September 18, 2026

खाद्य स्वच्छता कायम गर

0

       खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजनामा बिर्तामोडमा भएको प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई…

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजनामा बिर्तामोडमा भएको प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई अखाद्य वस्तु बिक्री–वितरण नगर्न सचेत गराइएको छ । यसअघि सोही कार्यालयद्वारा गठित खाद्य स्वच्छता समूहको नेतृत्वमा भएको अनुगमनका क्रममा केही होटलहरुमा खाना राखिएको ठाउँमै किरा फेला परेको थियो । त्यस्तै कतिपय होटलहरुले खाद्य स्वच्छताको न्यूनतम् मापदण्ड समेत पूरा नगरेको पाइएपछि उनीहरुलाई प्रशिक्षण दिइएको थियो । तीन दिनसम्म गरेको अनुगमनका क्रममा बिर्तामोडका तेत्तीस वटा होटलहरु मध्ये दुईवटामा किरा फेला परेको र अन्य धेरैमा स्वच्छताको न्यूनतम् मापदण्ड पूरा नगरेको पाइएको थियो ।

स्वस्थ रहने आधार हावा, पानी र खानाको स्वच्छता हो । यी मध्ये हावा र पानी प्रकृति प्रदत्त निःशुल्क उपहार हो भने खाना प्रकृति र मानिसको सहकार्यबाट उत्पादन गरिन्छ । प्रकृतिद्वारा निःशुल्क प्राप्त हुने हावा र पानी मानिसकै कारण प्रदुषित भइरहेको छ जसका कारण पृथ्वीका हजारौं प्राणी लोप भइरहेका छन् । प्रकृतिले दिएको सुन्दर उपहार र सृजनालाई यथावत राख्न सकेमात्र सबै प्राणीसँगै मानव जातिको कल्याण हुन्छ । तर, चेतना भएकैले सर्वश्रेष्ठ भनिने मानिसले प्रकृतिलाई विनाश गरिरहेको छ, त्यसलाई रक्षा गर्ने, यथावत र स्वरुप नविगारिकन राख्नेतर्फ मानिसको तत्परता नदेखिँदा क्रमशः हाम्रै जीवन दुष्कर बनिँदैछ ।

आधुनिकता, सुविधा र आविष्कारका नाममा अहिले भइरहेका गतिविधिले हामी आफैंलाई यान्त्रिक बनाउँदैछौं । त्यसकै परिणाम हो कि हामीले उपभोग गर्ने खाद्यवस्तु पनि परम्परागत हुन छाडेको छ । खाद्य परिकारमा जिब्रोको स्वाद खोज्ने भएर मिसावटयुक्त वस्तु उपभोग गर्दैछौं । परम्परागत खाद्य वस्तु पाक्ने भान्सामा मन्दविषले खुलेआम प्रवेश पाएको छ । कृषि उत्पादनमा रासायनिक वस्तु र विषादिको प्रयोगले हाम्रो भान्सा आफैं असुरक्षित भइरहेको छ । देशको पहिलो धन भनिएको जनशक्ति त्यहीकारण अस्वस्थ, निर्बल र अयोग्य बनिरहेको छ । त्यहीकारण निजी स्वार्थका लागि खोलिएका भोजनालयहरुले अस्वस्थकर खाना खुवाइरहेको सन्दर्भमा सरकारी संयन्त्रले नै अनुगमन समिति बनाएर अनुगमन गर्छ, तर परिणाम जहाँको तहाँ, जस्ताको तस्तै ।

अनुगमन गर्ने निकायले होटलहरुलाई खाद्य स्वच्छता कायम गर्न मापदण्ड पूरा गर्न र जिम्मेवार व्यवसायी बन्न अनुगमन गर्छ । बिर्तामोडमा त्यसकै निरन्तरता हो खाद्य स्वच्छता समूहको सक्रियता । त्यसबेला भेटिएका मापदण्ड विपरीत सञ्चालित भोजनालय, होटल र रेष्टुरेन्टलाई कानूनको दायरामा ल्याउन ढिला गर्नुहुँदैन । कानून स्वयम्ले व्यवस्था कायम गर्ने होइन, त्यसका लागि नियमनकारी निकायको इमान्दार अग्रसरता चाहिन्छ । अनुगमनको क्रमलाई समेत निरन्तरता दिँदै मापदण्ड पूरा नगर्नेहरुलाई दण्डित गर्दै नागरिकको जीवनको सुरक्षा गर्नुपर्छ । त्यसका लागि स्वच्छताको चिह्न अङ्कित गर्ने समूहको नीति स्वयम् उपचार हुन सक्दैन । सरोकारवाला निकायको इमान्दारिता उपचारको भरपर्दो उपाय हुनसक्छ । यसतर्फ स्थानीय सरकार, जनप्रतिनिधिसँगै उपभोक्ता स्वास्थसँग जोडिएका सबैको समान भूमिका रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *