June 14, 2026

गृहकार्य पुगेन भनेपछि नेकपा सचिवालय बैठक स्थगित

0

काठमाडौं,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। मन्त्री र सांसद् रहेका केन्द्रीय सदस्यहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने विवादको निरूपण नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

‘दुवै अध्यक्षले एकै स्वरमा गृहकार्य पुगेन भन्नुभयो’, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने, ‘दुवै अध्यक्षले गृहकार्य नपुगेको भनेर बालुवाटारमा पुगेका हामीलाई फर्काउनुभयो।’ प्रवक्ता श्रेष्ठका अनुसार मापदण्ड बनाउने विषयमा गृहकार्य नभएको स्पष्टिकरण सचिवालय सदस्यहरुलाई दिएका थिए ।

के हो विवाद ?

पार्टी एकता भएको एक वर्ष बितिसक्दा पनि नेकपाले कार्यविभाजनको टुंगो लगाउन सकेको छैन। पोलिटब्युरो सदस्य चयन, केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहितका काम अझै बाँकी छन्।

नेकपा भित्र खासगरी दोहोरो जिम्मेवारीलाई लिएर विवाद चल्दै आएको छ। नेकपाभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र उनीनिकट नेताहरुले दोहोरो जिम्मेवारीलाई लिएर आपत्ति जनाउँदै आएका छन्। नेता नेपालले मुख्यमन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिँदा पनि आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो पटक पनि सांसद् र मन्त्रीहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिन खोजेपछि नेता नेपालले कडा आपत्ति जनाएका थिए । उनले अन्य नेताले बेरोजगार भएर बसिरहँदा सांसद् र मन्त्रीलाई कुनै हालतमा दोहोरो जिम्मेवारी अर्थात् जिल्ला इन्चार्ज र सहइन्चार्ज बनाउन नहुने अडान राखेपछि सचिवालय बैठक अनिर्णित भएको हो।

दोहोरो जिम्मेवारीबारेमा असन्तुष्ट नेता नेपाललाई पनि सहमतिमा ल्याएर जिल्ला इन्चार्ज र सह-इन्चार्ज तोक्ने रणनीति अनुसार दुवै अध्यक्षले आजको बैठक रोकेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *