April 30, 2026

प्रतेशले दिए अनिता र उमेशलाई जीवनकै खुशी

0

336     336Shares बिर्तामोड। झापाको भद्रपुर–२ सोमबारेका उमेश पौडेलसँग विवाह बन्धनमा बाँधिएकी अनिता पौडेलले सपना धेरै संगालेकी…

बिर्तामोड।

झापाको भद्रपुर–२ सोमबारेका उमेश पौडेलसँग विवाह बन्धनमा बाँधिएकी अनिता पौडेलले सपना धेरै संगालेकी थिइन् । दुई बर्ष पहिला वैवाहिक जीवनका यात्रामा लागेका यि दम्पत्तिले बाँचुन्जेलसम्म हाँसीखुशी जिउने कल्पना पनी गरेका थिए । तर ! अनितासँग विवाह गरिरहँदा अनिता मुटुको विरामी रहेको र उनले बच्चा जन्माउनु हँुदैन भन्ने कुरा उमेशको मानसपटलमा रहिरहेको थियो ।

अनिताको २०६२ सालमा एउटा मुटुको भल्व काम नलाग्ने गरी बिग्रिएको, दुईवटा तत्कालै अपरेशन गरेर सफा नगरे त्यो पनी बेकामे हुने र जीवन नै खतरामा पर्ने भएपछि परिवारमा पिरलो भएको थियो । काठमाडांैस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अनिताले मुटुको भल्ब फेरेकी थिइन् । मुटुको एउटा भल्ब ड्यामेज भएको र दुईवटा भल्वले काम गर्न छोडेको थियो । मृत्युको मुखमा पुगेर फर्किएकी अनिताले दुई वर्षअघि उमेशसँग विवाह त गरिन् । तर, सन्तान जन्माउन नहुने डाक्टरको सल्लाहले उनीलाई पिरलो बनाएको थियो ।

आफ्नो रोगको बारेमा जानकार रहेका उमेशसँग दुई वर्षअघिबाट विवाह बन्धनमा बाँधिएकी अनिता र उमेशले झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलमा आएर बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर राजेश पञ्जियारलाई सबैकुरा जानकारी गराएका थिए । डा. पञ्जियारले बच्चा जन्माउन केही जोखिम भए पनि जन्माउन सकिने बताएपछि उमेश र अनितामा अर्को खुशी थपिएको थियो ।

डाक्टरकै सल्लाह अनुसार उनीहरुले सन्तान जन्माउने योजना बनाएर र निरन्तर डाक्टरको निगरानीमा रहे । फलस्वरुप अनिताको पेटमा बच्चा हुर्किदै गयो तर बच्चालाई पेटभित्रै समस्या आएपछि डाक्टर पञ्जियार, बालरोग विशेषज्ञ डा.रुपक आर्चाय, डा.राजु श्रेष्ठ, डा.सुनिता राय, डा.पूजा अधिकारी लगायतको चिकित्सकको टिमले ३२ हप्तामा नै अपरेशन गरेर बच्चा निकालेका थिए ।

‘सामान्यतया बच्चा ३७–४२ हप्तामा जन्मिनुपर्छ ।’ बालरोग विशेषज्ञ डाक्टर आचार्य भन्छन्– ‘आमाको समस्या त्यसमा पनि बच्चामा अर्को समस्या आउन सक्ने भएकाले ३२ हप्तामा नै शल्यक्रिया गरेर बच्चा निकालेका हौं ।’ फोक्सोको समेत विकसित नभएको अवस्थामा बच्चाको अवस्था जटिल रहे पनि दक्ष चिकित्सकका कारण उपचार सम्भव भएको उनको भनाई छ ।

डाक्टरकै निगरानीमा ३४ हप्ता पुगेपछि उनीहरुलाई घर पठाएको बताइएको छ । दक्षिण एसियामा मुटु रोगीको संख्या बढ्दै गएको मुटु रोग विशेषज्ञ डा.पञ्जियारले बताए । उनले खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

मुटुको भल्व फेरिएकी अनिता र छोरा प्रतेश सकुशल भएको भन्दै उमेशले बिहीबार हस्पिटलमा नै आएर धन्यवाद दिएका छन् । उनले भने– ‘मेरो जीवनकै सबैभन्दा खुशीको क्षण आयो, श्रीमती र छोरा मेरो साथमा भए अब संसारमै म जतिको खुशी को होला र ?’ अनिताले डाक्टरको सल्लाहका कारण आफ्नो परिवारमा खुशी छाएको बताइन् ।

यसैबीच दक्ष चिकित्सक र प्रविधिको प्रयोगका कारण जटिल रोगको उपचार बिर्तामोडमा नै सम्भव भएको बीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । उनले अब मेची अञ्चलबासी मात्र नभएर प्रदेशकै उत्कृष्ट हस्पिटल बनाउन आफू लागेको बताए । झापासहित पूर्वका बिरामीहरुको जटिल रोगको उपचार बीएण्डसीमा सम्भव भएको जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *