माछा अध्ययन स्रोतकेन्द्रका अभियन्ता बन्दै उपसचिव पाण्डे
नेपाली समाजमा उपसचिवसम्मको सरकारी जागिरे जीवनलाई निकै प्रतिष्ठाको रुपमा हेरिन्छ । यो स्तरसम्मको मानिसको बाँकी जीवन आरामसाथ बित्नुपर्ने नै हो । अझ नेपाली समाजमा सरकारी सेवाबाट निवृत्त व्यक्तिको गाउँको बास विरलै देख्न सकिन्छ ।
३०÷३५ वर्षसम्म नेपाल सरकारको अधिकृत स्तरदेखि मुख्य सचिवसम्मको ओहोदामा काम गरिसकेका राष्ट्रसेवकको निवृत्त जीवन गोठ, खेती र पाखापखेरामा बित्यो भनेको सुन्दा अनौठो लाग्छ । सरकारी सेवाको उच्च पदमा आसीन भइसकेका सरकारी कर्मचारीको सेवाकालीन सेवासुविधा, अतिरिक्त कमाई राम्रै हुन्छ । यो आमनेपाली सोचाई मात्र होइन, यथार्थ पनि हो ।

२०÷२५ वर्षे युवा झैंं नयाँ शक्ति सोच र ऊर्जाका साथ उदाहरणीय कार्यमा फर्केका यस्ता उदाहरण थोरै मात्र हाम्रासामु छन् । जागिर जीवनसँगै आफूले वर्षौंसम्म अनुभव गरेका कुरालाई आम नागरिकसामु साटासाट गर्ने र समाज रुपान्तरणको प्रेरणाको स्रोत उदाहरणका पात्र बनेका छन्– झापाका सेवानिवृत्त उपसचिव युवराज पाण्डे ।
पूर्र्वी पहाडी जिल्ला तेह्रथुमको तत्कालीन छातेढुंगा गाविसको ढोडेनीमा जन्मेका पाण्डेले ३७ वर्षको जागिरे जीवनमा उपसचिव पदबाट सेवानिवृत्त भएपछि एक सफल माछापालक किसान बन्ने र समाजलाई आत्मनिर्भरताको पाठ सिकाउने गुरु बनेका छन् उनी । हाल झापाको बिर्तामोड निवासी पाण्डेले २०३९ सालमा गौरादहस्थित भद्रकाली माविमा शिक्षण पेशा शुरु गरी जागिरे जीवनको यात्रा प्रारम्भ गरेका हुन् । २०५१ सालमा नेपाल सरकारको निजामति सेवातर्फ विद्यालय निरीक्षक पदमा नियुक्ति भएका उनी उपसचिव पदमा बढुवा भएपछि शैक्षिक तालिमकेन्द्र झापामा प्रमुख तथा जिल्ला शिक्षा कार्यालय भापामा उपसचिव पदमा कार्यरत हुँदा बिर्तामोड नगर शिक्षा प्रमुखसम्मको जिम्मेवारी वहन गर्दै ३७ वर्षे जागिरे जीवन व्यतित गरी २०७६ साल साउनदेखि सेवानिवृत्त भए ।
आखिर राज्यले बसी खान छुट्टी दिए पनि उनको युवा जोस र जाँगर माछापोखरीमा माछासँगै खेल्ने रहरमा परिणत भयो । उनको गोरेटो शिक्षक, विद्यालय निरीक्षक र उपसचिवदेखि सफल व्यवसायीसम्म आइपुग्यो । आफ्नो पैतृक सम्पत्ति र जीवनभरको कमाईमा जोडिएको अर्जुनधारा–५ लक्ष्मीपुरको तीन विगाह जग्गामा माछा फर्म खोलेका छन् । पूर्व–पश्चिम राजमार्गको लक्ष्मीपुरचोकबाट एक किमी उत्तरमा ‘चाँदनी बहुमुखि कृषि फर्म’को नाममा गत जेठदेखि सञ्चालनमा आएको फर्म निकट भविष्यमा माछा सम्बन्धी अध्ययन गर्ने स्रोतकेन्द्रका रुपमा विकास गरिने भएको छ ।
अहिले एक विगाहमा चार वटा पोखरीमध्ये एउटामा भुराको नर्सरी तयार गरिएको छ । निर्मल पोखरीमा शाकाहारी वर्गका पंगास, कार्प, रोहु, नैनी, कमनकार्प, ग्रासकार्प र सिल्भरकार्प जातका माछा पौडी खेलिरहेका छन् । अहिले माछा पोखरीमा एरोएटर अक्सीजन प्रवाह गर्ने प्रणाली जडान गरिएको छ । जसले पोखरीमा माछालाई स्वासप्रश्वास प्रणालीमा सहज हुनेछ । जेठमा छोडिएको भुराले चार महिनापछि यही असोजको आन्तरिक उत्पादन दिने भएको छ । आगामी हिउँदमा छ वटा पोखरी निर्माण गरिने लक्ष्य रहेकोमा दुई वटामा भुरावृद्धि नर्सरी बनाइने छ भने सात वटा पोखरीमा माछा उत्पादन गरिने छ ।
माछा पोखरीको वरिपरी ३० फिटको सडक निर्माण गरी विभिन्न जातका फलफूलका बिरुवा तथा तरकारी खेती गरिएको छ । यसले माछा फर्मलाई हरियाली बगैंचाभित्रको मनोरम दृश्यावलोकनको स्थल समेत निर्माण गरेको छ । यस अतिरिक्त फर्मको पश्चिमतिर सुविधासम्पन्न रेष्टुरेण्ट निर्माणाधीन अवस्थामा रहेको छ । फर्मको विशेषता भनेको यो व्यवसायिक मात्र नभई शैक्षिक म्युजियम समेत बन्ने भएको छ । यस फर्मलाई भविष्यमा माछा सम्बन्धी अध्ययन, अवलोकन र प्रयोगशालाको रुपमा समेत विकास गरिने लक्ष्य राखिएको छ । नेपालका धेरै माछा उत्पादन केन्द्र भए पनि सबै व्यवसायिक मात्र छन् र माछा सम्बन्धी अध्ययन गर्ने विज्ञ उत्पादन हुन सकेका छैनन् । त्यसैले चाँदनी कृषि फर्म मुलुकको प्राविधिक शिक्षाको लाािग स्रोतकेन्द्र बन्न सक्ने दाबी पाण्डेले गरेका छन् । ‘नेपालमा प्रसस्तै अनुसन्धान केन्द्र छन्, तर एकाडेमिक अध्ययन केन्द्र छैनन्, यो अभावलाई चाँदनी कृषि फर्मले पूरा गर्ने लक्ष्य राखेको छ’ –सञ्चालक पाण्डे भन्छन् ।
उनले माछा सम्बन्धी अध्ययन नगरे पनि तीन दशकको जागिरे जीवनमा धेरै समय किसानसँगै बढी सम्पर्क भएकोले व्यवहारिक ज्ञान हासिल गरेको र कतिपय इन्टरनेटको सहायताले सिकेको बताउँछन् उनी । नेपालमा माछापालक किसानले सामान्य तालिम लिए पनि एकाडेमिक ज्ञान नभएकोले धेरै समस्या झेल्नु परेको ठम्याई उनको छ । यो फर्म आम वेरोजगार युवाको लागि मार्गदर्शक हुने उनले विश्वास लिएका छन् । बैंकिङ स्रोतले व्यवसाय शुरु गरेका पाण्डेले पाँच–पाँच कठ्ठा बराबरको तीन वटा पोखरीबाट पहिलो लटमा एकलाख केजी उत्पादन हुने बताएका छन् ।
लक्ष्मीपुर–मदनपुर सडकखण्डमा पर्ने यस फर्मले पछि परेका ग्रामीण समुदायलाई केही गर्नुपर्छ भन्ने भावनाको सञ्चारमात्र गराएको छैन, वातावरणीय र पर्यावरणीय क्षेत्र तथा पर्यटकीय र आर्थिक पक्षलाई समेत राम्ररी सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ । यो कृषि फर्म ग्रामीण क्षेत्रको विकास र समृद्धिको कोषेढुंगा सावित भएको छ । व्यवसायले मानिसलाई सानो ठूलोको भेदभाव राख्दैन । बरु यसले आम मानिसलाई समृद्धिको गोरेटोमा अघि बढाउन सकिन्छ भन्ने सवक सिकाएको छ । यस्तो उद्यमी र व्यवसायीलाई स्थानीय सरकारले पनि सकेसम्म आत्मवल बनाउने कोशिस गर्ने हो भने गाउँ–शहर सम्बन्ध तथा अविकास हटाउने कुरामा विश्वास गर्न सकिन्छ ।
प्रस्तुति : पूर्णबहादुर कटुवाल
