September 25, 2026

दलीय गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी

0

विनोद सापकोटा,
झापा ।

 

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा भएको सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको मत परिणामले दलीय व्यवस्थालाई ठाडो चुनौती दिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राप्रपा जस्ता ठूला पार्टीबाट अनुमोदित उम्मेदवारलाई बिना दलका स्वतन्त्र उम्मेदवारले पराजित गरे । कतिपयले यो मत परिणामले दलीय व्यवस्थालाई खुल्ला चुनौती दिएको बताए ।

झापामा हुने सामाजिक संघसंस्थाको निर्वाचनमा यस्तो मतपरिणाम संभवत पहिलो पटक सार्वजनिक भएको हो । पाँचदलले अनुमोदन गरेका प्रेमप्रसाद चुडाल (प्रकाश) नेपाली कांग्रेसका क्षेत्रीय स्तरका नेता हुन् । यस अघि उनी नेपाली कांग्रेसका क्षेत्र नम्बर ४ का सचिव पदमा थिए । स्थानीय एक सहकारी संस्थाको अध्यक्ष समेत रहेका चुडाल कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको सञ्चालक समितिका अध्यक्ष हुन् भने चुडाल बन्धु समाजका केन्द्रीय महासचिव हुन् ।

निर्वाचन समितिका अनुसार चुडालले ११३७ मत पाएका थिए । उनलाई उछिन्ने स्वतन्त्र उम्मेदवार भीमप्रसाद अधिकारीले १२८९ मत ल्याएर विजयी भए । दुई उम्मेदवार वीच १ सय ५२ मतको फरक छ । अधिकारी कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन् । २०३६ साल यता उनी मालेमा सङ्गठित भएर साविकको सुरुङ्गा गाउँ पञ्चायतमा जनपक्षीय वार्ड अध्यक्षका रूपमा विजय भएका थिए ।

पछि एमालेको सङ्गठित सदस्य बनेर सुरुङ्गा क्षेत्रका एमालेका अग्रज नेता बनेका थिए । एमाले छोडेपछि विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा थिए । राजनीतिक दलका नेताले राजनीतिलाई गरिखाने भाँडो बनाएर मुलुकको अर्थतन्त्र धरासायी बनाउन थालेपछि पार्टी परित्याग गरी उनी स्वतन्त्र नागरिकका रूपमा उभिएका थिए ।

आगामी तीन वर्षका लागि सुरुङ्गा खानेपानी संस्थाको अध्यक्ष पदका लागि निर्वाचित अधिकारी साविकको सुरुङ्गा गाउँ विकास समितिको २ पटक अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यसपछि सामाजिक क्षेत्रमा सक्रिय थिए । अधिकारी खानेपानीको अध्यक्ष पदमा दोस्रो पटक विजयी भएका हुन् । यस अघि पनि उनी खानेपानीको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

दुईपटकसम्म साविकको सुरुङ्गा गाविस र एक पटक खानेपानीको नेतृत्व लिएका अधिकारी पारदर्शी, सुशासन र इमान्दार नेतृत्वकर्ताका रूपमा जनतामाझ परिचित छन् । उपभोक्ताले अधिकारीको जीतको मुख्य आधार उनको भ्रष्टाचारमुक्त छबि, मितव्ययी र एक कुशल योजनाकार व्यक्तित्वलाई मतदान गरेर अनुमोदन गरेका छन् । उनी आफ्नो कर्तव्यप्रति जागरुक र परिणाममुखी छन् ।

स्थानीयले यो मतपरिणामलाई अचम्म मान्दै भनेको छन्, ‘राजनीतिक दलले सबै ठाउँ र अवसर गैरराजनीतिक व्यक्तिलाई दिनुहुन्न भन्ने घमण्डको पराकाष्ठा हो यो मतपरिणाम ।’ सुरुङ्गा झापाको कनकाई नगरमा पर्छ । नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबेको गृह नगर सुरुङ्गामा थेबेले आफू निकटका व्यक्ति चुडाललाई उम्मेदवारी सिफारिस गरेका थिए । उनको सिफारिसमा नेका, एमाले, राप्रपा, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ताली बजाएर समर्थन गर्दे चुनावी मैदानमा पठाएको थियो ।

पाँचदलले चुडाललाई खानेपानीको चुनावी मैदानमा धकेलिदिएर बलीको बोको बनाएको कतिपय उपभोक्ताले आरोप लगाए । सामाजिक संघसंस्थामा नेतृत्व गरिरहेका चुडालले पछिल्लो पटक खानेपानी संस्थाको नेतृत्व लिनका लागि हदैसम्मको कसरत गरेका थिए । तर, ठूला नेताको सिफारिस र पाँच दलको समर्थन पाए पनि उनी चुनावी परीक्षामा असफल भए ।

कनकाई नगरमा आर्थिक कारोवार हुने अधिकांश सामाजिक संघसंस्थाको नेतृत्वका लागि राजनीतिक दलले भागबण्डामा पद लिने दिने गरेका छन् । सामुदायिक विद्यालय, सामुदायिक वन, क्याम्पस, खानेपानी, बजार विकास, उद्योग वाणिज्य जस्ता संघसंस्थाको नेतृत्वका लागि दलले तछाडमछाड गर्ने गरेका छन् । त्यसैको बदला लिन खानेपानीका उपभोक्ताले यस पटक राजनीतिक दलको योजना विफल बनाइदिएका हुन् ।

पार्टीका नयाँ मान्छे कार्यसमितिमा चयनका लागि गृहकार्य शुरु गरिहाल्छन् र संघसंस्थाका पदमा टिकटका लागि नेताको आशिर्वाद थाप्न मरिहत्ते गर्छन् । राजनीतिक दलको वाक्कदिक्क भएका स्थानीय अर्जुन बुढाथोकीले आक्रोशित हुँदै भने, ‘कुन संस्था कुन दललाई दिने भनेर सुरुङ्गामा बहस हुने गरेको छ । राजनीतिक दलको विर्ता हो सुरुङ्गा ?’

उपाध्यक्ष पदमा एमालेका राजेन्द्र उप्रेती (राजेश) ले १ हजार १ सय ६३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी स्वतन्त्र तर्फका तिलचन्द्र उप्रेतीले १ हजार १ सय २२ मत प्राप्त गरेका छन् । दुवैजना उम्मेद्वारको अन्तर भने ४१ मतको रहेको छ ।

सचिव पदमा समेत राजनीतिक दलका तर्फबाट उम्मेद्वार बनेका गोविन्दप्रसाद पौडेलले १ हजार २ सय ३ मत प्राप्त गरी विजय बनेका छन् भने उनका प्रतिष्पर्धी कृष्णप्रसाद चुडालले १ हजार १ सय ५ मत ल्याएका छन् । सचिवका उम्मेद्वार बीचको मतअन्तर ९८ छ । कोषाध्यक्षमा समेत राजनीतिक दल तर्फका उम्मेद्वार खेमराज कार्कीले १ हजार २ सय १५ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका प्रतिष्पर्धी धनबहादुर बोगटीले १ हजार ६२ मत प्राप्त गरे । उनीहरु विचको मतान्तर १५३ रहेको छ ।

यसै गरी, खुलातर्फ निर्वाचित हुने सदस्यहरूमा क्रमशः गोपाल खरेल (१२५३), लक्ष्मीप्रसाद ओडारी (१२२६) र भरतकुमार श्रेष्ठ (११८९) रहेका छन् भने महिला सदस्यहरूमा शोभा प्रसाईँ खरेल (१२९०) र हरिमाया राई (१११२ ) मत प्राप्त गरी निर्वाचित भएका छन् ।

विजय भएपश्चात अध्यक्ष अधिकारीले आम उपभोक्तालाई हार्दिक आभार प्रकट गर्दै सुरुङ्गा खानेपानीको स्तरोन्नतिका लागि योजनाबद्ध रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन सम्पन्न गर्न जनार्दन उप्रेती संयोजक, सोमनाथ उप्रेती र अम्बिका चापागाईं (सुवेदी) सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिको समन्वयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई मतगणना समेत सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

मतदान प्रक्रिया सम्पन्न गर्न स्थानीय कन्काई माविका शिक्षकहरू तीर्थराज खरेल, मन्दिरा सुवेदी, खेमराज भट्टराई र राधादेवी केसीलाई मतदान अधिकृत र संगीता उप्रेतीलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो । स्थानीय बौद्धिक व्यक्तित्वहरू ओमदेव शाही, टीकाकुमार पोखरेल, कर्णबहादुर डाँगी र विकासप्रसाद उप्रेतीले १८ गते दिनभरको मतदान प्रक्रियाको पर्यवेक्षण गरेका थिए । सुरुङ्गा खानेपानीमा ४ हजार १ सय २८ मतदाता रहेकोमा २ हजार ६ सय १४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *