September 16, 2026

नेपाल खुला दिसामुक्त हुँदै

0

       झापा। देशलाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ६४ वटा…

झापा।

देशलाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

६४ वटा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको सरकारले आउँदो असारभित्रमा देशलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । बाँकी रहेका १३ वटा जिल्लामध्ये ४ वटा जिल्लामा तयारी पूरा भइसकेको र ९ वटा जिल्लामा पनि कामलाई तीव्रता दिइएको खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले बताए ।

देशका कूल ५३ लाख ५७ हजार ६१५ घरधुरीमध्ये ५३ लाख १८ हजार १७५ घरमा चर्पी बनाइसकेको खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्याङ्क छ । बाँकी रहेका ३९ हजार ४ सय ४० घरमा चर्पी बनाएर देशलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सचिव शर्माले बताए । उनले भने– ‘घर बनाउन भन्दा फिनिसिङ गर्न बढी जटिल भएजस्तै अहिले अन्तिम चरणका जटिलताहरु हल गर्दैछौं, चाँडै काम पूरा हुन्छ र असार नलाग्दै देशलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिनेछ ।’

४ सय ४२ गाउँपालिका, २ सय ७१ नगरपालिका, ६४ जिल्ला र ३ वटा प्रदेश खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् । अब १८ वटा गाउँपालिका, काठमाण्डौ महानगरपालिकासहित २२ वटा नगरपालिका, देशको संघीय राजधानी काठमाडौसहित १३ वटा जिल्ला र ४ वटा प्रदेश खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका छन् ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी जिल्लाहरुमा दोलखा, काभ्रे, काठमाडौ, सिन्धुपाल्चोक, कपिलवस्तु, पर्सा, महोत्तरी, धनुषा, मोरङ, सर्लाही, बारा भोजपुर र सोलुखुम्बु रहेका छन् । यीमध्ये दोलखा र काभ्रेमा तयारी पूरा भइसकेकोले यही हप्तामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने खानेपानी तथा ढल व्यवस्थापन बिभाग अन्तर्गत फोहोर व्यवस्थापन तथा वातावारण सरसफाई शाखाका प्रमुख इञ्जिनियर देवेन्द्रकुमार झाले बताए ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नेपाल खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको र त्यसपछि पूर्ण सरसफाईको प्रस्थान बिन्दुमा प्रवेश गर्ने बताएका छन् ।

उनले खुला दिसामुक्त घोषणा भनेको दिसा छोप्ने काम मात्र भएकाले ढल व्यवस्थापन, चर्पीको प्रयोग, सुरक्षित खानेपानीको मात्र प्रयोग, खानेपानीको सुरक्षित भण्डारण, सुरक्षित खानेकुरा, व्यक्तिगत सरसफाई, महिनावारी स्वच्छता तथा वातावरणीय सरसफाईका कुराहरु पूर्ण सरसफाई अभियानले समेट्ने बताए । आगामी साउन महिनाबाट पूर्ण सरसफाई अभियान शुरु हुने पनि सचिव शर्माले बताए ।

अहिले हामी समृद्धिको चर्को नारामा रमाइरहेका छौं । स्मार्ट गाउँ, शहर, प्रविधिको उच्चतम प्रयोग, रेल, पानीजहाज जस्ता विषय अहिले हाम्रा जल्दाबल्दा सपना हुन् । तर, यो भुल्नु हुन्न कि यी सबैभन्दा पहिले सफा व्यक्ति, सफा घर, सफा टोल, सफा गाउँ र शहर, अनि सफा देश हाम्रा प्राथमिकता हुन् । रोग लागिसकेपछि हजारौं खर्च गर्ने हामीहरु फोहोर रोक्न थोरै लगानी गर्न पनि डराइरहेका छौं ।

चाहे सरकार वा व्यक्ति सरसफाईको विषयमा कुरा र काम गर्न पछि छौं । अझ चर्पीको प्रयोग त अपरिहार्य छ । दिसाकै कारण थुप्रै रोगले आक्रमण गर्ने तथ्यसँगै हाम्रो सभ्यता मापनको आधार पनि यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *