September 16, 2026

भगवतीको १७औं वार्षिकोत्सव

0

       सुरुङ्गा। कनकाई–५स्थित भगवती आधारभूत विद्यालय चप्रामारीको १७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ…

सुरुङ्गा।

कनकाई–५स्थित भगवती आधारभूत विद्यालय चप्रामारीको १७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद पाठकको अध्यक्षता तथा झापा क्षेत्र नं. ४का प्रतिनिधिसभा सदस्य एल.पी. साँवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षासेवी बद्री ओलीलाई विशेष सम्मान गरिएको थियो ।

४२ वर्ष शिक्षा क्षेत्रमा काम गरी हाल सेवानिवृत्त जीवन बिताइरहेका ओलीले पोखरी मावि तेह्रथुम र कालीस्थान मावि शनिश्चरेमा गरी २२ वर्ष प्रधानाध्यापकको रुपमा काम गरेका थिए । शिक्षकको हकहितमा काम गरेकाले पञ्चायतकालमा उनले ३ वर्षभन्दा बढी जेल जीवन बिताउनु परेको थियो ।

कार्यक्रममा विद्यालयमा सरस्वती मन्दिर स्थापना गर्ने दाता लीलादेवी प्रसाई, ज्येष्ठ नागरिक पवित्रा चिमरिया (८९) र विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य पुण्यप्रसाद ओझालाई सम्मान गरिएको थियो । त्यसैगरी वर्ष उत्कृष्ट शिक्षक रामकुमार पाठकलाई नगद पाँच हजार एक सयसहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयमा निजी दरबन्दीमा काम गर्ने शिक्षकहरु निरपति दर्जीलाई २४ हजार, धनमाया श्रेष्ठ १२ हजार, अम्बिका कटुवाललाई १२ हजार र गंगाप्रसाद गजमेरलाई १२ हजार नगद प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।

सो कार्यक्रममा कृष्णलाल संग्रौला स्मृति अक्षयकोष, दिव्यसरा पाठक अक्षयकोष र शशिधर उप्रेती अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा समाजसेवी मिनाल तिम्सिनाले ३ सय ५० थान कापी र स्थानीय तारा ओलीबाट नयाँ भर्ना भएका नर्सरी, १ र २ का ३० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको थियो ।

सो अवसरमा अन्तरविद्यालय लोक गायन प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगितामा भृकुटी मावि दुर्गापुर प्रथम, सिंहदेवी आधारभूत विद्यालय टेक्रा द्वितीय, भगवती आधारभूत विद्यालय चप्रामारी तृतीय तथा विद्योदय अंग्रेजी मावि चप्रामारी र भृकुटी आधारभूत विद्यालय शरणामती सान्त्वना भएका थिए । सो प्रतियोगितामा दिलिपकुमार खतिवडा, खड्गप्रसाद प्रसाई र प्रेम प्रभातले निर्णायकको भूमिका निभाएका थिए ।

कनकाई नगरपालिकाका उपमेयर मञ्जु प्रसाई, वार्ड नं. ५का वार्ड अध्यक्ष कृष्णबहादुर राई, कृष्णलाल संग्रौला स्मृति अक्षयकोषका सञ्चालक टेकनारायण संग्रौला, स्नातकोत्तर क्याम्पस बिराटनगरका सहप्राध्यापक डा. डिल्लीराम प्रसाई लगायतको आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, सम्मानित व्यक्तित्व बद्री ओली लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद बिमलीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यार्थी वर्षा श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक रामकुमार पाठकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *