September 15, 2026

महिला कुवेत लान खोज्ने तीन पक्राउ

0

      भद्रपुर। नेपाली महिलालाई भारत हुँदै कुवेत पठाउन लागेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका…

भद्रपुर।

नेपाली महिलालाई भारत हुँदै कुवेत पठाउन लागेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर–४ ज्ञानेचोक बस्ने ३१ बर्षीय मंगलसिंह लिम्बू, सोही वडाका फागुचोक बस्ने ३० बर्षीया मीना थापामगर र मेचीनगर–१५ प्रगति टोल बस्ने ४५ बर्षीय मुलुकचन्द राजवंशी रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार मोरङका दुई र झापाका एक गरी तीन जना महिलालाई साना हातहरु नेपाल नामक संस्थाका कर्मचारीले उद्धार गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएका थिए । २२देखि ३५ बर्ष उमेर समूहका तीनै जना महिला विवाहित हुन् । उद्धार गरिएका महिलाहरुका साथबाट तीन वटा पासपोर्ट बरामद गरिएको डीएसपी थापाले जानकारी दिए ।

‘काँकडभिट्टा–पानीट्यांकी नाकाबाट ६ जना भारततर्फ गइरहेका थिए’– साना हातका भद्रपुर स्टेशन म्यानेजर विक्रम वाग्लेले भने– ‘सीमा क्षेत्रमा तैनाथ कर्मचारीले सोधपुछ गर्दा बैदेशिक रोजगारीका लागि भारत जान लागेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएका हौं ।’

यता उद्धार गरिएका तीनै जना महिलालाई उनीहरुको परिवारजनलाई जिम्मा लगाइसकेको जनाइएको छ । उनीहरुलाई मानव बेचविखन तथा ओसारपोसर सम्बन्धी मुद्दा सोमबार अदालतमा दर्ता गराइ थप अनुसन्धान गरिरहेको डीएसपी थापाको भनाइ छ ।

महिला भारत हुँदै तेस्रो मुलुक पठाउने गिरोहका तीन जना पक्राउ परेपनि उनीहरुको मुख्य योजनाकार अझै पक्राउ परेका छैनन् । प्रहरीले योजनाकारहरुको खोजी कार्य तीव्र पारेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *