September 25, 2026

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

0

छविराज ढकाल/ पथरीशनिश्चरे, 

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आश्वासन दिएका छन् ।

आइतबार मोरङको गोठगाउँमा पुर्वाञ्चल विश्वविद्यालयको ११ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति समेत रहनुभएका प्रधानमन्त्री दहालले ऐन कानुनमा देखिएका समस्यालाई चाडै हल गर्ने बताउनुभयो। प्रधानमन्त्री दहालले स्थानीय स्तरमा मेडिकल कलेज पढ्न पाउने ब्यबस्था गर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री दाहालले नेपालका विश्वविद्यालयहरुले सैद्धान्तिक ज्ञान मात्र नभई जीवनोपयोगी र व्यवहारिक ज्ञानमा जोड दिनु पर्ने बताउनुभयो । विज्ञान प्रविधिको युगमा सैद्धान्तिक सिकाईले ज्ञान आर्जन भए पनि दैनिक जीवनमा उपयोग कम हुँदै गएको औल्याउनु भयो ।

उहाँले नेपालमा भएका विश्वविद्यालयले उत्पादन गरेका दक्षजनशक्तिले मात्रै विश्व बजारमा प्रतिष्पर्धा गर्ने भएकाले पुर्वाञ्चल विश्वविद्यालयले यस तर्फ ध्यान दिन आग्रह गरेका छन्। २१ र्औं शताब्दीमा हाम्रा आवश्यकता परिपूर्तिका लागि उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गर्दै वैकल्पिक श्रोत र साधनको खोजी गर्न विश्वविद्यालयलाई समुदाय स्तरमा लैजान आवश्यक छ ।

प्रधानमन्त्री दहालले अगाडि भन्नुभयो – “लोकतान्त्रिक मुल्य मान्यता र लोककल्यांणकारी संस्कारका साथै स्थानीय, प्रदेश र संघीय सरकारलाई समन्वय गर्न पनि विश्वविद्यालयको आवश्यकता छ ।”

सोहि क्रममा दिक्षान्त समारोहमा कला संकायमा स्नातकतर्फ ९२, स्नाकोत्तर तर्फ ४३ जनालाई दीक्षान्त प्रदान गरिएको छ । यस्तै, कानुन संकायतर्फ स्नातकतर्फ १९९ स्नाकोत्तर १०७,शिक्षाशास्त्र संकायतर्फ स्नातक तह ३५४ र स्नाकोत्तर तर्फ १४८, व्यवस्थापनतर्फ स्नातक तहतर्फ एक हजार २४२, स्नाकोत्तर तर्फ ६१४ र एम. फिलतर्फ ६ जनालाई उपाधि प्रदान गरियो ।

त्यस्तै, चिकित्साशास्त्र र विज्ञान तथाप्रविधि संकायका स्नातकतर्फ एक हजार २६१, स्नाकोत्तरतर्फ १२३ र एमफिल गर्ने ६ जना गरी जम्मा ६ हजार हजार ५१३ जनालाई उपाधि प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *