September 19, 2026

युथ अफ खुदुनाबारीले बनाइदियो लिङ्दमको घर

0

तिलक योञ्जन
बिर्तामोड।

हात्तीले घर भत्काई दिएपछि आवासविहीन बनेको लिङ्दम परिवारलाई युथ अफ खुदुनाबारीले नयाँ घर बनाइदिएको छ ।

विभिन्न दाताहरुको सहयोगमा संस्थाले अर्जुनधारा नगरपालिका वडा नं. ३ कैदले निवासी पेलाबहादुर लिङ्दमको परिवारलाई आवास निर्माण गरेर हस्तान्तरण गरेको हो ।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुख्य सहयोगी संस्था सहारा नेपालका प्रथम उपाध्यक्ष छविलाला खतिवडाले रिबन काटेर र घर निर्माण गरी दिने संस्था युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले घरको साँचो प्रदान गरेर घर हस्तान्तरण गरेका थिए । नगर उपप्रमुख पराजुलीले ब्यानर वाचन गरेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।

अध्यक्ष सिटौलाले पेलाबहादुरकी श्रीमती प्रेमामाया लिङ्दमलाई घरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा घरमुली पेलाबहादुरलाई सिटौलाले आवास हस्तान्तरणको प्रमाण–पत्र प्रदान गरेका थिए । घर निर्माण प्रतिवेदन प्रस्तुत गर्दै उनले पेलाबहादुरको घर निर्माणमा छ लाख सात सय ७३.५४ रुपैयाँ खर्च भएको जानकारी दिए । त्यस्तै दाताहरुबाट पाँच लाख ८७ हजार ५७ रुपैयाँ संकलन गरिएको बताए । हाल १३ हजार छ सय ५७ रुपैयाँ पैसा तिर्न बाँकी रहेको समेत सिटौलाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सिटौलाले प्रस्तुत गरेको प्रतिवेदनमा घर निर्माणका लागि सहारा नेपाल साकोसले नगद दुई लाख रुपैयाँ सहयोग गरेको उल्लेख छ । त्यस्तै अर्जुनधारा नगरपालिकाले ४३ हजार सहयोग गरेको छ भने नगद सहयोग गर्ने विभिन्न ५४ व्यक्ति तथा संस्थाहरु सार्वजनिक गरिएको थियो । घर निर्माणमा जिन्सी सहयोग गर्ने विभिन्न ३४ व्यक्ति तथा संस्थाहरुको समेत विवरण सार्वजनिक गरिएको थियो । तीन वटा कोठा भएको नवनिर्मित घरको डिजाइनका लागि इञ्जिनियर लक्ष्मी आलेले प्राविधिक सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

घर निर्माणका लागि दुई लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने संस्था सहारा नेपाललाई कार्यक्रममा सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै स्थानीय सरकार अर्जुनधारा नगरपालिका र अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालयलाई पनि सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । सो अवसरमा अध्यक्ष सिटौलाले देश–विदेशमा रहेर पेलाबहादुर लिङ्दमको घर निर्माण अभियानमा जोडिएर नगद तथा जिन्सी सहयोग गर्नेे सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

अर्जुनधारा नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराईले पेलाबहादुरलाई ढाकाटोपी लगाई दिएका थिए भने पेलाबहादुरकी श्रीमती प्रेममाया लिङ्दमलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा अर्जुनधाराकी कार्यपालिका सदस्य चन्द्रा तामाङ, सहारा नेपालका सञ्चालक सदस्य, भोला धिताल, निर्देशक लक्ष्मण खतिवडा, वडासदस्य नारायण चापागाँई, किराँत धर्म तथा साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङ, नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाका अध्यक्ष मुकुन्द भण्डारी, कैदले खानेपानी उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतम, सुखानी सामुदायिक वन समुहका अध्यक्ष मंगलसिंह लिम्बू, कैदले पर्यापर्यटन उपाध्यक्ष दिपक दुलाल, फाल्गुनन्द मिङ्सो माङहिमका अध्यक्ष लक्ष्मी इङ्नाम लगायत विभिन्न संस्थाका प्रतिनिधि तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो । संस्थाका सल्लाहाकार दिपक दुलालले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव आनन्ददेव कट्टेलले गरेका थिए ।

यसरी बन्यो लिङ्दमको घर

२०७९ साल फागुन महिनाको ११ गते राति करिब १२ बजे हात्तीले घर भत्काई दिएपछि अर्जुनधारा नगरपालिका वडा नम्बर ३ कैदले निवासी पेलाबहादुर लिङ्दमको परिवार आवासविहीन बन्यो । साधारण टाटीबेराको घरमा बस्दै आएका लिङ्दम परिवार कमजोर आर्थिक अवस्थाको सिकार त थियो नै हात्तीले घर समेत भत्काइ दिएपछि आवासविहीन बनेर बिचल्ली हुने अवस्थामा पुगेको थियो । लिङ्दमको गाउँमा हात्तीको आक्रमण अनौठो भने होइन, उनको गाउँ र आसपसका जुकेखाडी सुखानी लगायतका गाउँमा बेलाबखत हात्तीले आतंक नै मच्चाउने गरेको छ ।

लिङ्दमको घर हात्तीले भत्काएको खबर पाएपछि भोलिपल्ट बिहानै युथ अफ खुदुनाबारी संस्थाका अध्यक्ष मनोज सिटौला नेतृत्वको टोली, स्थानीय जनप्रतिनिधि (अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष) सीताराम भट्टराई समेतलाई लिएर लिङ्दम परिवारको भत्किएको घर पुगेका थिए ।

तत्कालै मर्मत गर्दा समेत बस्न योग्य नहुने भएपछि नयाँ घर निर्माण गरिदिएर लिङ्दम परिवारको पीडामा मल्हम लगाउने अध्यक्ष सिटौलासहित युथ अफ खुदुनाबारीले संकल्प गरेको थियो । युथ अफ खुदुनाबारी पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न कार्य गर्दै आएको युवाहरुको संस्था हो ।

संस्थामा आर्थिक स्रोत नभए पनि दाताहरुसँग समन्वय गरेर घर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ युथ अफ खुदुनाबारीले पेलाबहादुर लिङ्दमको घर निर्माण शुरु गरेको थियो । २०८० साल बैशाख १ गते शिलान्यास भएको घर निर्माणको सम्पूर्ण काम सकेर लिङ्दम परिवारलाई हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *