September 13, 2026

रतुवा किनारको काँसघारीमा लुकाइएका हतियार फेला, जेनजी आन्दोलनसँग जोडिएको पुष्टि

0

झापा , जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ठूलो परिमाणका हतियार तथा गोलीगठ्ठा बुधबार साँझ फेला परेका छन्। दमक नगरपालिका–१ को बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीमा बेवारिसे अवस्थामा ती सामग्री भेटिएको हो।

स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएर स्थल निरीक्षण गर्दा खिया लागेको अवस्थामा हतियार तथा गोलीगठ्ठा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद सामग्रीमा म्यागजिनसहित ३११०३३६१ नम्बरको ईन्सास राइफल एक थान, म्यागजिनसहित ३११०३३६४ नम्बरको ईन्सास राइफल एक थान, म्यागजिन नभएको ३११०३५१२ नम्बरको ईन्सास राइफल एक थान, ३०३ राइफलका जंगी राउण्ड १३४ थान, एसएलआरका जंगी राउण्ड ५ थान र ईन्सासका जंगी राउण्ड २० थान रहेका छन्।

प्रहरीका अनुसार फेला परेका हतियारहरू जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनकारीले लुटपाट गरी लगेको अभिलेखसँग मेल खाने देखिएको छ। बरामद सबै हतियार तथा गोलीगठ्ठा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

यद्यपि, जेनजी आन्दोलनकै क्रममा झापामा लुटिएका हतियारमध्ये अझै १७ थान हतियार बेपत्ता नै रहेको प्रहरीले जनाएको छ। कुल २४ थान हतियार लुटिएकोमध्ये हालसम्म ७ थान मात्र फेला परेकाले बाँकी हतियार खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *