September 15, 2026

चिया उत्पादक संघका अध्यक्षको घर घेराउ

0

       भद्रपुर। चिया मजदुरले नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलको घरसहित निजी कार्यालय घेराउ…

भद्रपुर।

चिया मजदुरले नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलको घरसहित निजी कार्यालय घेराउ गर्दै बिरोध प्रदर्शन गरेका छन् ।

चिया उद्योगीले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक लागू नगरेको भन्दै सडक आन्दोलनमा उत्रिएका चिया मजदुरले आइतवार भद्रपुर–८स्थित जनताचोकमा रहेको चिया उत्पादक संघका अध्यक्ष मित्तलको घरसहित निजी कार्यालय घेराउ गरेका हुन् ।

भद्रपुरको संगमचोकमा भेला भएका आन्दोलित चिया मजदुर सङ्गठनका नेता तथा मजदुरहरूले ¥याली प्रदर्शन गरेका थिए । ¥यालीमा उद्योगीको विरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले अध्यक्ष मित्तलको घर घेराउ गरेका थिए ।

मजदुरहरूले अध्यक्षको घरको मुख्य ढोकामा ब्यानर लगाउँदै डेढ घण्टा धर्ना दिएका थिए । सडकसँगै अध्यक्षको घर जोडिएकोले सडकमै मजदुर धर्नामा बस्दा डेढ घण्टा सडक समेत अवरुद्ध भएको थियो ।

सरकारले तोकेको ऐन लागू गराउन मजदुरहरू आन्दोलित बनेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताए । ‘खान नपाएर भोकभोकै बसेका मजदुरहरू अहिलेसम्म शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्’– उनले भने– ‘चिया मजदुरको आन्दोलनसहित सरकारले दिएको निर्देशनलाई अब पनि ठूला उद्योगीले बेवास्ता गरे झापा बन्ददेखि नाकाबन्दीसहितको संघर्षको कार्यक्रम लिएर सडकमा उत्रिने छौं ।’

सरकार गुहार्दै चिया उद्योगीहरू काठमाडौँ धाउने गरेकोमा सरकारसँग एक चरणको वार्ता भइसकेको छ– उनले भने– ‘सो वार्तामा श्रम ऐन लागू गराउन चिया उद्योगीलाई श्रम मन्त्रालयले निर्देशन दिइसकेको छ र अब उप्रान्त पनि सरकारको निर्देशन नमाने उद्योगीलाई जहाँ भेटिन्छ, त्यहीं कारबाही गर्छौं ।’

यता धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै टे«ड युनियनका झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, टे«ड युनियन महासंघका प्रतिनिधि भरत राई, कृषि तथा चिया बगान श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटा लगायतका वक्ताले सरकारले श्रम ऐन ‘२०७४’ लाई २०७५÷७६ को बजेट भाषणमार्फत नै चिया क्षेत्रमा लागू गर्ने गरी मजदुरलाई न्यूनतम् ज्याला ३८५ सहित अन्य सेवा सुविधा निर्धारण गरेको बताए ।

सो ऐन लागू गर्न ठूला उद्योगीले नमानेको भन्दै अब उद्योगीबिरुद्ध नै खनिने उनीहरुले चेतावनी दिए । झापामा साना किसानसहित २८ वटा चिया उद्योग छन् । ती उद्योगमा ५० हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

चार वटा साना किसानसहित झापाका केही उद्योग सरकारले तोकेको श्रम ऐन दिन सहमत भएपछि सञ्चालनमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *