September 21, 2026

कन्काईमा मलामी विश्रामालय

0

       शिवसताक्षी। शिवसताक्षी नगरपालिका वडा नं. ७ मा रहेको कल्याणकारी व्यापारी समूहको पहलमा शिवसताक्षी–७ मा…

शिवसताक्षी।

शिवसताक्षी नगरपालिका वडा नं. ७ मा रहेको कल्याणकारी व्यापारी समूहको पहलमा शिवसताक्षी–७ मा पर्ने कन्काई माई किनारमा मलामी विश्रामालय निर्माण गरिएकोे छ ।

उक्त विश्रामलयको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कार्यक्रममा १०–१० धुर जग्गा प्रदान गर्ने जग्गादाता कृष्णप्रसाद–रेखा ओली, ख्याम–दिलमाया पोखरेल, एक लाख ५१ हजार एक सय पाँच रुपैयाँ प्रदान गर्ने दाताहरु हस्तबहादुर राया, बलभद्र, भीम र दिलबहादुर, ५१ हजार एक सय पाँच रुपैयाँ सहयोग गर्ने तारासिंह लिङ्देनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा दक्षिण कोरियामा कार्यरत स्थानीय व्यक्तिले ७० हजार एक सय र दोहा कतारमा कार्यरत् स्थानीय व्यक्तिले ७० हजार एक सय सहयोग गरेबापत उनीहरुलाई समेत सम्मान गरिएको थियो । १८ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको उक्त मलामी विश्रामालयलाई कल्याणकारी व्यापारी समूहले मासिक एक हजार रुपैयाँ बचत गरेर त्यसबाट आएको ब्याजको २५ प्रतिशत लगानी गरेको समूहका अध्यक्ष इन्द्रप्रसाद ओलीले जानकारी दिए । कन्काई माई भगवती संस्थाले २०७५ को तिहारमा देउसी खेलेर जम्मा गरिएको एक लाख २० हजार रुपैयाँ समेत विश्रामालयमा लगानी गरेको बताइएको छ ।

मुख्य सडकखण्डको कन्काई माई पुलबाट अन्दाजी तीन किलोमिटर दक्षिणमा रहेको कन्काई माई नदीको किनारमा विश्रामालय निर्माण गर्दा स्थानीयबासीहरुलाई सहज भएको छ । तर, माई नदीमा बाढी आउँदा त्यस क्षेत्रमा निर्माण भएको विश्रामालयमा क्षति पुग्ने भन्दै स्थानीयबासीले स्थानीय सरकारलाई बाटो तथा बाँध व्यवस्थापनका लागि अनुरोध गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले समूहगत क्रियाशिलताको कारण यो पुण्य कार्यमा सफलता मिलेको भन्दै समूहको प्रशंशा गरे । उनले यही जेठभित्र काम सकिने गरी मलामीहरुको सहजताको लागि सोलार बत्ती जडान गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा उपमेयर भोजकुमारी नेपाल, रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज ओली, वडा सदस्य प्रेमलाल भुजेल, स्थानीय समाजसेवी तारासिंह लिङ्देन लगायतको आतिथ्य रहेको थियो ।

समूहका अध्यक्ष इन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिवकुमार भण्डारीले गरेका थिए भने सञ्चालन टंक भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *