्र धार्मिक रुपमा अग्रस्थानमा रहेको र कोटीहोममा योगी नरहरिनाथले महायज्ञ सञ्चालन गरेर यस क्षेत्रलाई धार्मिक पर्यटकको रुपमा विकास गरेकाले उनको सम्मान स्वरुप शालिक निर्माण गरेर हस्तान्तरण गरिएको ट्रष्टका अध्यक्ष महाराजजीले बताए ।

शालिक हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले धार्मिक क्षेत्रमा कनकाई नगरपालिका अग्रस्थानमा रहेको उल्लेख गरे । यस क्षेत्रको धार्मिक पर्यटन विकासका लागि महाराजजीले सहयोग पु¥याएको भन्दै यसले देश विदेशका पर्यटकलाई कनकाई नगरपालिका आउन उत्प्रेरित गर्ने बताए । धार्मिक संस्थाका अध्यक्ष नवलकिशोर दत्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शालिक निर्माण समितिका संयोजक दीननाथ खतिवडाले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव डिल्ली बाराकोटीले गरेका थिए ।

कोटीहोम क्षेत्रमा योगी नरहरिनाथको शालिक निर्माणका लागि कनकाई नगरपालिकाले गतआर्थिक वर्षमा आठ लाख रुपैयाँ र चालूआर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट बिनियोजन गरेर निर्माणका काम भइरहेको छ । कोटीहोम परिसरमाा ३५ फिट अग्लो कलश स्तम्भ निर्माण गरिने शालिक निर्माण समितिका संयोजक खतिवडाले बताए । यस क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि स्थानीय प्रदेश र केन्द्र सरकारसंग समन्वय गरेर अगाडि बढ्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *