सुस्त मनस्थिती भएकी वृद्धाको उद्धार
अर्जुनधारा ।

झापाको अर्जुनधारा–११बाट अन्दाजी ६० वर्षकी एक सुस्त मनस्थिती भएकी वृद्धाको उद्धार गरिएको छ ।
उद्धार गरिएकी वृद्धालाई केही दिन अघि कमजोर र बिरामी अवस्थामा फेला पारेका अर्जुनधारा नगरपालिकाका यान्त्रिक शाखा प्रमुख एवम् स्थानीय सनम राईले आफ्नै निवासस्थानमा हेरचाह गर्दै राखेका थिए ।
सामान्य उपचार पश्चात् निको भएको वृद्धाको विषयमा सामाजिक सञ्जालमार्फत आफन्त खोज्ने प्रयास गरे पनि कोही सम्पर्कमा नआएको शाखा प्रमुख राईले जानकारी दिए ।
“कतैबाट सम्पर्क नभएपछि सामाजिक अभियन्ताद्वय कमल पोखरेल र विष्णु आचार्यको समन्वयमा उद्धार गरिएको हो ।”–उनले भने ।
उद्धार गरिएको वृद्धालाई नगर सभा सदस्य केशव अधिकारीको रोहवरमा इटहरीस्थित ‘माया घर नेपाल’मा संरक्षणको लागि जिम्मा पठाइएको सामाजिक अभियन्ता पोखरेलले जानकारी दिए ।
