September 16, 2026

खाद्य सामग्रीको प्रयोगमा सावधानी अपनाउन आग्रह

0

       बिर्तामोड। बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले खाद्य सामग्रीमा सामान्य सावधानी मात्रै अपनाए विषादिको मात्रा…

बिर्तामोड।

बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले खाद्य सामग्रीमा सामान्य सावधानी मात्रै अपनाए विषादिको मात्रा घटाउन सकिने बताएका छन् ।

बिर्तामोडमा आयोजित उपभोक्ता अधिकार तथा स्थानीय बजार व्यवस्थापन सम्बन्धी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारीले एक लिटर पानीमा एक चम्चाका दरले आयोनुन राखी आधा घण्टा डुबाएर खाए फलफूल र सागसब्जीमा भएको विषादिको ७० प्रतिशत अवशेष हट्ने बताए । नेपाल सरकार संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम मार्फत गरिएको एक अनुसन्धानबाट त्यस्तो तथ्य आएको उनले जानकारी दिए ।

यसअघि घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको बजार अनुगमनको जिम्मेवारी समेत आगामी आर्थिक वर्षदेखि स्थानीय निकायलाई प्राप्त हुने बताउँदै भण्डारीले स्रोत, साधन र दक्ष जनशक्तिको अभावका कारण बजार अनुगमन चुनौतिपूर्ण रहेको बताए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि ध्रुवकुमार शिवाकोटीले बिर्तामोड नगरपालिकाले विषादिमुक्त नगर बनाउन पहल थालेको बताउँदै अधिकारको समुचित बाँडफाँडले मात्रै लोकतन्त्रको प्रत्याभूति हुने बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श प्रदेश नं. १ का अध्यक्ष राजेन्द्र घिमिरेले कार्यान्वयन पक्ष हेरेर मात्रै नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. १० का अध्यक्ष दूर्योधन गुरुङ, कर्मचारी देवराज कार्कीलगायतले मन्तव्य राखेका थिए । पवित्रा पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन काजी दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *