September 22, 2026


उनी दिनभर व्यस्त रहिन् । सोह्र श्रृंगार गरिन् । आफूले आफैलाई कुनै सिनेमाको हिरोईन सम्झिइन् । साउनको महिना भएकाले हरिया चुरा लगाइन्, पोते लगाइन् ।

घरिघरि ऐना हेर्न थालिन् । उनको अनुहाभित्र चमक आउन थालिसकेको थियो । विवाहपछि पहिलोपटक साउनको निराहार व्रत बसेकी । ‘जो पानी समेत नखाइ शुद्ध र पवित्र भावले उपवास बस्छ’ उसको श्रीमान्को आयु बढ्छ भन्ने सुनेकी छन् सविताले ।

आकर्षक पहिरनमा सजिएपछि बेला–बेलामा टिकटक बनाउन, फोटो खिच्न मन लाग्थ्यो सवितालाई । अरुबेला काम धन्धाले गर्दा भ्याइँदैन मनमनै सोच्थी । शिव भगवान् पूजा आरधाना गर्दै श्रीमान्को स्वास्थ्य, दीर्घ जीवनको कामना गर्दै साउन महिनाको व्रत बस्न मन लागेको हो उनलाई ।

 

उसो त विवाहअघि त्यति खासै व्रत बस्न मन गर्दिनन् थिइन् । भ्याइनभ्याई छ । बैठक कोठाको भित्तामा सविताको श्रीमान्को तस्वीर टाँसिएको छ । त्यो तस्वीर हेर्दै मस्किन थालिन् । श्रीमान्सँग रोमान्स गरेको समेत कल्पना गरिन् । ऐनामा हेरेर इत्रिइन् र उत्ताउलो भइन् ।

उपवास बसेकी हुनाले भोक–तिर्खा लागेको पत्तो पाइनन् । दिन दल्किदै थियो । फोनको रिङ बज्यो भाउजू–दाइ अफिसबाट आउँदै गर्दा एक्सिडेन्ट् भएछ भन्ने खबर आयो ।’

हातखुट्टा काम्न थाल्यो । आफूले टेकेको धर्ती भासिए जस्तो लाग्यो । दिनभर केही नखाई बसेकी हुनाले सवितालाई चक्कर आउला जस्तो भयो । हतार– हतार गरेर हस्पिटल पुगिन् । उनको श्रीमान् अचेत थिएँ । प्रार्थना गर्न थालिन् र भनिन्– हे ! भगवान मेरो श्रीमान्लाई केही नहोस् भन्दै रुन थालिन् । बचाइदिनुहोस् भगवान् ।’

‘केहीबेरपछि डाक्टर आएर भन्नुभयो– चिन्ता गर्नु पर्दैन सविता मेडम उहाँको होस् आइसकेको छ । अहिले उहाँलाई ठिक छ । तपाईं भेट्न सक्नुहुनेछ, तर हस्पिटलमै राख्न पर्छ एकदिन भोलि लैजानु होस् ।’

त्यसपछि सविताको शरीरभित्र सञ्जिवनी सञ्चार भयो । उनको अनुहारमा मुस्कान छायो । मैले श्रीमानको लागि स्वास्थ्य र दीर्घ जीवन र लामो आयुको व्रत बसेको कारणले केही हुन पाएन मनमनै सोचिन् । भगवानले मेरो प्रार्थना सुन्नुभयो । मेरो श्रीमानको आयु पनि बढ्छ अब । केही बेर पछि व्रत तोडिन् र केही खानेकुरा खाइन अनि भगवानलाई पनि धन्यवाद दिइन् र भोलिपल्ट उनीहरु आफ्नो घरतर्फ फर्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *