प्रथम धार्मिक महोत्सवको आय–व्यय सार्वजनिक
अर्जुनधारा ।

धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने उद्देश्यले झापाको अर्जुनधारा–७ पाराखोपीस्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा गत चैतमा सम्पन्न भएको त्रिदिवसीय प्रथम धार्मिक महोत्सव–२०७८को आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।
धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर “काली”को अध्यक्षता र धाम उत्पत्तीकर्ता गुरु विकास राईको प्रमुख आतिथ्यमा सोमबार आयोजित बैठकमा उक्त महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको हो ।
बैठकमा महोत्सव मूल आयोजक समारोह समितिका सचिव अमितकुमार साङपाङ राईले आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा जम्मा आय छ लाख ६९ हजार नौ सय ६० रुपैयाँ, जम्मा खर्च चार लाख ११ हजार नौ सय ९४ रुपैयाँ चार पैसा र जम्मा बचत दुई लाख ५७ हजार नौ सय ६५ रुपैयाँ छ पैसा उल्लेख गरिएको छ ।
बचत भएको रकममध्ये दुई लाख रुपैयाँ धामलाई आवश्यक जमिन खरिदका लागि स्थापना गरिएको कोषमा जम्मा गरिने बताइएको छ । त्यसैगरी सोही महोत्सवबाट धामको लागि चार परिवारबाट जम्मा ३३.५ धुर जमिन निःशुल्क प्राप्त भएको र ५१ जना आजीवन सदस्यबाट ५२ हजार तीन सय पाँच रुपैयाँ प्राप्त भएको महोत्सव मूल आयोजक समारोह समितिका सचिव राईले जानकारी दिए ।
यता शुभ दीपावलीको अवसरमा समितिले सञ्चालन गरेको देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमबाट ७५ हजार नौ सय ११ रुपैयाँ संकलन भएको समितिका सचिव रोशन नेम्वाङ लिम्बूले जानकारी दिए ।
