September 18, 2026

मेची सहकारीकी कर्मचारी महिलालाई आत्महत्या दुरुत्साहन मुद्दा

0

झापा ।

दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत कर्मचारी मेघराज राउतको आत्महत्या प्रकरणमा पक्राउ परेकी महिलालाई दुरुत्साहन मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले सहकारीका कर्जा अधिकृत राउतको मृत्यु प्रकरणमा पक्राउ परेकी दमक निवासी २७ वर्षीया दिव्या न्यौपानेलाई आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको हो ।

मुलुकी अपराधसंहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा न्यौपानेलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । पक्राउ परेकी महिला समेत सोही सहकारीमा कार्यरत रहेको बताइएको छ ।

गतबिहीबार अपरान्ह दमक–५स्थित अन्नपूर्ण होटलको तेस्रो तलाको कोठामा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । जहाँ उनले सुसाइट नोट छोडेका थिए । सोही नोटलाई आधार मान्दै प्रहरीमा किटानी जाहेरी परेको थियो । सुसाइट नोटमा ती महिलाले आफूलाई ट्रयापमा पारेको मृतक राउतले लेखेको प्रहरीले जनाएको छ । नोटमा ती कर्मचारीले आफूबाट निकै फाइदा लिएको, स्कुटर, सुन, कपडा लगायतका सामान किन्न लगाएको, धेरै रकम पनि लगेको उल्लेख छ ।

३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि घरपरिवार र कार्यालयको सम्पर्कबाहिर थिए । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोबाइल फोनबाट लोकेसन ट्र्याक गर्दै दमक–५स्थित मंगलदीप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्यभागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *