September 19, 2026

प्रमको भ्रमण फलदायी हुनुपर्छ

0

चिनिया प्रधानमन्त्री ली छ्याङ्को निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी भ्रमणका लागि अहिले चीन पुगेका छन् । संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रम दाहाल शनिबार चीन पुगेका हुन् । प्रधानमन्त्री दाहालको यो तेस्रो चीन भ्रमण हो भने यसपटक प्रधानमन्त्री भएको नौ महिनापछि भएको यो भ्रमण कति उपलब्धीमूलक हुन्छ त्यो भविष्यले देखाउला ! छिमेकी तथा मित्र राष्ट्रहरुका बीच हुने यस्ता भ्रमणहरुले विश्वासको वातावरण बनाउनु पर्छ र द्विपक्षीय हित प्रवद्र्धन गर्न र परम्परागत सम्बन्ध झन् बलियो र सुमधुर हुनुपर्छ भन्ने आमनेपालीको अपेक्षा छ । तर, हाम्रा नेतृत्वको अक्षमताका कारण सरकार प्रमुखहरुबाट हुने गरेका भ्रमण परस्परको हितको रक्षा र प्रवद्र्धनमा त्यति उपलब्धीमूलक नभएको राजनीतिक विश्लेषकहरुको निष्कर्ष छ ।

नेपाल र चीनका बीच उच्चस्तरीय भ्रमण शुरु भएको छ दशकभन्दा बढी भइसकेको छ । विभिन्न कालखण्डमा भएका द्विपक्षीय सहमतिमा रेल परियोजना, सीमा व्यवस्थापन, तेल र ग्यासको सम्भाव्यता अध्ययन, दुई देशीय व्यापार लगायतका थिए । तर, तिनको कार्यान्वयनको स्थिति भने अत्यन्त कमजोर रहेको छ । आठ वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका क्रममा खुला व्यापारको क्षेत्रको सम्भाव्यता अध्ययन लगायतका दश बुँदे सम्झौता गरेका थिए । त्यस्तै चिनिया राष्ट्रपतिले चार वर्ष अघि नेपाल भ्रमणका क्रममा भएको सहमति पनि अझै अलपत्र छ । विगतमा गरिएका सन्धि–सम्झौताका विषयमा कुरा उठाएर तिनको कार्यान्वयनमा अग्रसरता देखियो भने मात्र यस पटकको भ्रमणलाई फलदायी मान्न सकिन्छ ।

उच्चस्तरीय भ्रमणमा भएका सहमतिको कार्यान्वयन पक्ष फितलो हुनु नेपालको कूटनीतिक अक्षमता नै हो । आफ्ना प्रस्तावका विषयमा यथेष्ट अध्ययन नगर्दा सम्झौता देखाउनकै लागि मात्रै हुने गरेको जानकारहरु बताउँछन् । हाम्रा नेतृत्व वर्ग विदेश भ्रमणमा उत्साहित हुन्छन्, तर विषयको गहिरो अध्ययन, विश्लेषण र कार्यान्वयनमा दृढ नहुँदा न देशको हित प्रवद्र्धन हुन सकेको छ न त जनताले कुनै लाभ लिन सकेका छन् । हाम्रा प्रधानमन्त्री र राष्ट्र प्रमुखहरुले कूटनीतिक ढंगले आफ्ना भनाइ आत्मविश्वासका साथ प्रस्तुत गर्न नसक्दा यस्ता भ्रमणहरु निरर्थक मात्र होइन आर्थिकरुपले पनि बोझिलो बन्दै गएका छन् । छिमेकीसँगको सुमधुर सम्बन्धले मात्रै हाम्रो राष्ट्रिय हित सम्भव हुनेहुँदा अवसरको सदुपयोग गर्दै थाती रहेका द्विपक्षीय हितका सवालमा प्रधानमन्त्रीको यो भ्रमण फलदायी हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *