कचनकवलका १८ कर्मचारी निष्कासित
पार्थ मण्डल,
भद्रपुर।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाले करार सेवा कार्यरत १८ जना कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको असार २२ गते बसेको बैठकले करार सेवामा नियुक्ति दिएका १८ जना कर्मचारीको चालू आर्थिक वर्षको साउन १ गतेदेखि करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।
करार सम्झौता म्याद थप नगर्नेको सूचिमा इञ्जिनियर अमित ढुङ्गाना, सब– इञ्जिनियर देवीप्रसाद थपलिया, असिस्टेन्ट सब–इञ्जिनियर सन्तोष खतिवडा, कम्प्युटर टेक्निसियन मुन्ना आलम, सहायक कम्प्युटर टेक्निसियन अमरसिंह राजवंशी, हलुका सवारी चालकहरु सोमनाथ बराल, तुलसीप्रसाद यादव, अनवर आलम, कार्यालय सहयोगी चौकीदार राजेशकुमार गणेश, चौकीदार अलबारुल हक, प्रशासन सहायक राधिका पौडेल रहेका छन् ।
त्यस्तै सुपरीवेक्षक (गणक)तर्फ कृष्ण चौधरी, टेकनारायण गणेश, दीपककुमार राजवंशी, वविता अधिकारी, लयवती राजवंशी, रेखा राजवंशी र रजाक मियाँ रहेका छन् । सुपरीवेक्षकहरूको ६ महिने करार म्याद दुई महिनाअघि सकिएको थियो । उनीहरूको पनि म्याद नथप्ने बैठकले निर्णय गरेको जनाइएको छ ।
सुपरीवेक्षकबाहेक अन्य ११ जना करार सेवाका कर्मचारीहरू लामो समयदेखि गाउँपालिकामा काम गर्दै आइरहेका थिए । गाउँपालिकाले ती कर्मचारीहरूको बर्र्षै पिच्छे म्याद थप गर्दै आइरहेको थियो । तर, यसपटकको कार्यपालिकाको बैठकले म्याद थप नगर्ने निर्णय गरेपछि करार सेवाका कर्मचारीहरू असन्तुष्ट देखिएका छन् ।
गाउँपालिकामा यसअघि राप्रपाको बहुमतको सरकार थियो । २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनपछि गाउँपालिकामा कांग्रेसको बहुमत सरकार बनेको छ । कांग्रेसलाई नेकपा (एमाले) को समर्थन छ । राप्रपाका जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारीहरू कांग्रेस जनप्रतिनिधिले छानी–छानी हटाएको देखिन्छ । असार २२ गते बसेको कार्यपालिका बैठकले गरेको निर्णय बिहीबार मात्र करारका कर्मचारीले थाह पाए । गाउँपालिकाले सात दिनसम्म सो निर्णय लुकाएर राखेका थिए ।
कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र
गाउँपालिकाले बिना जानकारी करार सेवाका कर्मचारीलाई निकाल्ने निर्णय गरेसँगै असन्तुष्ट बनेका करार कर्मचारीहरूले शुक्रबार गाउँपालिकालाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
गाउँपालिकाले विभिन्न तहमा १५० जना भन्दाबढी करारका कर्मचारी नियुक्ति गरेको थियो । त्यसमध्ये केही कर्मचारीहरूको मात्र करार सम्झौता नहुने भनी कार्यपालिकाको बैठकले गरेको निर्णयप्रति असन्तुष्ट बनेका उनीहरूले घोर आपत्तिसमेत जनाएका छन् । उनीहरूले गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलाई शुक्रबार बिहान सो ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
पत्रमा भनिएको छ– करार सम्झौता थप नहुने निर्णय गर्दा छनोट आधार के राखियो ? कारण के हो ?, आगामी दिनमा उक्त रिक्त पदमा कर्मचारी नियुक्ति गरिन्छ कि गरिँदैन ?, स्थानीय सरकारलाई जस्तोसुकै निर्णय गर्ने अधिकार छ ? प्रमुख प्रशासकीय अधिकृतले निर्णय कार्यान्वयन गर्दा गर्न मिल्ने – नमिल्ने कुरा छलफलमा राखेर आफ्नो राय पेश गर्नु पर्दैन ? कसैसँगको व्यक्तिगत प्रतिशोध राखेर करार सम्झौता भङ्ग गर्न मिल्छ ? यतिका वर्षसम्म यस पालिकामा हाम्रो ऊर्जावान् समय नष्ट भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
पालिकाको निर्णयबाट हामी र हाम्रो परिवारलाई पर्न गएको क्षतिको मूल्याकंन कसरी गरिन्छ सो सम्बन्धमा जानकारी गराइदिनुहुन सम्बन्धित निकायलाई आग्रह गर्दछौँ– ध्यानाकर्षण पत्रमा भनिएको छ ।
गाउँपालिकाले पूर्वग्रही ढङ्गले आफू लगायत केही साथीहरूलाई निकालेको भन्दै असिस्टेन्ट सब इञ्जिनियर सन्तोष खतिवडाले भने– ‘हामीले काम गरिरहेको ठाउँमा स्थायी कर्मचारी ल्याउँछन् भने केही आपत्ति छैन’ ।
हामीलाई हटाएर फेरि करारमा नयाँ कर्मचारी नियुक्ति गर्छन् भने त्यो प्रक्रिया गलत हुन्छ, त्यसको प्रतिकार हामी गर्छौं– उनले भने ।
