June 14, 2026

खजुरामा चार लेन सडक निर्माण शुरु

0

       राँझा। नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण कार्य शुरु…

राँझा।

नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण कार्य शुरु भएको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम शुरु भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको रु ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले आइतबारबाट चार लेन सडक निर्माण शुरु गरेको हो । पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको १८०० मिटर लम्बाइको चार लेन सडक डेढ वर्षभित्र सक्ने योजना छ । “चार लेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरिने भएको छ”, सडक विस्तार कार्यले खजुरावासी उत्साहित छन्”, अध्यक्ष कक्षपतिले भन्नुभयो,

क्रमागत रुपमा बजेट थप्ने गरी केन्द्रीय सरकारको योजनाअन्तर्गत निर्माण शुरु भएको हो । नेपालगञ्जदेखि बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक नै विस्तार गरी चार लेन बनाउने योजना रहे पनि पहिलो चरणमा खजुरा बजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियादेखि भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने कार्य शुरु भएको खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो ।

केन्द्रीय सरकारको योजना भए पनि खजुरा गाउँपालिकाको मुख्य बजार क्षेत्रलगायत मुख्य सडक भएकाले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग समन्वय गरिरहेको उहाँको भनाइ छ । बाँकेको खजुरा गाउँपालिकाले यो आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गर्नेगरी निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

चालू आर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माण कार्य सम्पन्न हुने गरी ठेक्का प्रक्रिया भइसकेको गाउँपालिकाका अध्यक्ष कक्षपतिले बताउनुभयो । “गाउँपालिकाभित्रका महत्वपूर्ण सबै सडक विस्तार र कालोपत्र गर्ने काम धमाधम अगाडि बढेको छ”, अध्यक्ष कक्षपतिले भन्नुभयो, “गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा हामी यो वर्ष १५ किलोमिटर सडक कालोपत्र गर्नेछाँँै ।”

गाउँपालिका, प्रदेश सरकार, सांसद विकास कोष र सङ्घीय सरकार समपूरक कोषको रु १५ करोड बजेटमा सडक निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनीयर कञ्चन तिवारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *