June 13, 2026

पत्रकारलाई इटहरीका मेयरको धम्की : तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु

0

काठमाडौं,

प्रश्न सोध्दा पत्रकार कृष्ण बहाव भट्टराईलाई लोपारेर आलोचित इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले अर्का पत्रकारलाई धम्की दिएका छन्। मेयर चौधरीले पत्रकार विराट अनुपमको नाकको हड्डी भाँचिदिने धम्की दिएका हुन् ।

फोनमा कुराकानी गर्ने क्रममा चौधरीले यसरी धम्की दिएका हुन्। ‘तिम्रो नाक भाँच्न एक करोड रुपैयाँ छुट्याइएको छु’, फोनमा धम्की दिँदै चौधरीले भनेका छन्। अनुपमले फेसबुकमा राखेको एउटा पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर मेयर आफैँले कमेन्ट गरेका थिए। उनले किन यस्तो भन्‍नुभएको भनेर फोन गर्दा ‘अब तिम्रो नाकको हड्डी भाँच्छु, अनि मात्र मलाई शान्ति हुन्छ’ भन्दै धम्की दिएका हुन्।

कर्मचारी कुटेपछि पत्रकारलाई लोपारेर उनी स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं हिँडेका थिए। काठमाडौंमै रहेका उनले उपमहानगरको कमजोरीबारे टिप्पणी गर्ने पत्रकारमाथि फेसबुकबाटै जाइ लाग्न थालेका हुन्। अनुपमलाई फोनबाट धम्की दिनुअघि उनकै फेसबुक पोस्टमा ‘अब तेरो पालो’ भन्दै चौधरीले धम्की दिएका थिए ।

पत्रकारालाई धम्की दिएकोबारेमा चौधरीलाई उनले प्रयोग गर्ने दुवै मोबाइल नम्बरमा सम्पर्क गर्दा ‘यो नम्बर अहिले उपलब्ध छैन’ भन्‍ने सन्देश आएको छ। पटक पटक प्रयास गर्दा पनि मेयर चौधरीका दुवै मोबाइल नम्बरमा सम्पर्क हुन सकेन।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *