September 13, 2026

आज तीज, हिन्दु महिला उमामहेश्वरको व्रत बस्दै

0

काठमाडौं,

भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्।

बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।

विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ। काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ।

तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी ‘दर’ खाने गर्छन्। नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्ट पोखेर नाचगान गर्छन्।

तीजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ। तर अचेल दर खाने नाममा एक महिनाअघिदेखि तडकभडक गर्ने, तिजको गीतमा उच्छृंखल शब्दको प्रयोग गर्ने र भड्किला पोशाक लगाउने चलन बढेको भन्दै संस्कृतिका जानकार चिन्ता व्यक्त गर्छन्।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *