September 13, 2026

महाकालीमा पुलको काम ३५ प्रतिशत सम्पन्न

0

भीमदत्तनगर।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिएको छ । हालसम्म उक्त पुलको ३५ प्रतिशत काम सम्पन्न भएको छ ।

चार लेनको पुलसँगै ६ लेनको सडक तथा पहुँच मार्गमा स–साना पुलहरु धमाधम निर्माण भइरहेका छन् । केही समय मुआब्जा विवादका कारण पहुँच मार्ग निर्माणमा अवरोध भए पनि उक्त विवाद टुङ्गिएसँगै निर्माण कम्पनीले सडक निर्माण तीव्र रुपमा गरिरहेको छ । महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका इञ्जिनीयर शुलभ न्यौपानेले नदीमा समय समयमा पानीको मात्रा घटबढ हुँदा पुल निर्माणमा बाधा पुग्ने गरेको बताउनुभयो ।

“पुलको ३० मुख्य पिल्लरमध्ये १२ वटाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, इञ्जिनीयर न्यौपानेले भन्नुभयो, “गड्डाचौकी र भुजेला खोलाका बन्ने पहुँच मार्गका दुई पुल पनि निर्माणको अन्तिम चरणमा छन् ।” आठ सय मिटर लम्बाइको चार लेनको पुल निर्माण भए महाकाली पारीको दोधारा–चादँनीलाई जोड्ने छ । रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारको लागतमा निर्माण भइरहेको पुल तीन वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । पुल निर्माणको शुरुआतमा केही समस्या भएका कारण निर्माणको अविधी थप हुन सक्ने सम्भावना छ ।

कञ्चनपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले महाकाली नदीको पुललाई सुदूरपश्चिम प्रदेशको विकासको ढोकाको रुपमा हेरिएको बताउनुभयो । “पुल निर्माण भए पछि भारतीय औद्योगिक क्षेत्रसँग सहकार्य बढ्नेछ”, उहाँले भन्नुभयो, “व्यापारिक नाकाका रुपमा विकास गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुन धेरै समय लाग्दैन ।”

पुल बनेपछि भारतको पञ्जाव, हरियाणा, दिल्ली, उत्तरप्रदेशलगायत राज्यसँग सहकार्य गर्न मद्दत पुग्ने अध्यक्ष मल्ल बताउनुहुन्छ । सहज रूपमा वस्तु आयात–निर्यात गर्न सहज हुनेछ । पुल निर्माण ‘कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफसी)को संयुक्त सहकार्यमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *