September 16, 2026

सुखानी सहादतस्थलमा रहेका पूर्वाधारहरुको संरक्षणसँगै नयाँको निर्माण कार्य शुरु

0

अमित खम्बू,
अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–३ र इलामको माई नगरपालिका–४स्थित सुखानी सहादतस्थलमा रहेका पूर्वाधारहरुको संरक्षण एवम् नयाँ पूर्वाधारहरुको निर्माण कार्य शुरु भएको छ ।

तत्कालिन पञ्चायत शासन विरुद्ध आन्दोलन गर्दा मारिएका पाँच जना शहीदको घटनास्थलसँग जोडिएको उक्त स्थलको स्थानीय सुखानी सामुदायिक वन उपभोक्ता समूहको स्वीकृत ‘पर्यापर्यटन प्रबद्र्धन कार्ययोजना–२०७८’ अन्र्तगत समूहले संरक्षण एवम् निर्माण कार्य सुरु गरेको हो ।

समूहको खण्ड नं.२ अन्र्तगत ४.९२ हेक्टर क्षेत्रफलमा रहेको सहादतस्थल परिसरमा रहेको कछुवाको ढाडझैं देखिने टापु संरक्षण गर्न एक सय ५१ मिटर प्लम वाल निर्माण र पाँच पोखरीको मर्मत सम्भारको कार्य भइरहेको समूहका अध्यक्ष मंगलसिंह लिम्बूले जानकारी दिए ।

गत जेठ १५ देखि सुरु भएको उक्त योजनाको लागि चालु आर्थिक वर्ष ०७९÷०८०मा संघीय सरकारबाट सशर्त अनुदान अन्र्तगत १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गत फागुन १० गते योजना निर्माणको लागि सम्झौता भए पनि माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूका कारण तीन महिनापछि मात्र योजना निर्माणको कार्यले गति लिएको हो ।

माईका प्रमुख लिम्बू सहादतस्थल ‘ऐतिहासिक स्थल’ भएको हुँदा माई नगरपालिका मातहत हुनुपर्ने तर्क राख्छन् भने समूहको क्षेत्राधिकारभित्र रहेको त्यस स्थलमा समूहले स्वीकृत कार्ययोजना अनुसार कार्य गर्न पाउनुपर्ने समूहका अध्यक्ष लिम्बूको तर्क छ ।

त्यसैगरी चालु आर्थिक वर्षमा कार्य सम्पन्न गर्नुपर्ने गरि राष्ट्रपति चुरे कार्यक्रममार्फत् विनियोजित बजेट १५ लाख रुपैयाँबाट पोखरीको गेट वाल र ८४ मिटर लामो आउटलेटको पनि निर्माण कार्य सुरु भएको समूहकी सचिव रञ्जिता भट्टराईले बताइन् । उनी भन्छिन्–“सबै कार्यहरु यही असार मसान्तसम्म सक्नुपर्ने हुँदा हामीलाई अवसर र चुनौती दुवै रहेको छ ।”

त्यस्तै अर्जुनधारा नगरपालिकाले सहादतस्थलमा गरिएको वृक्षारोपण क्षेत्रको संरक्षण गर्न त्यहाँ रहेको सुखानी खोलामा तटबन्धन गर्न ३० थान जाली उपलब्ध गराएको समूहका पर्यटन उपाध्यक्ष विपिनकुमार चौहनले जानकारी दिए । योजना निर्माणको कार्यहरुसँगै समूहका पदाधिकारी, सदस्य तथा उपभोक्ताहरु दैनिक भेला भई सहादतस्थलमा रहेको पोखरीको किनारमा दुबोको चपरी राख्ने, सरसफाई गर्ने, वृक्षारोपण तथा फूल रोपणको कार्य पनि भइरहेको छ ।

हाल सहादतस्थलमा पाँच रुख, सुखानी सहादतस्थल स्मारक स्तम्भ, अनुमानित दुई सय मिटर भन्दा लामो सिंढीसहितको पदमार्ग, छ वटा चौतारो(पक्की र फलाम), दुई वटा आकाशे पुल, शौचालय आदि रहेको छ । सहादतस्थलसँगै रहेको दानाबारी–दुर्गापुर सडक कालोपत्रका क्रममा भत्काइएको सहादतस्थलको गेट र पाले घर भने सोही सडक निर्माण आयोजनाले निर्माण गरिदिने समूहका अध्यक्ष लिम्बूले बताए ।

समूहले आगामी दिनमा सो क्षेत्रमा जीप लाइन, चमेना गृह, बाल उद्यान, पानीको फोहोरा, थप शौचालय आदि निर्माण गर्ने उक्त कार्ययोजनामा उल्लेख गरिएको छ । आगामी आर्थिक वर्ष ०८०÷०८१को लागि कोशी प्रदेशका सांसद शमशेर राईमार्फत् योजनाको लागि पहल भइरहेको अध्यक्ष लिम्बूले दावी गरे ।

आर्थिक वर्ष ०८७÷०८८ सम्म सञ्चालन हुने उक्त कार्ययोजनाको लक्ष्य सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन गरि जैविक विविधताको संरक्षण गर्दै दिगो वन व्यवस्थापनबाट रोजगारी सृजना गरि स्थानीय, प्रदेश र राष्ट्रको समृद्धिमा योगदान पु¥याउने रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *