June 17, 2026

जनप्रतिनिधि र सरोकारवालासँग डेंगु रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया

0

काँकरभिट्टा,

१ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शुक्रबार झापाको मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग डेंगु रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

देशका विभिन्न भागमा भयावहरुपमा फैलिएको डेंगु नियन्त्रणका लागि स्थानीय स्तरबाटै प्रभावकारी काम गर्नुका लागि जनप्रतिनिधिहरुलाई रोगका लक्षण, बच्ने उपायका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । स्वास्थ्य निर्देशनालय धनकुटा प्रदेश नम्बर १ का निर्देशक चन्द्रदेव मेहताको अध्यक्षता तथा नगरप्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता र उपप्रमुख मीना पोखरेल उप्रेतीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

सामाजिक विकास मन्त्रालयका डाक्टर सरोजप्रसाद विशालले सहजीकरण गरेको अन्तरक्रियामा स्थानीयले आफ्ना घर वरपर सफा राख्ने, भाडा कुडामा पानी जम्न नदिने हो भने मात्रै पनि डेंगु नियन्त्रण हुने बताउनुभयो ।

आफ्ना घरवरिपरी लामखुट्टे मार्ने औषधि छर्कन, शरीर पूरै ढाक्ने कपडा लगाए, झुल लगाएर सुत्न , लामखुट्टे भगाउने धुप प्रयोग गर्न, सरसफाईमा विशेष ध्यान दिन, पानी जम्मा गर्ने भाडाकुडामा कम्तिमा हप्तामा एकपटक सफा गर्नतथा घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्न समेत उहाँले सवैमा आग्रह गर्नुभयो ।

वितेको ५० वर्षमा डेंगु रोगको संक्रमण ३० गुणाले बढेको तथा विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेको र १ सय २८ भन्दा बढी मुलुकका ३ दशमलव ९ अर्व मानिसहरु यस रोगको जोखिम क्षेत्रमा बसोबास गर्न डाक्टर विशालले आफ्नो प्रस्तुतीमा सहभागीहरुलाई जानकारी गराउनुभयो ।

प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनका साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको तथा समयमै उपचार व्यवस्थापन गर्न सकिएमा मृत्युदरलाई २ प्रतिशत भन्दा कममा झार्न सकिने उहाँको भनाई थियो । उहाँले यसका लक्षण बच्ने उपायका बारेमा समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुधन कोइराला, स्वास्थ्य कार्यालय झापाका डेंगु रोगका फोकल पर्सन तथा भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईँलगायत १५ वटै वडाका जनप्रतिनधिहरु, स्वास्थ्यकर्मिहरुलगायतको सहभागिता थियो । सहभागी सवैलाई नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *