September 21, 2026

सिलवाल दम्पत्तिले फलाए छतमै अग्र्यानिक तरकारी

0

के तपाईंको घर शहरमा छ र तरकारीबाली लगाउन जमिनको अभाव छ ? त्यसो हो भने कौसीमा तरकारी लगाउने अर्को विकल्प छ । शहरका पक्की घरको कौसीमा यसरी तरकारी लगाउने अभ्यास धेरैले गर्दै आएका छन् । उनीहरुको अनुभवले कौसीको खाली ठाउँको सदुपयोगबाट अग्र्यानिक तरकारी खेती गर्न सकिने सानो परिवारलाई वर्षभरि पु¥याउन सकिन्छ ।

शहरका तरकारी खेतीका लागि जग्गा जमिनको अभाव, तरकारीको बढ्दो मूल्यवृद्धि, विषादीयुक्त तरकारीको बिगबिगी भइरहेको सन्दर्भमा सिजन अनुसार कौसीमा उत्पादन गरेको तरकारीबाट फाइदा लिन सकिने देखिएको हो । कौसीमा तरकारी लगाउँदा एकातिर हरियालीले घरको सौन्दर्यता हुन्छ भने अर्कोतिर घरबाट उत्पादन हुने कुहिने फोहोरको पनि व्यवस्थापनमा पनि सहज हुन्छ ।

दैनिक भान्साबाट निस्किने फोहोरलाई कम्पोस्ट मल बनाएर तरकारी बालीका प्रयोग गर्न सकिन्छ । पछिल्लो समय झापामा कौसीमा सानो परिवारका लागि पुग्नेगरी तरकारी बाली लगाउन थालिएको छ । परम्परागत तरिकाले गरिएको कौसी खेतीमा थोरै नयाँ प्रविधिको प्रयोग गरिएमा यसबाट मनग्य फाइदा हुने बताइएको छ ।

झापाको बिर्तामोड नगरपालिकालाई अग्र्यानिक नगरको रुपमा विकास गर्ने नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको योजनालाई थप टेवा पु¥याउँदै आफूले उपभोग गर्ने तरकारी आफ्नै घरको छतमा फलाएर नगरलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने भन्दै बिर्तामोड–३ बिर्ताबजारका सिलवाल दम्पत्तिले घरको छतमा कौसी खेती गरिरहेका छन् । आफ्नो कौसीमा खुर्सानी, गोलभेँडा, भिन्डी, साग, फर्सी, बोडी लगायतका तरकारी लगाएर आफ्नो परिवारलाई वर्षभरि पुग्ने तरकारी उत्पादन गर्दै आएको मोहन सिलवालले बताए । उनले चार जनाको परिवारलाई कौसीमा फलेको ताजा तरकारीले पुग्ने गरेको बताउँदै आफ्नो छतको सदुपयोग हुनुका साथै स्वस्थ्य तरकारी खान पाएको उल्लेख गरे ।

कौसीमा मूला, खुसार्नी, बोडी, फर्सीका साथै इस्कुसको टुप्पा खानका लागि पनि राम्रा फस्टाउने गरेको मेनुका सिटौला(सिलवाल)ले बताइन् । उनले कौसीमा रोपेको सिमी वर्षभरि नै पुग्ने बताइन । बाहिरको भन्दा स्वस्थकर हुने भएकाले कौसीको तरकारी राम्रो हुने उनले भनाइ छ । मेनुकाले यसरी कौसीमा तरकारी लगाउन थालेको चार वर्ष भइसकेको छ । उनले भनिन्– ‘जाँगर भयो भने कौसीमा पनि तरकारी फलाउन सकिन्छ । कौसी खेतीको महत्व बढ्दै गएको छ । सबै जग्गामा घर बनिसके, रोप्ने ठाउँ छैन, अब कौसीमा खेती गरेर खाने ।’

झापाका सबैले आफ्नो छतको उपयोग गर्दै कौसी खेती गरेमा भारत तथा अन्य विभिन्न स्थानबाट आयात हुने आधाभन्दा धेरै तरकारीमा कमी आउने सिलवाल दम्पत्तिको भनाई छ । धेरै मेहनत गर्नुपर्दैन, बिहान–बेलुका फुर्सदको समयमा काम गरे हुन्छ भन्दै मेनुकाले भनिन्–बिहान र बेलुका खाली समय कौसीमा नै तरकारीमा पानी हाल्नेदेखि गोडमेल गर्दै समय बित्ने गरेको छ । सिजन अनुसारको तरकारी लगाउन मिल्ने तथा विभिन्न रोगको संक्रमण पनि नहुने तथा वर्षाको समयमा पानीले डुबाउला भन्ने चिन्ता पनि भएको मोहनको भनाई छ ।

माछा प्याकिङ गर्ने बाकसमा आँप बोट छ । त्यस्तै कागती फलेको छ भने अन्य विभिन्न फलफुलका बिरुवाहरु पनि प्रशस्त रहेको छ । बोरा, गमला, माछाको बाकस, सिमेन्टको बाकस, फलामको बाकस लगायतमा माटो हालेर उनले तरकारी लगाएका हुन् । हरेक वर्ष माटो र कम्पोस्ट मल परिवर्तन गर्ने गरेको बताए । मेहनत गरेर कौसीमा तरकारी लगाउने हो भने सानो परिवारका लागि बाहिर तरकारी किन्न नपर्ने उनले बताए । घरबाट निस्किने कुहिने फोहोरबाट कम्पोस्ट मल बनाएर तरकारीमा लगाउने गरेको सिलवाल दम्पत्तिको भनाई छ ।

कौसीमा तरकारी खेती व्यावसायिक रूपमा भन्दा पनि धेरैले फुर्सदको समय सदुपयोग गर्न सौखका रूपमा गरिरहेको पाइन्छ । माछाको बाकस, गमला, ड्रम, बोरा तथा प्वाल परेका बाल्टिन लगायतका सामग्रीमा कम्पोस्ट मल र माटो भरेर तरकारी लगाउन सकिन्छ । अहिले बजारमा कम्पोस्ट मल बनाउनका लागि कम्पोस्टबिन पनि पाइन्छ । त्यसमा दैनिक घरबाट निस्कने कुहिने फोहोर जम्मा गरेर कम्पोस्ट मल बनाउन सकिन्छ ।


सिलवाल दम्पत्तिले तरकारीबाट मात्रै मासिक रुपमा पाँच हजार रुपैयाँसम्म बचत हुने गरेको बताए । समयको बचतका साथै ताजा तरकारी खान पाइने भएकाले आफूहरुले घरको छतमाति कौसी खेती शुरु गरेको उनीहरुको छ । दिउँसो श्रीमान–श्रीमती नै ट्राभल एजेन्सीमा ब्यस्त हुन्छौं मोहनले भने– बिहान बेलुका र्फुसदको समयमा कौसीमा तरकारी लगाएका छौं यसमै ध्यान दिने गरेका छौं ।

घरको छतमाथि तरकारी खेती शुरु गरेपछि हालसम्म आलु, कोभी लगायतका तरकारी बाहेकका अन्य तरकारी बजारबाट किनेर ल्याउनु नपरेको मेनुकाको भनाई छ । स्वास्थ्य प्रति निकै सचेत देखिएका सिलवाल दम्पत्तिले घरको बरण्डामा समेत ढकमक्क फुलफुलाएका छन् । उनीहरु भन्छन्– खाली समयको सदुपयोग गरौं, आफ्नै घरको छतमा तरकारी खेती गरौं । आफ्नो घरमा आउने पाहुनालाई समेत कोशेली स्वरुप तरकारी दिनुका साथै कतै जानुपरेमा समेत तरकारी लिएर जाने गरेको बताए ।

इच्छाशक्ति भएमा आफ्नै घरमा पनि तरकारी फलाउँन सकिने भन्दै समय र कामको महत्व बुझेमा यसबाट धेरै फाइदा लिन सकिने उनीहरुको भनाई छ । पछिल्लो समय जनघात्व बढ्दै गएको बिर्तामोडमा नगरपालिकाले कौसी खेतीलाई प्रोत्सहान गर्न सकेमा भान्साबाट निस्कने फोहोरको ब्यवस्थापन हुनुका साथै ताजा र आर्गनिक तरकारी खान पाउने सिलवाल दम्पत्तिको विश्वास छ ।

प्रस्तुति : नरेन्द्र ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *