May 2, 2026

ग्राहक ‘यता’ ल्याउने कार्यक्रम ल्याऊ

0

‘दशैं आयो–खाउँला पिउँला’ यो नेपाली समाजमा परम्परा जस्तै बनिएको गीत हो । लयमा भनिएकाले गीत भनिएको यसको सार हो– दशैं मीठो खाने र राम्रो लगाउने चाड हो । नेपाली समाजमा चाडपर्वहरु मध्येको ठूलो मानिन्छ दशैंलाईं । दशैं परम्परामा दुर्गा भवानीको नौ दिनसम्म पूजा–आराधना गरी शक्ति र न्याय वरदानका रुपमा प्राप्त गर्ने चाड थियो । तर अहिले दशैं मनोरञ्जन बढी र पद्धति कम हुने पर्व भएको छ ।अनि पनि दशैं सुख, योग, पुनर्मिलन, श्रद्धाका साथै मीठो खाने र राम्रो लाउने पर्व नै रहेको छ । त्यसैले नेपालीमध्ये पनि पहाडी मूलका लागि दशैं दीर्घ प्रतिक्षाको चाड नै छ आज पर्यन्त ।

जब–जब चाडपर्वहरुको समय शुरु हुन्छ तब–तब हाम्रा बजारहरुमा किनमेल गर्नेहरुको घुइँचो रहन्छ । यो घुइँचो उपभोग्य वस्तु खरिद गर्नेहरुको हो । त्यसैले हाट–बजारहरु भिडभाड हुन्छन्, बिक्रेताहरु यही चाडलाई लक्षित गरेर थप उत्साह र रौनकसहित आम्दानी गर्ने अपेक्षामा बस्छन् । आज बजारमा भिडभाड छ तर खरिद बिक्री छैन –भन्छन् बिक्रेता । जनसंख्या र घनत्व बढेको छ, आवश्यकता थपिएका छन् । तर, उपभोक्ता सीमावर्ती भारतीय बजारमा निर्भर छन् । जसका कारण भारतीय बजारमा दिनहुँ करोडौंको कारोबार हुन्छ, तर नेपाली बजार भने सुनसान र चकमन्न।
आवश्यकता असीमित हुन्छ । अर्थशास्त्रको सिद्धान्तले पनि स्वीकार गरेको यो सत्यले साधनको सीमिततालाई पनि स्वीकार गरेको छ । नेपालीको शिर ऋणको भारतले थिचिएको छ, परनिर्भरता बढ्दै छ ।

स्वावलम्वन इतिहासको पुस्तकको कुनै पानामा कैदी जस्तै भएको छ । उपभोग गरिने कुनै वस्तुमा आत्मनिर्भरता छैन । जसका कारण बाह्य बजारतर्फ आकर्षित हुनैपर्छ । यस्तोमा सरकारको गलत नीति र दूरदृष्टिको अभावमा नेपाली बजार नेपालीको पहुँचभन्दा टाडा छ । आयातमा लगाइएको करको भारले बजार मूल्य आकाशिएको छ । विक्रेताहरुले वस्तुको खुद मूल्य, भन्सार, स्थानीय तहका करहरु, घरभाडा तथा महशुल र लगानीको प्रतिफल जोडेर निर्धारण गर्दा नेपाली उपभोक्ताको हैसियतभन्दा बढी हुने कारणले सीमावर्ती बासिन्दा भारतीय बजार पुग्छन् । परिणाम ‘मेला यता र ग्राहक उता’को स्थिति छ ।

जो कोही उपभोक्ता सस्तोमा उपभोग्य वस्तु किन्न चाहन्छ । विक्रेता बढी नाफा कमाउने मानसिकतामा रहन्छ । यस्तोमा स्वतन्त्र उपभोक्ता आफ्नो पहुँच र क्षमता अनुसार प्रतिष्पर्धी बजारमा वस्तु छानेर, तौलेर र तुलना गरेर खरिद गर्छन् जो स्वभाविक नै हो । हामी कृषि वस्तुमा समेत पराधीन छौं । कृषि प्रधान भनिए पनि कुनै एउटा वस्तु मात्रै पनि हाम्रा आवश्यकता पूरा गर्ने छैन ।

अझ आधारभूत आवश्यकताका वस्तु उत्पादन गर्ने कलकारखाना उद्योग धन्दा छैन बराबरको अवस्था छ । सरकारले आयात निरुत्साहित गर्ने नीति, योजना र कार्यक्रम ल्याउन नसकेसम्म ‘उता’ जाने ग्राहकलाई रोक्नै सकिँन्न । त्यही अवस्था रहेसम्म न नेपाली बजारको आकर्षण बढ्छ न त व्यापारीलाई रोक्नै सकिन्छ । त्यसकारण ‘उता’ र ‘यता’ को बजारका बीच सन्तुलन कायम गर्ने योजना सरकारले ल्याउनु पर्दछ । अन्यथा, यो असाध्य रोग हो, जसको निदान नै छैन र हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *