September 13, 2026

माई नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ४ देखि सुरु

0

विमल दाहाल,

माई, इलाम जिल्लामा हुने १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीस्वरूप माई नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ४ गतेदेखि सुरु भएको छ।

लक्ष्मी आदर्श माध्यमिक विद्यालय, माई–८ (विष्णेटार, महमाई) को आयोजनामा तथा माई नगरपालिकाको समन्वय र सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको हो। प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी १३ माध्यमिक विद्यालयले सहभागिता जनाएका छन्।

पुस ४, ५ र ६ गतेसम्म माई नगरपालिकाको सितली खेलमैदानमा हुने प्रतियोगितामा माई–१ को युवा वर्ष मावि, माई–२ को कन्काई माध्यमिक विद्यालय (सितली), शिशुसेवा माध्यमिक विद्यालय (चेप्टी), न्युलाइट अंग्रेजी माध्यमिक विद्यालय (माँझवारी), माई–३ को सरस्वती माध्यमिक विद्यालय (मुसेखोला), माई–४ को स्वर्णिम मोडल एकेडेमी र नेपाल एकेडेमी, माई–५ को कृष्ण माध्यमिक विद्यालय, माई–६ को भगवती माध्यमिक विद्यालय, माई–७ को वीरेन्द्र माध्यमिक विद्यालय, माई–८ को लक्ष्मी आदर्श माध्यमिक विद्यालय, माई–९ को सरस्वती माध्यमिक विद्यालय र माई–१० को हिमालय माध्यमिक विद्यालय सहभागी छन्।

प्रतियोगिताको उद्घाटन माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको अध्यक्षतामा भएको हो। जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख योगेश चाम्लिङ प्रमुख अतिथि रहेका थिए भने आयोजक विद्यालय लक्ष्मी आदर्श माविका प्रधानाध्यापक धर्म अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।

उद्घाटन समारोहमा माई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर कट्टेल, वडा नम्बर ८ का वडाध्यक्ष अमृतबहादुर मोक्तान, कन्काई माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौड्याल, शिक्षा, युवा तथा खेलकुद शाखा माईका अधिकृत युवराज खनाल,प्याप्सन माईका प्रतिनिधि, न्युलाईट अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल रविनराज लोहनी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतियोगितामा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू आगामी महिना सूर्योदय नगरपालिका, इलाममा आयोजना हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माई नगरपालिकाको प्रतिनिधित्व गर्दै सहभागी हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *