September 13, 2026

प्रम ओली झापा आउनेभएपछि विप्लव माओवादीद्धारा शुक्रबार बन्दको आह्वान

0

       बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टीले शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी…

बिर्तामोड ।

नेपाल कम्युनिस्ट पार्टीले शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको हो ।

सरकारले नेकपा माथि प्रतिबन्ध लगाएपछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो । नेकपा झापाका सेक्रेटरी सुमनसिंहले बिज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय निर्णय अनुसार नै झापा बन्दको आह्वान गरिएकाले सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ, ‘केपी–बादल सरकारको जनदमन, जनहत्या र हाम्रो पार्टीमाथिको प्रतिबन्धको बिरोध स्वरुप एक दिन झापा जिल्लाका सबै उद्योग,कलकारखाना, शिक्षण संस्था, बिभिन्न कार्यलय र संस्थानहरु बन्द गरिदिन र ओली सहभागी कार्यक्रम बहिस्कार गरि सामाजिक फासिवादी सरकारलाई प्रतिबन्ध लगाउन अपिल गर्दछौ।’

नेकपामाथि गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीका महासचिव विप्लवले पनि प्रधानमन्त्री ओली जाने सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने घोषणासहित कार्यकर्तालाई निर्देशन दिएका थिए । साथै झापा सेक्रेटरी सुमनले भोजपुरका जिल्ला स्तरीय नेता तीर्थराज घिमिरेलेको प्रहरीले हत्या गरेको भन्दै भत्सना समेत गरेका छन् ।

बन्दको अवज्ञा नगर्न आग्रह गर्दै सुमनले अवज्ञा गरेमा जस्तो सुकै कारबार्ही गर्ने चेतावनी दिएका छन् । विप्लव माओवादीले ओली सहभागि कार्यक्रममा कसैलाई नजान आग्रह गरेको छ । यसैबीच विप्लव माओवादीले बन्दको आह्वान गरेपछि प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *