June 19, 2026

व्यक्तिगत रिसइबीमा सार्वजनिक बाटोमा पर्खाल

0

      झापा। झापाको अर्जुनधारा–९ देवर्षि टोलमा २०३१ सालबाट सञ्चालनमा रहेको बाटो केही व्यक्तिले रिसइबीका कारण बन्द…

झापा।

झापाको अर्जुनधारा–९ देवर्षि टोलमा २०३१ सालबाट सञ्चालनमा रहेको बाटो केही व्यक्तिले रिसइबीका कारण बन्द गर्दा स्थानीय समस्यामा परेको बताइएको छ ।

०३१ सालबाट सञ्चालनमा रहे पनि स्थानीय इन्द्रसिंह बस्नेत, हेम बस्नेत पूर्ण बस्नेत र खड्ग सापकोटाले गत वर्षदेखि बन्द गरेका कारण आफूहरुलाई आवतजावतमा समस्या भएको स्थानीयको भनाइ छ ।

सोही ठाँउ निवासी अम्बर कार्कीसंग जग्गा विवाद भएपछि मुद्दा चलिरहेको र अनावश्यक रुपमा विवाद खडा गरेर सञ्चालनमा रहेको बाटो बन्द गरेर आफूलाई दुःख दिएको कार्कीले बताए ।

उनले न्यायका लागि पटक–पटक वडा कार्यालय र नगरपालिकालाई जानकारी गराए पनि सम्बन्धित निकायले बाटो खुलाउन कुनै चासो नदिएको कार्कीले गुनासो गरे । यसैबीच मानवअधिकार सञ्जालले उक्त घटनाप्रति चासो ब्यक्त गरेको छ । सञ्जालका झापा अध्यक्ष विष्णु खरेलले स्थलगत रुपमा अध्ययन गरेको र बाटो बन्द गर्नु गैरकानूनी काम भएको बताएका छन् ।

बाटो बन्दका कारण प्रभावित भएका १९ परिवारका स्थानीयसहित सञ्जालले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खरेलले न्याय सम्पादन गर्ने निकायले गैरजिम्मेवारीपन देखाएको आरोप लगाए ।

त्यस्तै स्थानीय सामाजिक अगुवा सागर ढकालले बाटो बन्द गर्नु अमानवीय व्यवहार भएको भन्दै कार्की र बस्नेत परिवारको मुद्दाको विषयलाई लिएर सार्वजनिक बाटो अवरोध गर्न नहुने बताए । चुनावका समयमा स्थानीय तहका नेताहरु भोट माग्दै सोही बाटो हिँडे पनि अहिले बाटो खुलाउन कुनै पहल गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै शान्ति समिति अर्जुनधाराका पूर्व संयोजक समेत रहेका केदारमान बस्नेतले दुई परिवारको जग्गा विवादले सार्वजनिक बाटो बन्द गर्नु गलत भएको बताएका छन् ।

उनले बाटो खुलाउने विषयमा सरोकारबाला निकायले चासो नदिएमा बाटो बन्द गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउनु पर्ने बताए । त्यस्तै स्थानीय दुर्गा ढकालले बाटो तत्काल खोल्ने विषयमा स्थानीय तह, राजनीतिक दल र मानव अधिकारवादी संघ–संस्थालाई पहल गरिदिन अनुरोध गरेका छन् ।

यसैबीच उक्त स्थानमा बाटो नभएको भन्दै बन्द गरिरहेको अवस्थामा वडा कार्यालयले भने बाटोसहितको चार किल्ला गरेको फेला परेको छ । वडाध्यक्ष पुष्पकुमार प्रसाईंले बाटो अवरोध भएको विषय थाह भएको बताएका छन् । बाटो अवरोधको विषयमा जानकार रहे पनि खुलाउने विषयमा भने वडाध्यक्षले चासो नदिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *